[कथा]टाइटानिक धुन

[कथा]टाइटानिक धुन


-प्रदीप कन्दङवा,
वर्षातका आघात भोग्न अभिशप्त साँझमा दर्के झरिको आयाम थपिएको छ । म छाताको टुप्पापट्टिको सुइरोले रोडको छाती कोतरिरहेको छु । दर्के झरिको धर्सा भुँईमा बजारिएर जमिनको एकफिट माथिसम्म पानीको छायाँचित्र बनेको जस्तो आभास भइरहेको छ । त्यसैको बलबुत्ताले म घुडादेखि तल लछप्पै भिजेको छु । करिब एकघण्टादेखि म यहाँ रुख जस्तो उभिरहेको छु । अघिको मनभित्रको कुतकुति एउटा तनावमा परिणत भइदिएको छ, त्यहिं तनावले तताएको छ मलाइ हाँडिभित्रको मकै जस्तो । कसैले कप्टेरो चलाउन छोडेन, मैले रोडको छाती कोतरे जस्तै । झरिको दर्कन बृद्धिसँगै म छाताको टुप्पाले ठुँगिरहेको छु भुँईमा लगातार । हठात् मेरो मनभित्र बसेको एउटा काल्पनिक आकृति भुँईमा बजारिन्छ अनाकोण्डाले मान्छे छादे जस्तै । म अझ जोडतोडले भुँईमा ठुँगन थाल्छु । त्यही तनाव हो जुन रिसमा अनुवाद भएर अहिले छाताको टुप्पामा सरेको छ ।

दर्के झरि सिमसिम झरिमा परिणत भई सकेको छ, साँझको रँगमा ध्वाँसो पोतिन थालिसकेको छ । रस आवर पानीभित्र देखिने तारा जस्तै टिलपिलाउन थालिसकेको छ । तर मेरो मन भुँईमा बजारिएको त्यहिँ काल्पनिक आकृतिमा अड्किबसेको छ, माछाको घाँटिमा बल्छि अड्के जस्तै । मेरो अनुहारमा मात्र विशेष गुरुत्वबल थपिए जस्तो म अलिक घोप्टो परिरहेको छु। दायाँ बायाँ अगाडि पछाडि त भित्ता छ, सिलिड। बिलिड। मान्छे चिप्लिरहेको आखाँले देखिरहेको छु । कसैले ओढेको नीलो छातासँग अलिकति झुकेको शरीर आखाँमा ठोक्किन्छ, भुँईमा ठुङ्ग्न उचालेको छाता अडिन्छ टेलिभिजनमा दृश्य पज भए जस्तो । बत्तीको उज्यालोमा उसको रेशमी छिरबिरे कपाल झुकेको दाहिने गर्धनबाट तलतिर सलसलि बगिरहेको देखिन्छ कम्मरको समानान्तर भएर । पर्फ्र्युमको एकझोक्का सुगन्धसंगै एकलहर नारी आवाजले मेरो कर्णकुहरको मौनता बिथोलिदिन्छ ।

R u waiting for somebody? I mean तपाई कसैलाई पर्खिरहनुभएको हो ?

यो बिदेशी रहिछे, यो भावलाई तत्काल पुछेर अर्को भाव अनुहारमा गाडिन्छ । यसलाई अँग्रेजी भूतले थिचेको रहेछ । मैले घोप्टो मुन्टो जवाफ दिएँ-

मैले तपाईलाई पर्खिरहेको होइन ।

कुन रन्कोमा थिए म…! अचानक नसोचिएको र नचाहेको जवाफ मुखबाट चिप्लिझरेकोमा एउटा पातलो पश्चाताप मनमा ओढेर घोप्टिरहेँ म । घोसेमुन्टो लगाएर बसिरहेको कुकुर एक्कासि उठेर आफूलाई भुके जस्तो एक अनियन्त्रित पाइला पछाडि हटी ऊ । उसको अनुहारको रँग हेर्न उत्सुक थियो मेरो मन तर अशिष्टताको दोस्रो झापट मुटु मिचेर रोकेँ मैले । आफूलाइ केही स्वभाविक बनाइकन उसले भनी-

I… didn’t mean that.

