ग्लोबल आइएमईको नवनिर्मित रजिष्टर्ड कार्यालय समुद्घाटन

ग्लोबल आइएमईको नवनिर्मित रजिष्टर्ड कार्यालय समुद्घाटन


ग्लोबल आइएमई बैंक लि. ले ११औँ वार्षिकोत्सवको अवसरमा नवनिर्मित कर्पोरेट कार्यालय सञ्चालनमा ल्याएको छ । सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना भएको ग्लोबल आइएमई बैंक लि.ले स्थापनाको ११ वर्षमा आफ्नै कर्पोरेट/रजिष्टर्ड कार्यालय स्थापना गर्न सफल भएको हो ।

कर्पोरेट/रजिष्टार्ड कार्यालय उदघाटन समारोहमा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजिवी नेपालले स्थापनाको छोटो समयमा नै आफ्नै लगानीमा कर्पोरेट/रजिष्टार्ड कार्यालय खोल्न सफल भएकोमा ग्लोबल आइएमई बैंकलाई बधाई दिए भने बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापनाको ११ वर्षभित्रै बैंंकले प्राप्त गरेका विभिन्न सफलताको श्रेय सम्पूर्ण ग्राहक, सेयर होल्डर, शुभचिन्तक तथा कर्मचारीहरूलाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रण गरे ।

ग्लोबल आइएमईले स्थापना कालदेखि नै रेमिट्यान्स सेवामा जोड दिँदै आएको छ । सोहिअनुरुप अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीमाझ सेवा प्रदान गर्दै आइरहेको छ भने कोरिया र भारतबाट सबैभन्दा बढि रेमिट्यान्स नेपालमा भित्र्याउन सफल भएको छ । त्यसैगरि सो बैंकले मलेसिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

११ औँ वार्षिकोत्सवकै अवसरमा एकैदिन देशका विभिन्न ५ स्थानमा शाखा कार्यालय पनि सो बैंकले स्थापना गरेको छ । बैंकले नवनिर्मत भवन कमलादी, भक्तपुर जिल्लाको गोठाटार, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका, गुल्मी जिल्लाको गौंडाकोट र झापा जिल्लाको दमक नगरपालिकामा गरि पाँवटा शाखा सञ्चालनमा ल्याएको हो । उक्त ५ वटा शाखा संचालनमा ल्याए संगै बैंकको शाखा संख्या ११३ पुगेको जनाइएको छ ।

उक्त बैंकले शाखा मुलुकका हरेक क्षेत्र र वर्ग सम्म सेवा पुर्याउने उद्देश्यले ७ वटै प्रदेशमा शाखा विस्तार गरिसकेको छ, । साथै नवनिर्मित कर्पोरेट/रजिष्टार्ड कार्यालय परिसरमा एटिएम सेवा समेत सञ्चालनमा ल्याएको छ ।