नेपाली मेला २०१० भव्यरुपमा सम्पन्न

नेपाली मेला २०१० भव्यरुपमा सम्पन्न


लण्डन । हिजो यही (शनिबार)सरीको रिचमण्डस्थित एथलेट ग्राउण्डमा नेपाली मेला २०१० भव्य रुपमा सम्पन्न भएको छ । विहान ११०० बजेबाट शुरु भएको सो मेला रातको ०९०० समाप्त भएको थियो ।

तमू धिं यूकेले आयोजना गरेको उक्त कार्यक्रममा सो संस्थाका अध्यक्ष सुवाससिङ गुरुङको सभापतित्व रहेको थियो भने नेपाली राजदूत सुरेशचन्द्र चालिसे प्रमुख अतिथि लण्डनका डेपुटी मेयर रिचार्ड बार्न, रिचमण्डका मेयर डेभिड मार्लोलगायत अन्य नेपाली संघसंस्थाका अध्यक्षहरु अन्य अतिथिहरु रहेका थिए । चित्रबहादुर गुरुङको संयोजकत्वमा रहेको सो मेलामा विशेष आकर्षणको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गरिएका संसारको सबैभन्दा होँचो व्यक्ति खगेन्द्र थापामगरको उपस्थिति रहेको थियो । कार्यक्रमलाई संयुक्त रुपमा पुष्पा गुरुङ, खगेन्द्र नेपाली र योगेश गुरुङले सञ्चालन गरेका थिए ।

संस्थाका महासचिवबाट स्वागत मन्तव्यपछि दीयो प्रज्वलन गरी कार्यक्रमको शुरु गरिएको थियो । मेलामा लगत्तै विभिन्न संघसंस्थाहरुले आआफ्नो साँस्कृतिकतालाई झल्काउने प्रकारका विविध रुपमा झाँकीहरुको प्रदर्शन गरेका थिए । तमू धिं प्लम्स्टेड इकाई, पुन समाज यूके, तमू धिं रिडिङ इकाई, सुनुवार समाज यूके, मगर समाज यूके, एन.जे. तेक्वान्दो, तमू प्ये ल्हू संघ यूके, लामा एस्सोसिएसन यूके, नेपाली नर्सिङ एस्सोसिएसन यूके, गेइसो, कोडेक यूके, राष्ट्र राई तेक्वान्दो, बीजीडब्ल्यूएस, ठाँटी नेपाली कम्युनिटि यूके, रुम्जाटार गुरुङ समाज यूके, ग्रीन हृयाकेल ब्याण्ड यूके, कोशेली ग्रुप यूके, तमू धिं लण्डन ब्रान्च, तामाङ समाज यूके, र किरात याक्थुम चुम्लुङ यूकेले आफ्ना संस्थाको व्यानरका साथ पारम्परिक तथा संस्थाको कोडअनुसारको भेषभुषाहरुका साथ झाँकीहरुको प्रदर्शनीपछि नेपाल, यूके अनि तमू धिं यूकेको फ्ल्याग राइज क्रमशः नेपाली राजदूत, लण्डन डेपुटी मेयर र तमू धिं यूके अध्यक्षबाट गरिएको थियो ।

‘बनेको छ पहराले यो छाती मेरो…..’ भन्ने बोलको गीतका केही हरफहरु गाएर कार्यक्रमका सभापति सुवास सिङ गुरुङले आफ्नो मन्तव्य शुरु गरेका थिए । गत वर्षबाट शुरु गरिएको यस नेपाली मेलाले विस्तारै प्रसिद्धी लिँदै गएकोमा आफ्नो सन्तुष्टी व्यक्त्याएका थिए । लण्डनका डेपुडी मेयर रिचार्ड बार्नले नेपालको बारेमा यति विस्तृत र गहन अनि आत्मीय रुपमा सोही कार्यक्रमबाट आफूले जानकारी पाएको भन्दै नेपाली विविध प्रकारका संस्कृतिहरु ग्हनाको रुपमा यूकेले पाएकोमा आफूलाई खुशी लागेको मन्तव्यको क्रममा बताएका थिए । रिचमण्डका मेयर डेभिड मार्लोले नेपालीहरुका साँस्कृतिकताको प्रदर्शनी गरिने थलोको रुपमा रिचण्ड परेकोमा आफू गर्वित भएको बताएका थिए र त्यही क्रमले रिचमण्ड पनि यस प्रकारको सामाजिकताको एक अंग हुन गएको आफ्नो धारणा व्यक्त गरेका थिए ।