कानमा हल्का काउकुति लाग्ने गरी उसको आवाज कामेको थियो । उसले छाता बन्द गरी मभन्दा लगभग एकहात पर मै जस्तो भित्तामा ढेस्सिएर उभिई । जिन्सभित्र कस्सिएका एकजोर लामा-लामा खुट्टाहरु आँखाअगाडि उभिइन्छ्न्, दाहिने तिघ्रानिर करीब एक बित्ता च्यातिएको भाग देखिन्छ, जिन्सका तार्लागँतुर्लुग धागाहरु यताउता झुन्डिरहेका छन, म अझ घोप्टो मुन्टो उभिरहेको छु, मनमा उत्सुकताको पहाड ठडिन्छ, कस्ति होली यो केटी ? मनका उत्सुकतालाई चिर्दै एउटा आवाजले तत्क्षण एकधक्का दिन्छ मलाई-

Hey…
के भन्छे यो ? मलाई हो ? हातको चोर औँलाले आफ्नै छातीतर्फ औँल्याउँदै मैले एक दृष्टि उसको आखाँमा लगेर जोतिदिएँ ।

yes, you….

दुविधाको लिँगेपिँग मच्चिनथाल्छ मनमा । यो मलाई थर्काउने शैलीमा किन कुरा गर्दैछे ? अग्रेजीमा बोलेपछि मान्छे थर्किन्छ जस्तो लाग्छ कि क्या हो यसलाई ? हल्का मातेको मान्छे जस्तो लड्खडाएका केही वाक्य उतिर सोझ्याउँछु म ।

किन के भो ?
ऊ तत्काल एउटा चुरोट ओँठमा च्याप्छे र भन्छे-
lighter…

बित्थैमा कसैले हप्काइरहेको छ मलाई, मनमा दुविधाको लिँगेपिँग मच्चिन छाडेको छैन । यसलाई सभ्यताको एउटा पाठ अहिलै सिकाई दिऊँ कि, के ठान्छे यो आफूलाई रिसको एकसप्को बेरिन्छ मेरो अँगअगँमा । आँखैले घोँचेर यसको फूर्ती झारिदिऊँ त ? यस्तो सोँचेर तीखो दृष्टि सोझ्याउँछु म । कसैलाई यति बिघ्न हप्काइसके पश्चात कोही यसरी बसिरहन सक्छ ? पत्याउनै नसकिने गरी ओँठमा एकखिलि चुरोट च्यापेर क्वारक्वार्ती हरिरहेकिछे ऊ समून्द्रपारिको दृश्य । हा… वित्थैमा म पो over react गर्दो रहेछु क्यार । आफूलाई सामान्य मुद्रामा फर्काइसके पश्चात म लाईटर झिक्छु र ऊतिर अघि बढाउँछु । ऊ मेरो हातबाट लाइटर फुत्त थुत्छे र अलिक घोप्टिएर चुरोट सल्काउन थाल्छे । छ्याकछ्याक लाइटरको आवाज आउँछ, लाइटर बल्छ तर चुरोट सल्कन पाउँदैन, तत्काल निभिहाल्छ । समून्द्री हावाको मसिना झोक्काहरु एउटा लाइटरबाट निस्केको ज्वाला निभाउन पर्याप्त भई दिन्छ । उसले नाकमा खिलेको सूर्यमुखी आकारको सानो फुलिमा ल्याम्पपोष्टको प्रकाश ठोक्किन्छ, सानोतिनो light symphony को आनन्द उठाउन थाल्छु म उसको फुलि हेरेर । उसको चुरोट सल्काउने प्रयास जारी छ । उसको बूढी औँला रातो भएर रगत चुहिएला जस्तो भइसकेको छ, तर चुरोट सल्कन मानिरहेको छैन । ऊ खुट्टा बजार्दै रिसले मर्मुरिन्छे-

oh ..! god damn it. के खान आईरा’ होला यो हावा ?

