तमू प्ये ल्हु संघ युकेको दोश्रो अधिवेशन सम्पन्न

तमू प्ये ल्हु संघ युकेको दोश्रो अधिवेशन सम्पन्न


लण्डन । गत २६ फेबु्रअरी २०११, शनिबारको दिनमा ओएभल कम्युनीटि क्याम्पसमा तमू प्ये ल्हु संघ युकेको दोस्रो अधिवेशन सम्पन्न भयो । तीन बर्ष कार्य अवधि रहेको संघको कार्य समितिको हरेक तेस्रो बर्षमा अधिवेशन आव्हान गरिने प्रावधानअनुसार यो दोस्रो अधिवेशन आयोजना गरिएको हो । प्राध्यापक नारायण ल्हेँगे तमुको विशेष उपस्थिति रहेको उक्त दोस्रो अधिवेशनलाई खुल्ला सत्र र बन्द सत्र गरी दुई चरणमा सम्पन्न गरिएको थियो भने खुल्ला सत्र संघको अध्यक्ष जगत प्हच्यु तमुको सभापतित्वमा सचिव भेग च्हाक्ली तमू र सह-सचिव जीत क्रोम्छे तमूले सन्चालन गरेकाथिए।
संघको अध्यक्ष तथा खुल्ला सत्रका सभापति जगत प्हच्यु तमु र पच्यु पैंडी चिवा यारजङ्ग क्रोम्छे तमूबाट संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी प्रोजेक्टरमा तयार पारिएको अधिवेशनको व्यानर विवृत गरेर औपचारिक समुदघाटन गरिएको कार्यक्रममा हेल्थ एण्ड सेफ्टीको बारेमा सह-सचिव जीत क्रोम्छे तमूले जानकारी गराउकाथिएभने उपाध्यक्ष सोम त्होर्जे तमूले उपस्थित सबैलाई स्वागत गरेकाथिए। पच्यु पैँडी चिवा यारजङ् तमू, प्रमुख सल्लाहकार ले। याम बहादुर तेल तमू र प्राध्यापक नारायण ल्हेँगे तमूले संघको स्थापना प्रगति उपलब्धि तथा जिम्मेवारी आदिलगायत तमू जातिको कूल-धर्म, संस्कार-सँस्कृति, भाषा, भेषभुषा परम्परा र पहिचानको संरक्षण सम्बर्धनको लागि तमू प्ये ल्हु संघले निभाएको भूमिकाको बारेमा आ-आफ्नो अभिव्यक्ति दिँदै दोस्रो अधिवेशन सफलताको कामना गरेकाथिए। कोषाध्यक्ष नेत्र टु तमू र सचिव भेग च्हाक्ली तमुद्धारा संघको आर्थिक प्रतिवेदन र साँगठनिक प्रतिवेदन प्रस्तुत गरिएको उक्त कार्यक्रममा अधिवेशन सफलताको लागि तमू प्ये ल्हु संघ केन्द्रिय समिति पोखरा नेपाल, कास्की जिल्ला शाखा, पौरे क्षेत्रिय शाखा पोखरा, चितवन जिल्ला शाखा, नवलपरासी जिल्ला शाखा, मकवानपुर जिल्ला शाखा, तनहुँ जिल्ला शाखा, तमू प्ये ल्हु संघ अन्तर जिल्ला मूल समिति र तमू ह्युला छोँज धि नेपालले पठाएको शुभ कामना सन्देश पनि सुनाइएको थियो भने कार्यक्रमको सभापति जगत प्हच्यु तमूले दोस्रो कार्य समितिले संघको वैधानिक सिमानाभित्र कर्तव्यनिष्ठ भई आफ्नो कार्यकाल पुरा गरेको कुराप्रति गम्भीर भई यसको मूल्याङ्कन गरिदिन तमू समुदायलाई आग्रह गर्दै पहिलो खुल्ला सत्र समापन गरेकाथिए।
