नेपाली काङ्ग्रेस संसदीय दलको नेतामा प्रकाशमान सिंह शेरबहादुर देउवासँग भिड्नुहुने भएको छ । चुनावमा पराजयपछि देउवालाई पार्टी सभापति र संसदीय दलको नेताका रूपमा हेर्न नचाहनेहरूको सङ्ख्या ह्वात्तै बढेको छ । प्रत्यक्षतर्फ निर्वाचित सांसद (२३) मध्ये दुईतिहाइ सङ्ख्या देउवाविरुद्ध भएको बुझिन्छ । त्यसैले समानुपातिकतर्फ आफ्ना विश्वासप्राप्तहरूको ठूलो सङ्ख्या भित्र्याउन देउवाले गृहकार्य गरिरहनुभएको छ ।
तर, समानुपातिक सांसद चयनमा एकलौटी गर्न नदिन पार्टीका नेताहरू सचेत देखिएका छन् । डा. रामशरण महत, रामचन्द्र पौडेल र डा. शेखर कोइरालाले संसदीय निर्वाचनमा पराजय व्यहोर्नु नपरेको भए उहाँहरू पनि संसदीय दलको नेता पदका दाबेदार बन्न सम्भव थियो । उहाँहरूको पराजयकै कारण दलको नेतामा देउवाको विकल्प प्रकाशमानसिंह बन्नुभएको छ ।
पत्नी आरजु राणा विजयी बन्न सकेको भए देउवाले पत्नी राणालाई नै दलको नेता बनाउन प्रयास गर्ने अनुमान गरिँदै थियो । आरजुको पराजयका कारण शेरबहादुर देउवा आफैँ संसदीय दलको नेतामा प्रकाशमानसँग भिड्ने मानसिकता बनाउँदै हुनुहुन्छ । समानुपातिकतर्फ एकलौटी ढङ्गले ‘आफ्ना’ मानिस चयन गर्ने सफलता प्राप्त नभएमा देउवाले यसपटक संसदीय दलको नेता पद गुमाउने र उक्त पदीय जिम्मेवारीमा प्रकाशमान सिंह पुग्ने निश्चित मानिएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फबाट सांसदहरूको चयन भइसकेपछि दलको नेता चयन प्रक्रिया सुरु हुनेछ । तर, दलको नेताका लागि निर्वाचन भने राष्ट्रिय सभाको गठनपश्चात् मात्र हुन सक्ने बताइएको छ ।
प्रतिक्रिया