यति भनेर ऊ टुक्रुक्क भुँईमा बस्छे । अलिक जमीनतिर घोप्टिएर बडो होशियारीपूर्वक चुरोट सल्काउन थाल्छे । छ्याक्छयाक लाईटरको आवाज आइरहन्छ । एउटा रँगीन पुतलीको ट्याटु मेरो आँखामा ठोकिन्छ । ऊ तत्कालमाथि फर्केर मलाई हेर्छे । म पकडाउ खान्छु । मेरा चोर आँखा उसको छातीबाट उसको आँखामा सर्छ म लाजले भुतुक्क हुन्छु । अब एउटा गालीको निम्ती म तैयार भएर उभिन्छु । यसले अवश्य भन्नेछे, तपाइंले आइमाईको छाती कहिले देख्नु भएको छैन ? अलिक लाजै पचाएर जवाफ दिऊँ त मोरीलाई जस्तै, मैले तपाँइको छाती होइन पुतली हेरेको । यस्तै सोँचेर म उसको आवाजको प्रतीक्षा गर्न थाले । अलिक धस्सिएको स्वरमा उसले भनी-

plz ! help me to light up न यार ।

ढुगाँको चोट खान तैयार भइबसेको म अचानक फूलको एक पञ्ज गालामा लागे जस्तो आभाष भयो । आहा …! मनै सिरीँग हुने त्यो खेल ! उसको आवाजले अलिकति हौसिएँ म । गएर उसको नजिक बसेँ टुक्रुक्क, लाइटर आफ्नो हातमा लिएँ । एक हातले छेकेर अर्कोहातले लाईटर बाल्न थालेँ । उसको दुवै हातहरुले हावा छेल्न मलाई मद्दत गरिरहेकिथिई । लागिरहेको थियो, यो लाइटर कहिले नबलोस् र म यसरी बसिरहुँ घुँडामा घुँडा जोडेर, टाउकोमा टाउको जोडेर, हातमाथि हात राखेर ! के यो लाइटरले मेरो भावना बुझ्ला ? त्यहीबेला उसको चुरोट सल्कियो । हामी दुवैजना उठ्यौं र अघिकै जस्तो भित्तामा अडेस लगाएर उभिन थाल्यौं । ऊ बुँगबुँगती चुरोटको धूँवा उडाउन थाल्छे, धूँवाको कुजुलोभित्र उसको गोरो अनुहार लुक्न खोज्छ, एकैछिन बादलका स-साना गुच्छाभित्र जून लुके जस्तै ।

सिमसिम झरिले कतिखेर बिदा लियो त्यसबीचमा पत्तै भएन । समन्द्रपारिका नीला पहाडहरु देखिन थालेका छन । कुइरोको साम्राज्य हट्न थालको छ । तै पहाडका बीचोंबीच सेतो कपासको थुप्रो जस्तो लाग्ने भुँई कुइरोहरु ढ्याप्प बसिरहेका छन । कतै-कतै बत्ती बलेको दृश्यहरु पनि देखिन्छ, कसैको घर हुन सक्छ । लगभग पहाडका पेटैतिरबाट लहरै बत्तीको लाइन देखिन्छ, यसबाट अन्दाज लगाउन सकिन्छ, त्यहाँ गाडी हिंड्ने रोड रहेछ । बेलाबखत कुइनेटोतिर एकजोडी बत्तीको प्रकाश यतातिर हुत्तिएको देखिन्छ । तत्काल अध्याँरोमा विलिन भइदिन्छ, लाग्छ, त्यस्तो धेरै गाडी नकुद्दो रहेछ त्यताको सडकमा ।

तपाँई लाइटर किन बोक्नुहुन्छ ? I mean don`t you smoke ? तपाँई चुरोट खानु हुन्न ?

तिनवटा प्रश्न गर्छे, मलाई एकैचोटि त्यसले मेरो ध्यान त्यसतर्फ खिँचिएको छ नीला पहाडहरुबाट । जवाफ एउटा मात्र दिन्छु, म यसैले सबै प्रश्नको मर्दन हुन्छ भन्ने ठानेर । जस्तै-

म चुरोट खान्न तर कहिलेकांहिँ पिउँछु मात्र ।

कम्तीमा यो केटी अब एकपटक उफृन्छे या त अग्रेजीमा दुईचार गाली अवश्य दिन्छे, त्यतिले नपुगे खुट्टा बजार्दै बुँगबुँगती एकातिर हिडिदिन्छे । तर के फरक पर्छ र रु जहाँसुकै जाओस्, कति भेटिन्छन् यस्ता केटी जीवनमा ! तेस्रोपटक मलाई गलत साबित गर्दै ऊ खिलखिलाएर हाँस्न थाल्छे,

how funny…? चुरोट पनि कसैले खान्छ त ?
ऊ फेरि पेट मिचिमिची हाँस्न थाल्छे,

चुरोट त पिइन्छ पो त ….! good sense of humor.

