नेकपा माओवादी केन्द्रले प्रमुख निर्वाचन आयुक्तलाई ‘पुरस्कृत’ गरेको छ । प्रचण्ड नेतृत्वको सो पार्टीले कुनै नगद, जिन्सी वा सम्मान गरेर डा. अयोधीप्रसाद यादवलाई पुरस्कृत गरेको भने होइन । उनकी बुहारीलाई समानुपातिकतर्फबाट सांसद बनाएको सन्दर्भलाई कतिपयले ‘माओवादीले अयोधीलाई ‘पुरस्कृत’ गरेको रूपमा टिप्पणी गरेका हुन् ।
प्रमुख आयुक्त यादवका छोरा अशोककुमार यादवकी श्रीमती प्रमिलाकुमारी यादव समानुपातिकमा माओवादी कोटाबाट सिफारिस भएकी छिन् । यादवलाई माओवादी केन्द्रले प्रदेश नम्बर २ को मधेसी कोटाबाट समानुपातिक उम्मेदवार बनाई पठाइएको हो ।
११८०३०९८ मतदाता नम्बर भएका अशोककुमार यादवका बाबु प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव रहेको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ राष्ट्रिय प्रावि राजदेवी केन्द्रमा मतदाता नामावली रहेकी प्रमिलाको ससुरा प्रमुख आयुक्त यादवको पनि सोही मतदान केन्द्रमा मतदाताको रूपमा नाम रहेको छ ।
देशको सबै तहका निर्वाचन गराउने जिम्मेवारी पाएका यादवका आफ्नै बुहारी माओवादीको समानुपातिक सूचीमा परेको सन्दर्भ अहिले चर्चाको विषय बनेको छ ।
ज्ञातव्य छ, डा. अयोधीप्रसाद यादव माओवादी केन्द्रको सिफारिसमा निर्वाचन आयुक्त हुँदै प्रमुख आयुक्तसम्मको जिम्मेवारी पाएका व्यक्ति हुन् ।
प्रतिक्रिया