बेलायतमा नेपाली संस्कृतिको अत्यन्तै सफल तथा भावपूर्ण प्रदर्शनी गर्न तथा सोही प्रयत्नले नेपाली संस्कृतिको प्रवर्द्धन गर्न सक्षम तमू धिं यूके भएको धारणाका साथ सो संस्थालाई बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसेद्वारा एम्बेसेडर कप, कार्यक्रमका सभापति तथा तमू धिं यूकेका अध्यक्ष सुवाससिङ गुरुङलाई प्रदान गरिएको थियो ।

बेलायत र नेपाली आप्रवासी समाजबीच अत्यन्तै विशेष प्रकारको सम्वन्ध रहेको आफ्नो धारणा मन्तव्यको क्रममा राजदूत चालिसेले राखेका थिए । कार्यक्रममा उपस्थित गन्यमान्यहरुका सम्मुख राजदूतले नेपालको एैतिहासिकता, पारम्परिकता तथा विविध महत्वपूर्ण पक्षहरुका बारेमा विस्तृतमा प्रकाश पारेका थिए । गौतम बुद्धको जन्म भएको देश, विश्वका दर्जनौं अग्ला हिम शिखरहरुसहित सबैभन्दा उच्च शिखर सगरमाथा भएको देश, पारम्परिक संस्कृतिहरुले धनी रहेको देश, बेलायतसँग अत्यन्तै सुमधुर तथा ऐतिहासिक सम्वन्ध दिलाउने प्रथा गुर्खा पक्षअन्तर्गत १२वटा भीसी बिजेता गुर्खाहरु भएको देश नेपाल रहेको भन्दै मन्तव्यलाई राष्ट्रियस्वरुपको बनाएका थिए राजदूत चालिसेले ।

त्यसपश्चात्, कार्यक्रमको मुख्य स्टेजमा माथि उल्लेखित विभिन्न संस्थाहरुले आआफ्नो संस्थाले प्रतिनिधित्व गर्ने नृत्य तथा संस्कृतिहरुको प्रदर्शनी गरेका थिए । नेपाली पारम्परिक भेषभुषाहरुको पनि लगत्तै प्रदर्शनी गरिएको थियो । कार्यक्रमस्थलको अर्कोतर्फ युवाहरुबाट कन्सर्ट शुरु गरिएको थियो । विभिन्न ट्रयाकमा विविध गीतहरु गाइएको सो कन्सर्टमा हिन्दी तथा नेपाली गीतहरुमा गरिएको नृत्यको प्रस्तुति पनि रहेको थियो । नेपाली मेलाको नाममा हिन्दी गीतमा केही उत्श्रृङ्खलपूर्ण हाउभाउका साथ गरिएका नृत्यदेखि दिक्क हुने दर्शकहरुमध्ये केहीले आयोजकबाट यस्तो प्रकारको प्रदर्शनीलाई रोक लगाइनु पर्ने धारणा व्यक्त गरेका थिए ।

विभिन्न स्टलहरुमा नेपाली जातीय परिकारहरुको प्रदर्शनी यथेष्ठ प्रकारले राखिएको थिएन । नेपाली विविध जातीय संस्थाहरुको उपस्थिति लगभग शून्य रहेको थियो । नेपाली चिया, ओशो दर्शन, योग, गुर्खा स्टललगायत अन्य व्यापारिक संस्थाहरुका स्टलहरुको बाक्लो उपस्थिति रहेको थियो । तमू धिं यूकेले अन्य जातीय संस्थाहरुलाई समेट्नका लागि अझै प्रशस्तै प्रयास गर्नु पर्ने स्पष्टै बुझिएको थियो । नेपाली मेला तमूमय ज्यादा लाग्दथ्यो ।

-मेरो सम्वाददाता, वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । ।