बेलायतकी फ्लोरेन्स र नेपालकी फूलमति

बेलायतकी फ्लोरेन्स र नेपालकी फूलमति


-सुमल कुमार गुरुङ,
आज आइतवार भएकोले अलि अबेरसम्म विस्तरामा सुतिरहे । बिउँझेपछि पनि म तत्काल उठिनँ । एकछिनपछि मस्त निंदमा लिप्त श्रीमतीलाई कोल्टे पर्दै हेरें । कान्तिमय उज्यालो मुहार, दुबै आँखा बन्द, मानौं उनी मीठो सपनामा सयल गर्दैछिन् । मैले बुरियालाई उठाउन चाहिनँ ।

हाम्रो प्यारो एकले अर्कालाई सम्बोधन गर्ने स्नेही शब्द “बुरा र बुरिया” । मलाई बुरा र म आफ्नी पत्नीलाई बुरिया भनेर सम्बोधन गर्छु, सायद उमेरको भन्ज्याङहरु निक्कै नाँघिसकेकाले होलान् । मनमनै भनें -बुरिया थाकेकिछिन्, हप्ताभरिको कामको थकानले, अझ आराम गरोस् भनी म सुस्तरी उठें । झ्यालबाट बाहिर मुन्टो निहुर्‍याउँदै हेरेँ । घामको किरणहरुले उज्यालिएको मौसम सफा भएको देखें । यसो घडी हेरेँ, साँढे आठ बजिसकेको रहेछ । छुट्टीको दिन प्राय अबेरसम्म सुत्ने सबैको बानी बसेको हुन्छ ।

आहा ! बेलायतको घाममा कति मज्जा छ । ठूलठूला हरिया पार्कहरुमा र समुन्द्र तटहरुमा घाम सेक्ने मजा कठ्याग्रिने हिउँद पछिको छुट्टै छ । वास्तवमा बेलायतमा यहाँका जनताहरु गर्मीयाम व्यग्र भएर पर्खने गर्छन् । नेपालीहरुका लागि त वर्षेनी भेला हुने संस्कार जस्तो नै बन्न थालेको छ । नेपालीहरु बसोबास गर्ने छेउछाउका कम्युनिटि सेन्टरहरु सबै एक वर्ष पहिले नै आगामी गृष्मकालीन बीबीक्यू भेलाको लागि बुक गरेर राख्ने चलन शुरु भइसकेको छ । अनगिन्ति संघसंस्थाहरुको स्थापनाले भेला हुने ठाउँ पाउन गाह्रो हुने भएकोले पहिले नै बुकिङ गर्ने चलन भएको हो । गल्लाहरुको टोली, पल्टने, रेजिमेन्ट, गाउँले, क्षेत्रीय, जातीय, राजनैतिक तथा त्यसका भ्रातृ संस्थाहरु, धार्मिक र धेरै प्रकारका नेपाली संघसंस्थाहरु छन् । यति धेरै नेपालीहरुको संघसंस्थाहरु विगत चारपाँच वर्षभित्र स्थापित भएका छन् कि अहिले गनेर साध्य छैन । अर्को प्रसंगमा एउटै मान्छे धेरै संघसंस्थाहरुसंग आबद्ध रहनुले भ्याई न भ्याई गृष्मकालीन् भेलाहरुमा व्यस्त रहन्छन् । एकजना मान्छेको जीवन जिउने क्रममा प्राप्त संयोगहरुको घटनाक्रमहरु नै जीवनकाल भनिन्छ ।

अब शरद् ऋतुको आगमन भइसकेको छ, तर, यो शरद ऋतु बेलायतमा क्षणिक झै लाग्छ मलाई । अलि-अलि जाडोले चेप्दै लगेको भान हुँदैछ । दिनहरु छोटिँदै छन् । केही हप्तापछि हिउँदको छनक् दिँदै तुषारोको लिपपोत कारको स्कि्रन, छानाहरुमा र सडकहरुमा टल्किन थाल्दछन् । म यस्तै कुराहरु सोंच्दै वाथरुम गएँ, हातमुख धोएँ र किचनमा गएर चियाको लागि पानी उमाल्नलाई केटलीको स्वीच-अन गरेँ । अनायसै मुखबाट पुरानो गीतको अलाप निस्किरहेको छ । तर, अरुले देख्नेबितिकै मेरो गाउने क्रम अनायसै रोकिन्छ, किनभने मेरो बेसुरा सप्तराग कसैले सुन्लान् कि भन्ने डर मनमा रहिरहन्छ ।