उसको हाँसो अझै थामिएको छैन । धपक्क बलेको उसको गोरो अनुहार बत्तीको उज्यालोमा जूनझैं प्रतीत भइरहन्छ मलाई ।

चुप ! धेरै हाँस्न हुन्न ।

यही वाक्य चिप्लिएको थाहा पाउँछु म आफ्नो मुखबाट । म दाहिने हातले उसको मुख थुनिदिएर देब्रे हातले उसको घाँटीमा बेह्रिरहेको हुन्छु । ऊ मेरो हातमाथि आफ्नो हात राखेर हाँसो थाम्ने प्रयास गरिरहेकिहुन्छे । म झस्किन्छु, तत्क्षण हत्केलाबाट एक झट्का करेन्ट जिउमा फैलिन्छ ।

OK, its OK, I handle it now.

म उसको ओँठबाट आफ्नो हात हटाउँछु, एउटा मीठो सपना पूरा नहुँदै ब्यूँझैँ जस्तो थकथकी लागिरहृयो मनमा त्यसक्षण । ए गाँठे, यो काम मैबाट भएको हो त ? आफैलाई विश्वास लाग्दैन, कुनै केटीलाई यसरी पहिलो भेटमा हात हाल्ने हिम्मत गरें मैले, धत..! कस्तो उल्लु म ! कि हेपेँ त्यसलाई मैले सस्ती ठानेर ? जस्तै, त्यो चुरोट खाईरहेकि छे, ट्याटु-स्याटु हानेकी छे, च्यातिएको पाईन्ट लगाएकि छे, शरीरमा हल्का कम्पन महशुस भईरहेको छ, अलिकति मन रोमाञ्चित पनि भएको छ, अन्जानमै एउटा रोमान्सको सिलसिला पो भोगिएछ क्यार…! दुविधाको झोलुञ्गे मनमा यसरी नै मच्चिरहेको हुन्छ । उसको हाँसो बन्द भइसकेको छ । एउटा खुट्टा भित्तामा टेकाएर भित्तापट्टि पूरै ढेस्सिएर दायाँ-बायाँ हात पसारेर लामो-लामो निश्वास तानिरहेकिछे ऊ, उड्छे कि क्या हो यो केटी ! उडुलाँझैँ गरिरहेकिछे । म उसलाई एकटकले हेर्न थाल्छु । पुतलीको पखेटामात्र देखिन्छ यसपटक । म अलिकति चोइटिन्छु पूरै पुतली हेर्न नपाएकोमा ।

what’s your hobby? I mean तपाँईको रुचि के मा छ ?
रुचि ?
Yap.
मेरो रु
yaap. (अलिक जोड दिएर)

अहिले त तिमीलाई अगाँलोमा बाँधेर कम्तिमा यो जुनी बिताइदिने रहर जागेर आएको छ मनमा, उसको प्रश्नको यस्तो उत्तर आउँछ मनमा तर भन्छु-

