प्रदेश राजधानी दाङ बनाउने चर्चासँगै बुटवल आन्दोलित

प्रदेश राजधानी दाङ बनाउने चर्चासँगै बुटवल आन्दोलित


प्रदेश नं ५ को राजधानी दाङलाई बनाउने तयारी गरिएको चर्चा चलेसँगै बुटवलमा आन्दोलन सुरु भएको छ । नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र नम्बर २ ले प्रदेशको राजधानी बुटवल हुनुपर्ने माग गरेको छ । बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुको विकल्प नभएको बताएको हो ।

काङ्ग्रेसका स्थानीय नेता युवराज गिरीले प्रदेशको राजधानी बुटवलबाहिर तोकिए कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले पार्टीको निर्णय के हुन्छ भन्ने भन्दा पनि हामी बुटवलका नागरिकका हैसियतले प्रदेशको राजधानी माग गरिरहेका छौँ । यस्तै, नेपाली काङ्ग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्सालले आवश्यक भौतिक पूर्वाधार, सुरक्षा एवं औद्योगिक, पर्यटकीय एवं व्यापारिक हिसाबले बुटवल नै उपयुक्त रहेको भन्दै बुटवल नै प्रदेशको राजधानी हुनुपर्ने जिकीर गरे ।

काङ्ग्रेसले आन्दोलनको सांकेतिक स्वरूप आज बिहीवार बिहान ९ बजेदेखि १० बजे सम्म बुटवल, सैनामैना र मणिग्राममा एक घण्टा चक्काजाम गर्ने बताएको छ । यदि सरकारले बुटवल राजधानी नबनाए आन्दोलनको आँधिबेरि सिर्जना गरेर भए पनि बुटवललाई प्रदेशको राजधानी बनाएरै छाड्ने बुटवल उपमहानगरपालिकाका नगरसभापति खेलराज पाण्डेले चेताबनी दिए ।

यसैगरि नेकपा एमालेले पनि दबाबमूलक कार्यक्रमको घोषणा गरेको छ । स्थानीय संघसंस्थालाई समेत आह्वान गरी प्रदेशको केन्द्र बुटवल बनाउनका लागि विहीबार बिहान ११ बजे पुष्पलाल पार्कमा दबाब र्याली निकाल्ने एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जानकारी दिए । उता एमालेनिकट अनेरास्ववियुले आन्दोलन सुरु गरेका छ । अनेरास्ववियुले बुटवलमा बुधबार साँझ मसाल जुलुस निकाल्दै आन्दोलन सुरु भएको उदघोष गरेको हो । अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पसबाट मसाल जुलुस निकालेको थियो ।

मसाल जुलुस ट्राफिक चोकमा आई कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य यमराज पाण्डेले प्रदेशको राजधानी दाङ बनाउने खाका बनाएर लुम्बिनी अञ्चललाई धोका दिन खोजिएको आरोप लगाए ।

– चन्द्रकान्त खनाल