दोस्रो चरणको बन्द सत्र शुरु हुनुभन्दा अगाडि आर्थिक एवं साँगठनिक प्रतिवेदनमाथी जिज्ञासा राख्ने समय निर्धारण गरिएको थियो सो क्रममा सल्लाहकार बालासिङ्ग क्रोम्छे तमूले लिखित रुपमा बुझाएको सुझाव वाचन गरी सुनाइएको थियो त्यसको पछि बन्द सत्रमा प्रवेश गर्दै दोस्रो कार्य समितिका अध्यक्ष जगत प्हच्यु तमूले संघको मूल कार्य समिति लगायत उक्त कार्य समितिको मातहातमा गठित अन्य सबै समितिहरुको समेत विघटन भएको घोषणा गर्दै तेस्रो कार्य समिति गठनको लागि अध्यक्ष मण्डललाई बैधानिक अधिकार सुम्पिएको थियो । त्यसपश्चात अध्यक्ष मण्डलले बन्द सत्रलाई अगाडी बढाउदै तेस्रो कार्य समितिको लागि उमेदवारीको योग्यता, अयोग्यता र मनोनयन प्रकृयाको नियम सुनाई्रएको थियो । पच्यु पैँडी चिवा यारजङ्ग क्रोम्छे तमुको प्रमुख संयोजन रहेको अध्यक्ष मण्डलमा ले। याम बहादुर तेल तमू, ले। मदन प्ल्हेँ तमू, क्या। बुद्धी कुमार पर्जु तमू र मन बहादुर टु तमू गरी पाँच जना सदस्य रहेको थियो । नयाँ कार्य समिति गठनको लागि अध्यक्ष मण्डललाई नेतृत्व गर्दै पच्यु पैँडी चिवा यारजङ् क्रोम्छे तमूले सन्चालन गर्नु भएको मण्डलले तमू प्ये ल्हु संघको तेस्रो कार्य समितिको रुपमा पूर्व उपाध्यक्ष सोम त्होर्जे तमूको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेकोछ भने उपाध्यक्षमा नर बहादुर टु तमूलाई मनोनयन गरेकोछ । सचिव पदको लागि भने पूर्व सचिव भेग च्हाक्ली तमूलाई नै राखिएकोछ । सह-सचिवमा हुम बहादुर क्होल तमू मनोनित भएकाछने भने सदस्यहरुमा अमर त्होर्जे तमू, बुद्धी टु तमू, सेतु ङोर तमू, श्रीमती पार्वती पर्जु तमू, श्रीमती बिष्णु टु तमू र श्रीमती बिष्णु क्रोम्छे तमू मनोनयन गरिएकोछ । बाँकी सदस्यहरु अध्यक्षले आवश्यकताअनुसार मनोनयन गर्न सकिने प्रावधान राखिएकोछ भने कोषाध्यक्ष र सह-कोषाध्यक्ष पद बिचराधीनमा नै राखिएकोछ ।
अधिवेशनमा महिला दिदी-बहिनीहरुबाट सेल रोटी, अचार र पेय पदार्थको व्यवस्था गरिएको थियो । श्रीमती दुर्गा प्हच्यु तमू, श्रीमती पार्वती पर्जु तमू, श्रीमती अन्जु ल्होँ तमू, श्रीमती मिना कुमारी भुज तमू, श्रीमती बिष्णु क्रोम्छे तमू, श्रीमती बिष्णु टु तमू, श्रीमती यमुना प्हच्यु तमू, श्रीमती बबिता प्हच्यु तमू र श्रीमती ईन्दु म्होव्छे तमुको समूहले व्यवस्था गरेको घरेलु नास्तपानी निक्कै स्वादिलो थियो । कार्यक्रममा तमू सम्बन्धिका विभिन्न पत्रिका भीडीयो डकुमेन्ट्रीका डस्भीडीहरुलगायत ह्युई ल्होसार महोत्सवको डीभीडी बिक्रीमा राखिएको थियो । -बी. च्हाक्ली तमू