यो प्रश्नको जवाफ कुनै दिन दिन्छु म तपाँईलाई ।

कुन्नि के पो भनेँ मैले, कुनै दिन माने फेरि भेट्छु त म उसलाई ? काम त अरु केही छैन । यो प्रश्नको जवाफ दिन मात्र भेट भइएला त ? कस्तो वाहियात जवाफ दिएछु मैले, अब एकपटक फेरि हाँस्छे यो केटी खिलखिलाएर अघि जस्तै अनि म उसलाई पुनः एकपटक थिच्नेछु, उसको गुलाफी ओँठहरु मेरा हत्केलाले सल्बलाईदिनेछु । आह…! मेरा हातहरु कस्तरी चिलचिलाएका..! खोई त यसपटक हाँसिन १ यो कस्ती खालकी केटी हो ? हरेकचोटि मेरो अड्कलको हत्या गर्न आएकिछे यो यहाँ । म जे सोच्छु, त्यस्तो त केही गर्दै गर्दिन यो । कम्तिमा यो प्रश्नको जवाफमा केही त भन्छे यसले । म आफ्नो कान उसको मुखतिर सोझयाईरहेको छु, उसको तातो निश्वासले मेरो गाला सहलाउँछ, अघि चोइटिएको मनमा अलिकति मलहमपट्टी परेछ क्यार ! म त्यो पुतली बन्द आँखाले देखिरहेको छु र पूरै देखिरहेको छु । काशः त्यो पुतली म किन हुन सकिन …? यो जीवन त्यो पुतलीमा अनुवाद भईजाओस् बरु, आह.. म बस्ने ठाउँ । म कान थपिरहेको छु, ऊ त अर्को चुरोट पो सल्काउन थालिछे ।

तपाँईले जर्ज अर्वेलको ज्ञढडद्ध पढ्नुभयो ? have you read George Orwell’s 1984?

अचानक दिमागमा एकधर्सो बिजुली कुदेजस्तो भयो । यो प्रश्न यही केटी सोधिरहेकि छे त ? शकाँ निवारण गर्न यताउता आँखा कुदाएँ, कस्तो पागल म ! को आएर सोद्धो हो मलाई यो प्रश्न ?
19…
…48 जर्ज अर्वेलको । पढ्नु भयो ?

ए गाँठे के ठान्छे यो आफूलाई ? धेरैमा, यो किताबको नाम सुनेकी होली यसले । योबेला, कसैले उक्त पुस्तकको नाम लिन्छ भने त्यो ठूलो कुरा भएन, तर पढ्नु त यसका खानदानमा नहोला । सुनेको भरमा यत्रो फूर्ती यसको ! पख, तँलाई म पनि टेढै जवाफ दिन्छु, यस्तै सोच्दै थिएँ म ।

तपाईँ एकैछिन पर्खिनु हुन्छ भने म तुरुन्त फर्केर आउँछु । I will be right back.

मेरो जवाफको प्रतिक्षा नगरी ऊ त्यहाँबाट फटाफट हिंडी, कुइनेटो नाघेर मेरो दृष्टिमा गायब भइदिई । मलाई सयौं उल्झन दिएर गई त्यो केटी यहाँबाट । के त्यो फर्केर आउलिई ? बगेको खोला पनि फर्केर आउँछ ? यस्तै एउटा आवाजले रेटिदियो मेरो कान बेस्सरी त्यो बेला । नआओस्, किन पो आउँछे र ऊ फर्केर, के काम छ र, फर्केर आउनलाई ? न चिन्नु छ, न चिनी माग्नु छ, बित्थैमा यो मन पनि पुतलीसगैं उड्न खोज्छ, उफ… पुतली हुन खोज्छ यो मन !

