संघीय लिम्बुवान राज्यपरिषद हङकङको गोलमेच

संघीय लिम्बुवान राज्यपरिषद हङकङको गोलमेच


हङकङ । संघीयता, स्वायत्तता, समावेशी अभियान दीगो शान्ति, समृद्धि, अरुण – सप्तकोशी पूर्व लिम्बुवान १ भन्ने मूल नाराको साथ मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङले “नौं जिल्ला सहितको स्वायत्त लिम्बुवानस ऐक्यवद्धताको आव्हान” शीर्षकमा वृहत गोलमेच सम्मेलन कार्यक्रम सम्पन्न गरको छ । २२ अगष्ट आइतवारको दिन याउमातेइ कम्युनिटि हलमा सम्पन्न उक्त कार्यक्रममा परिषदको प्रवास कार्य समितिका अध्यक्ष नबराज काम्बाङ्गको सभापतित्वमा भएको थियो भने परिषदका उपाध्यक्ष विष्णु इङ्नामले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । सो कार्यक्रमको सञ्चालन परिषद हङकङका सचिब श्याम इङ्नामले गरेका थिए । अतिथिहरु जनजाति महासंघ हङकङका अध्यक्ष एम. बी. थापा र किरात राई यायोख्खा हङकङका अध्यक्ष किशन राईबाट अरुण – सप्तकोशी नदी पूर्वको नौवटा जिल्लाहरु भएको लिम्बुवानप्रति ऐक्यवद्धतासहित समर्थन जनाएका थिए । जनजाति महांसंघका भू.पू. अध्यक्ष तथा सनराइज साप्ताहिकका सम्पादक भूपेन्द्र चेम्जोङले नौं जिल्ला सहितको लिम्बुवानको लागि लिम्बुवानवादी दलहरुले रणनीतिक तयारी गर्नु अब जरुरी भएको बताए । त्यस्तै किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष कृष्ण लावतीले भने -नेपाल चुम्लुङ र हङकङ चुम्लुङको मुख्य अवधारणा नै ऐतिहासिकताको आधारमा आत्मानिर्णय अधिकार सहितको नौं जिल्ला भएको लिम्बुवान हो र सो नैं कायम हुनुपर्दछ । उनले अगाडि, त्यसको लागि चुम्लुङ लिम्बुवान जनजागरणको लागि सहयोग गर्न सधै तत्पर रहने कुरा बताए ।
त्यस्तै लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष जे.बी.ओख्राबुले नेपालको समसामयिक राजनीति बारेमा बोले । नौं जिल्ला सहितको लिम्बुवानको लागि एकात्मकवादीहरुवाट केही चुनौती रहेको कुरा बताए । संघीय लिम्बुवान राज्य परिषद हङकङका वरिष्ठ सल्लाहकार प्रदीप कन्दङवाले नौं जिल्ला सहितको लिम्बुवान भएमा मात्र लिम्बुवान पूर्ण रुपले समृद्ध हुने र ऐतिहासिक लिम्बुवानको सम्मान हुने कुरा व्यक्त गरे । त्यस्तै लिम्बू बुद्धिजिवी टंक चोङवाङले ऐतिहासिक नौं जिल्ला सहितको लिम्बुवानको लागि ऐतिहासिक प्रमाणहरुको लिखित वूँदाहरु कार्यपत्रको रुपमा पेश गरेका थिए । त्यस्तै संघीय लिम्बुवान राज्य परिषदको भात्रृ संगठन संघीय लिम्बुवान भू.पू. गोर्खा सैनिक तथा प्रहरी परिषद हङकङ अध्यक्ष मन प्रसाद आङ्देम्वेले नौं जिल्ला सहितको लिम्बुवान प्राप्तिको लागि एकीकृत आन्दोलन गर्नु पर्ने र समयको क्रमसँगै लिम्बुवान स्वायत्त राज्यको पनि अब पालो आएको हो भने ।
कार्यक्रमको अन्त्यमा सभापति नवराज काम्बाङ्गले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नौं जिल्ला समेटिएको आत्मनिर्णय अधिकार सहितको लिम्बुवान स्वयत्त राज्य भएमा मात्र ऐतिहासिक लिम्बुवान हुने, ऐतिहासिक भूमिको सम्मान हुने र झापा, मोरङ्ग र सुनसरी लिम्बुवानको लागि औद्योगिक केन्द्र र आर्थिक केन्द्र हुने भएकोले सो भूभाग लिम्बुवानको अभिन्न अंग हो र त्यसलाई जसरी भए पनि लिम्बुवानमा नैं पार्नु पर्दछ भने । कुनै पार्टी वा संगठनले ऐतिहासिक लिम्बुवानको भूगोललाई टुक्रयाएर वा अपुरो लिम्बुवानलाई स्वीकार गरेमा भोलि लिम्बुवानको नयाँ इतिहासमा सो समूह वा पार्टी कालो धब्वाको रुपमा हुने, ऐतिहासिक लिम्बुवानको कलङ्क हुने कुरा व्यक्त गरे । अरुण -सप्तकोशी नदी पूर्वको नौं वटा जिल्ला सहितको लिम्बुवानको लागि त्यहाँ वसोवास गरेका र थातथलो खुलेका आदिवासीहरुको इलाका स्वायत्तताको ब्यवस्था गरिने र लिम्बुवान सवैको साझा लिम्बुवानको रुपमा बिकास गरिनेछ, उनले अगाडि भने । सो नौं जिल्ला सहितको स्वायत्त लिम्बुवान राज्यको लागि मिशन जेएमएस “झापा, मोरङ्ग, सुनसरी” र मिशन डीएस “धनकुटा र संखुवासभा”लाई दीर्घकालीन रणनीतिको रुपमा विकास गर्न अहिलेदेखि नै सकृय रुपमा र ससक्त रुपमा लाग्नु पर्ने कुरा बताए । नौं जिल्ला सहितको लिम्बुवानको लागि सवै अतिथिहरुबाट ऐक्यबद्धता जाहेर गरेकोमा धन्यवाद टक्रयाउँदै कार्यक्रम सम्पन्न भएको थियो ।
– श्याम इङ्नाम । हङकङ

.