[निवन्ध] हराएर फेरि हराउँदैं

[निवन्ध] हराएर फेरि हराउँदैं


-डम्बर गुरुङ, 15 वर्षअघि, सन् 1995, December 19 गते । त्यति बेलाको उमेरगत अवस्थालाई विचार गर्दा म आफूलाई युवा भन्न रुचाउँछु । भनिन्छ नि, यो अवस्था भनेको मना खाएर मुरी अर्जाउने उमेर हो । यही उमेरवास्थामा म तत्कालीन शाही नेपाल वायु सेवा निगमको हवाइ जहाजबाट विश्वको एक व्यस्त शहर मध्येको हङ्गकङ्गको Kai Tak अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेको थिएँ, थुप्रै योजनाहरुका साथ एक अघोषित लाहुरे बनेर । त्यसबेला मलाई के कुराको हेक्का थिएन भने म पनि हाम्रो सामाजिक लाहुरे संस्कारलाई निरन्तरता दिँदै छु । मलाई मेरो मष्तिष्कको चेतना, अर्धचेतना र अवचेतना कुनै एक तहले पनि त्यस किसिमको चेतावनिको संकेत दिएन कि ” अब तिमी बिस्तारै आफ्नो गाउँ-ठाउँबाट र सिंगै देशबाट हराउने छौ ।” हुन त मैले आफ्नो जीवनमै पहिलो पटक जहाज चढ्नुअघि र चार घण्टाको काठमाडौं हङ्गकङ्गको हावाइ यात्राभरि ‘एक वर्षपछि नेपाल र्फकने, अधुरो रहेको अध्ययनलाई पूरा गर्ने, परिवारको आर्थिक खाडललाई सके पुरेर सम्म नै बनाइदिने’ जस्ता यावत सोंच तथा योजना एक सफल योजनाकारले झैं नबनाएको होइन, तर विदेशको वास्तविक परिस्थितिको सामना गर्न भने मैले आफूलाई मानसिक रुपमा तयार बनाएको रहेनछु ।

हङ्गकङ्गको Kai Tak विमानस्थलमा जब ओर्लेको मात्र के थिएँ, म तीन छक, तीन दङ्ग परें । त्यहाँको फराकिला सडक अनि त्यसमा द्रूत गतिमा कुदिरहेका अनगिन्ति सवारीका साधनहरु, पुलमाथि पुल, रातलाई दिउँसोझैं बनाइदिने बिजुलीका उज्याला, व्यवस्थित सरसफाइ, आकाशलाई नै छुन्छु भनेझैं ठडिएका अग्ला भवनहरु र त्यसमुनि जमीनभित्र-भित्रै वेग गतिमा कुद्ने भूमिगत रेल आदि । हङ्गकङ्ग जस्तो एउटा सानो टापुले गरेको यो अदभूत विकासलाई देखेर एक पटक मेरो मन अमिलो भई कुँडियो । आफ्नो देशको दूरावास्थालाई सम्झेर । अनि आफैले आफैसँग सोधें, ‘संसार कहाँबाट कहाँ पुगिसकेछ, हामी अझै कहाँ छौं ?’ हुन पनि हो, मना खाएर मुरी आर्जन गर्ने मजस्ता युवाहरु देशको परिस्थिति अनि सामाजिक संस्कारले गर्दा पाखुरामा बल भरिन थालेपछि बिदेशतिर ओइरिन्छ भने देश त जहींको तहीं रहने नै भयो ।

हङ्गकङ्ग अगमनपश्चात् त्यहाँको दैनिक जीवनमा समाहित हुने क्रममा भर्खरै बन्दै गरेको Chek Lap Kok अन्तर्राष्ट्रिय विमानस्थलमा एक साधारण निर्माण कामदारको पङ्क्तिमा म आफूलाई पनि उभ्याएँ । नेपालमा लिई टोपलिएको योग्यता, शीप तथा अनुभवलाई आफैमा बन्धक बनाएर आत्म सन्तुष्टिको श्वास फेर्दै भन्ने गर्थे, ‘वर्ष दिनपछि नेपाल गइन्छ र त्यतै केही गरी बसिन्छ ।’ यस्तै यस्तै । दिन बित्दै महिना पुग्यो, महिना बित्दै एक वर्ष, दुर्इ वर्ष पुग्यो । तर अँहँ, मेरो नेपाल र्फकने दिन आएन । सायद बिदेशतिर भास्सिएपछि अरुलाई पनि यस्तै हुँदो हो । मेरा सोंचहरु, मैले बनाएका योजनाहरु मेरो आफ्नै मष्तिष्कको खाली पानाहरुमा छरपष्ट भई लथालिङ्ग हुन थाले । त्यसपछि पो मैले बल्ल सोंच्न थालेँ ‘विदेशतिर हराउन थालेपछि र त्यसमा पनि पारिवारिक व्यवहारिकतामा बाँधिएर त्यसको वास्तविक परिस्थितिहरुलाई बाध्यतावश आत्मसात गर्नु पर्ने क्रममा ‘यो गर्छु, ऊ गर्छु’ भनेर बनाइएका योजनाहरु केवल योजना मात्र हुने रहेछन् । मैले यस्तै बुझें । बुझ्दै छु र त्यो सानो टापुको 7 मिलियन मान्छेहरुको भीडहरुमा हराउन थालें । निर्माण कामदार भएर मैले थालेको मेरो लाहुरे इतिहास विमानस्थलको निर्माणपश्चात् पनि निर्माण कामदारमै सीमित रहँदै कहिले दैनिक HK$ 300.00 मा त कहिले June/July को 38/40 डिग्रीको तापक्रममा दैनिक HK $ 450.00 मा Bar Bender/ Steel Fixer भई पसिनाले अरु कसैको माटोलाई सिंचित गरिरहें । हङ्गकङ्ग बसाइको अन्ततिर भने मासिक HK $ 10000.00 मा गोर्खा सुरक्षा गार्ड भई दैनिक बाह्रा घण्टा उभिइयो ।