त्यहाँबाट घोसे पाइला अघि सार्छु म, पाइला जता सर्छ त्यतै हिंडिदिन्छु म । के हतार छ मलाई ? जतिखेर गए पनि हुन्छ, नगए पनि हुन्छ, कोही छैन, केही छैन, छ त फगत जीवनको मायावी बैराग, टाइटानिक धुन जस्तै बजिरहन्छ केवल बजिरहन्छ । के को वैराग हो यो रु के को बिरक्ति हो ? कहिलेबाट शुरु भयो ? थाहै छैन मलाई, कि यो उमेरै हो बिरक्तिने । अहो, ३५ वर्षे युवक पो हुँ म त । पैसा कमाउनु छ, घर बनाउनु छ, सन्तान होलान् तिनको भविष्य । छेवैमा एउटा फलामे फँलैचा देखा पर्छ, त्यहीं थचारिदिन्छु आफूलाई म । समून्द्रले शुसेली हाल्छ, उही टाइटानिक धुन, पारीका नीला पहाडहरु रुन्छन, मेरो घाँटीमा के के हो अडि्क रहन्छ । आठ वर्ष भयो नि त घर छोडेको, मनमा यो वाक्य तरंगिन्छ, सानो लहरझैँ समून्द्रको । यी आठ बर्षमा केले छेक्यो मलाई घर बनाउन ? केले छेक्यो बिहे गर्न ? केले छेक्यो घर फर्किन ? कति लामो लिष्ट हो यो, प्रश्नै प्रश्नको ? जवाफ एउटै छैन । छ त केवल टाइटानिक धुन जीवनको मायावी बैराग ! मायावी किनभने कति बेला छिर्‍यो यो बैराग मेरो जीवनमा, किन बज्छ यो धुन मेरो मस्तिष्कमा, किन….? यहि थाहा छैन मलाई, यो बैराग साँच्चिकै मायावी छ, थाहै नपाई यसरी रुवाउँछ, रात-बिरात हिंडाउछ । कता जाने हो केही थाहा हुदैन । सयौं किरिँगमिरिँग बाटाहरु देखिन्छन्, कुनै बाटोको कतै गन्तव्य देखिदैन, सबै एकअर्कामा काटिएका छन्, आफैमा हराई गएका छन्, हत्केलाको रेखा जस्तै । किरिँगमिरिँग रेखै-रेखाको बीचौँ-बीच उही मनमा बसेका एउटा काल्पनिक आकृति सल्बलाउँछ मनभरि । शिखा धेरैमा मीठो स्वरकी धनी होली त्यो केटी । कस्ती धोखेबाज रहिछे, सायद त्यसले थाहा पाई कि ? म ३५ बर्ष पुगिसक्या’ छु । घर छैन मेरो । पैसाको गुलाम हो यो दुनियाँ, त्यो पनि होली कसको के लाग्छ ! ठीकै छ, भोलिको दिन अन्तिम पटक फोन गर्छु त्यसलाई र आफ्नो वास्तविकता पनि बताइदिन्छु कि म ३५ वर्षे तन्नम पुरुष हुँ । तिमीले जे गर्‍यौ ठीकै गर्‍यौ, के पाउँछौं र तिमी मबाट ! भ्रमको पहाडमाथि सपनाको हावाधारि महल ठड्याँउछु म, केवल टेलिफोनमा बोलेको भरमा, केवल मीठो स्वर सुनेको भरमा । के यो पँगु हुनुको पराकाष्ठा होइन त रु अरु त केही हुनै सक्दैन । यतिको लाचार कहिले भएछु म ? त्यही त हरेक चीज कतिखेर छिर्छ मेरो जीवनमा, थाहै पो पाउन छोडेको छु मैले । कतै मलाई Insomnia नभई जाओस्, म मेरो जीवन बिर्सन चाहान्न । उफ…! आत्महत्या मान्छेले कतिखेर गर्छ हँ ? अगाडि समुन्द्र छ, झारिदिउँ तँलाई हात खुट्टा बाँधेर …? मनका कुनै कुनामा बसेको लाछी सागरको आवाज हो यो, म राम्ररी चिन्छु, यसले घरि-घरि मलाई यसैगरी डिलतिर धकेल्छ । अर्को एउटा सागर छ, त्यसैले धानेको छ मेरो जीवन ! त्यो नहुँदो हो त म नहुँदो हुँ, म नहुँदो हो त त्यो नहुँदो हो । परिपुरकझै छौ हामी । यही एउटा छ मलाई डिलतिर धकेल्छ । जीवनको मायावी बैराग त्यहिबेला सक्रिय भइदिन्छ र बजिरहन्छु म टाइटानिक धुनसगैं केवल बजिरहन्छु । यो मौनतालाई चिर्दै एउटा नारी कण्ठ बज्रिन्छ मेरो कानमा-

Hey……you? तपाँइ यहाँ ? what the hell is this? मैले फर्केर आउँछु भनेकि होइन ? तपाँइ त बडो सन्की हुनुहुँदो रहेछ ।

यो दुनियाँमा सबैभन्दा रहस्यमय केटी यदि कोही छ भने त्यो केटी अवश्य यही हुनुपर्छ । के गर्न आँट्छे, यो बुझ्न सकिन्न । यस्तै सोचिभ्याउँदा ऊ मेरै आँखाअगाडि आइदिई । अलिक अस्त-ब्यस्त जस्ती, एक हातमा सल्किरहेको चुरोट अर्को हातमा के के हो बोतल छ, काँधमा निकै गह्रौ जस्तो लाग्ने झोला भिरेकी, हल्का लोलाएका आखाँ उचालेर उसले मतिर हेरी र भनी-

you know what, I am not drunk ok, by the way this is my second bottle.

हि… हि.. ऊ एक धर्सो हाँस्छे, एक सिप पिउँछे र चुरोट उडाउन थाल्छे । झोलाले उसको काँध तानिरहेको छ । म उसलाई इसाराले झोला राख्न भन्छु ऊ झोला राख्छे र मेरो छेउ आएर बस्छे । अर्को एउटा बोतल झोलाबाट निकाल्छे र मतर्फ बढाउँछे, म चुपचाप पिइदिन्छु । किन सोध्नु पर्‍यो मलाई त्यो के थियो ! बैरागी धुन भगाउन अवश्य साथ दिने छ यसले, यतिचाहिं बुझने भएको थिएँ म ।

तिमी शिखालाई चिन्छौ ?

अपमान र आश्चर्यको दुइटा तीर गाडिन्छ मेरो छातीमा एकसाथ । यो ठिटी भर्खरै मलाई भेटेर भर्खरै तिमी भन्न थालेकिछे । अपमानको यो तिक्तता आश्चर्यले निलिदिन्छ । त्यस घडि लाग्छ, यो कतै त्यही शिखाको बारेमा त कुरा गरिरहेकी छैन रु मनमा उत्सुकता र आश्चर्यको बाढी चल्छ तर सोच्छु कति हुन्छन् त्यस्ता शिखा नाम गरेका केटी यो दुनियामा । कोही होली यसको साथी शिखा नाम गरकी । सोध्न त यो जे पायो त्यही सोधिरहेकि छे, यसको के विश्वास, जे पनि सोध्न सक्छे यो । तर यसलाई हेरेर यस्तो लाग्दै लाग्दैन कि शिखाको सँगत यो केटीसंग हुन सक्छ । शिखा त स्वयँमा एउटा आदर्श हो । टेलिफोनमा बोल्दा कस्तरी बोल्थी ऊ, हरेक शब्द-शब्द, हरेक वाक्य-वाक्य तौलेर बोल्थी ऊ, यस्तो लाग्थ्यो धीर गम्भीर र शालीन व्यक्तित्वकी धनी होली त्यो केटी । उसलाई भेटेर धन्य हुनेछु आज म । यस्तै सोँचेर आज यहाँ आएको थिएँ म । किन बिर्सेँ हुँला मैले हामी केवल टेलिफेनमा बोल्छौ ! किन बिर्सेँ हुँला मैले यो दुनिया खुराफात र धोकेबाजहरुले भरिएको छ ! किन बिर्सेँ हुँला मैले, एउटा पैंतीस बर्ष तन्नम पुरुषलाई भेट्न कोही आउँदैन यहाँ, यो झरि बादलको रात चिरेर ! उफ…! किन बिर्सेँ हुँला ! भित्र कतै सुनामी जस्ता सयौ छालहरु उर्लन्छन्, मुखबाट उच्छवासको दीर्घ निस्वास फुत्किन्छ, फेरि बज्छ टाइटनिक धुन, जीवनको मायावी बैराग, समून्द्रपारिका नीला पहाडहरु, समून्द्रका शुसेली म र मेरो भित्रि मनमा लुकेर बसेको लाछी सागर ! दोहोरी चल्छ पुनः एकपटक, उही सागर खनिन्छ ममाथि, जोडतोडले मलाई धकेल्छ समुन्द्रतिर र म चिच्याउँछु शिखा……….. अनि पो झस्किन्छु म, त्यो केटीलाई सम्झेर । के गर्दै छे यहाँ ? ऊतर्फ फर्केर हेर्छु, ऊ त हिंडिसकिछ । कति निर्रथक, आफ्नो प्रश्नको उत्तर समेत जान्न चाहिन त्यसले । ऊ बसेको ठाउँमा एउटा सेतो कागजको पन्ना देख्छु, त्यसमा केही लेखिएको हुन्छ, उठाएर पढ्छु, लेखिएको रहेछ-

तिमीसँग फोनमा बोल्ने शिखा म नै हुँ । माफ गर, म तिमीले बुझेजस्तो शिखा होइन ।