एक वर्षपछि र्फकने योजनाका साथ लाहुरे बनेको यो पन्ध्र वर्षको अन्तरालमा मुस्किलले जम्मा चार पटक नेपाल फर्कियो, त्यो पनि काम विशेषले र छोटो अवधिको लागि अधिकतम् तीन हप्ता । यो चार पटकको फर्काइमा आफ्नो परिवार तथा नजिकको इष्टमित्रहरुलाई भेट्नु सिवाय न त आफ्नो पूर्व सहपाठीहरु वा सहकम्रीहरुसँग न भेट्न सकियो न त सम्पर्कमा नै रहन सकियो । उनीहरुबाट त म आजपर्यन्त हराइरहेकै छु । यी बिडम्वित फर्काइहरुमा मैले मेरो मष्तिष्कमा बनाएर असरल्ल भएका योजनाका फाइलहरुलाई कार्यान्वयन गर्नु त धेरै परको कुरा भयो । त्यति मात्र होइन, त्यही जन्मेर हुर्केका आफ्ना सन्ततिहरुलाई आफ्नो बाउबाजेको पुर्ख्यौली थातथलोसँग परिचित रहन र भाषा, संस्कृति तथा परम्परा हस्तान्तरण गराउन पनि खासै सिन्का भाँच्न सकिएको छैन । साँच्चै, यो थकथकीले बेलाबखत मन बिजाइरहन्छ ।

यसरी देशको लागि, माटोको लागि एक सन्ततिले गर्नु पर्ने कुनै पनि एक कर्तव्य तथा दायित्व पूरा नगरी हङ्गकङ्गको सात मिलियन मान्छेहरुको भीडहरुमा हराउँदा-हराउँदै झन् अब म विगत एक वर्षदेखि भौगोलिक रुपमा धेरै माइल टाढा, अर्कै महादेश, भिन्न हावापानी, भिन्नै सामाजिक संरचना तथा चलन चल्ती भएको देश बेलायतको झन्डै साठी मिलियन मान्छेहरुको भीडहरुमा हराउँदै छु । हङ्गकङ्गमा रहँदा त नेपाल नै फर्कनु पर्ने भई परिआएमा पनि चार घण्टाको हवाइ यात्रा काफी थियो । कहिलेकाँहि रेल तथा बसमा देखिने तथा भेटिने नेपाली अनुहार, तिनको भाषा, काममा हुने आफ्नै नेपाली दाजुभाइहरुसँगको उठबस, बजारतिर भौंतारिँदा कहिलेकाँहि वर्षौंसम्म नभेटिएको साथीभाइहरुसँगको जम्काभेट, नेपालबाट प्रकाशित भई आइपुग्ने कान्तिपुर, हिमाल, नेपाल जस्ता दैनिक, साप्ताहिक तथा पाक्षिक पत्रपत्रिका, नेपाली खाद्य सामंग्रीको उपलब्धता आदिले गर्दा खासै छिनछिनमा आफू कतै हराएको महशुस हुँदैनथ्यो । अझ यसो भनौं Home sick हुँदैनथ्यो । तर यहाँ फरक किसिमको जीवन शैलीले हो वा नयाँ ठाउँको नयाँ अनुभव, नयाँ बसाइमा व्यवस्थित हुन समय लाग्ने भएर हो वा भूबनोटको हिसाबले यो बेलायत धेरै ठूलो अनि टाढा-टाढा छरिएर बसेको नेपाली बस्तीहरुले हो, यहाँ म आफूलाई अलि बढी हराइरहेको महशुस गरिरहेको छु । यहाँ म मात्र नभएर मसँग रहेको मेरो भाषा, धर्म तथा संस्कृति अझ यसो भनौं, पहिचान पनि मसँगै हराउँदै छन् । परिवर्तनशील समयको मागले गर्दा मैले अब यो पनि अनुमान गरेको छु म पछिको मेरो दुर्इ/तीन पुस्ताको सन्ततिहरु म जन्मेको गाउँ-ठाउँ, पुर्ख्यौली थातथलो, देश, मैले बोल्ने गरेको आवाज, मैले गर्ने गरेको संस्कार, रीतिरिवाजबाट पूर्ण रुपमा हराउने छन् । उनीहरुसँग केवल ‘गैरआवासीय नेपाली’ भन्ने कृतिम छाप मात्र रहने छ । यसरी एक ठाउँबाट अर्को ठाउँ हुँदै आफू र आफ्नो पहिचानलाई अरु कसैको माटोमा समर्पण गर्दै हाम्रो सामाजिक लाहुरे संस्कारको जाँतोमा म अनि म जस्तै थुप्रै ‘म’ हरु हराएर फेरि हराउँदै छन् सधैं-सधैंलाई ।

-अल्डरसट, यू.के.