बुरिया पनि आँखा मल्दै किचनमा झरिसकेकिछिन्, मेरो गाउने क्रम रोकियो । बुरियाले हाँस्दै मलाई भनिन्,
“बुरा, आज मर्निङ वाकमा जाँदा फार्म फूड सपबाट दूध र ब्रेड लिएर आउनुहोस्…. हप्ता दिनको लागि” ।

एउटा मायालु आँखा आफ्नो मान्छेलाई हेर्छिन् बुरियाले । मैले तिनको आशय बुझें, “हुन्छ … दूध र ब्रेड मात्र ल्याउने बुरिया ?” भनेर सोधें र यतिखेर म चियापत्ती, चिनी र दूध निकालिरहेको छु ।

“हो त्यतिमात्र .., भरे दिउँसो अज्दाबाट ल्याउँला नी.. बुरा, बाँकी समान” छोटो जवाफ दिईन् बाथरुमतिर लागिन् ।

म चिया पिइसकेपछि बोसटालहिलको जंगलतिर मर्निङ वाकमा लागेँ । शनिवार, आइतवार छुट्टीको दिनमा प्राय म घरछेउमा अवस्थित यही जंगलतिर हिँड्ने गर्छु । कहिलेकाँहि बुरियाको फुर्सद भएको बेलामा दुबैजना हिँड्ने गर्छौं ।

एक घंटाजति हिँडिसकेपछि जंगलबाट सडकतिर निस्केँ र गाडी नम्बर ९९को बाटो हुँदै बस स्टापमा पुगेँ । म एरिथको टाउनसेन्टरमा पुगेँ र त्यहाँको फार्म फुड सपबाट दूध र ब्रेड लिएर फर्केँ ।

म बस स्टापमा बस कुरिरहेको थिएँ । त्यतिबेला एकजना बेलायती महिला अन्दाजी ४० नाघिसकेकीलाई बच्चा गुडाउने गड्डीमा दुर्इजना बच्चालाई गुडाउँदै बसस्टपमा आएकी देखेँ । महिलाको पछि-पछि अन्दाजी ३ वर्षकी बालखी उफ्रँदै आउँदै गरेकी देखेँ । आइतबारको दिन भएकेाले बसको अन्तराल कहिलेकाँहि लामो कुर्नुपर्ने हुन्छ । बच्चाहरु कलिला, झण्डै उस्तै-उस्तै उमेरको देखें । म कौतूहल भएर दुर्इबच्चा र बालखीको उमेरको अन्दाज गरें । महिलाले एउट सिगरेट सल्काईन् र हावामा सिगरेटको धूँवा नाक र मुखको छिद्रहरुबाट हृवार्र गर्दै बच्चाहरुलाई धुमिल बनाउँदै उडाईन् । मैले सोचेँ, कस्तो लापरवाही आइमाई आफ्नै ती बच्चाहरुलाई सिगरेटको धूँवाले हानी पार्नसक्छ भन्ने ख्यालै नगर्ने । बच्चाहरुतिर मैले हेरें, बच्चाहरु पनि मलाई हेर्दै बालसुलभमा हाँस्दै तोतेबोलीमा किलकिलाउन थाले प्रफुल्ल भएर । दुइटा परेवाहरु चर्दै गड्डीको छेउमा पुग्यो । बच्चाहरु परेवातिर आकरि्षत हुन्छन् । मलाई यो बाल-लीलाले खिँचेर मोहित बनायो ।

आखिर मैले महिलालाई अंग्रेजीमा सोधें, “यी मायालाग्दा बच्चाहरुको उमेर कति होला ?”

महिला फरासिली थिईन्, झट्ट प्रत्युत्तरमा हाँस्दै, “मेरो सानो चाँहि एक वर्षको हुन आँट्यो र गड्डीभित्रको अर्कोचाँहि एक वर्ष मात्र ठूलो हो” भनिन् र हाँसिन् ।

मैले हाँस्दै भने, “दुर्इ वर्ष नपुग्दै दुर्इजना बच्चा ?”

ती महिलाले बालखीलाई देखाउँदै, “ठूली चाँहि छोरी हो, भर्खर ३ पुगिन् र आफ्नो पेटतिर औंलाले इंगित गर्दै,
“अब एकजना फेरि छिट्टै आउँदै छ” भनेर हाँस्दै भनिन् ।

त्यसैबेला अर्की महिला बसस्टपमा आउँछिन् र ती महिलालाई …हाय फ्लोरेन्स… भनेर दुबैजना कुरा गर्न थाल्छिन् । मलाई महिलाको कुराले एक प्रकारको सोंच मेरो मस्तिष्कमा घच्घचिन्छ । म फितलो हँासो फिस्स हाँस्छु । चार वर्षभित्र चारजना बच्चा ? मलाई कताकता आधा दर्जन जति बच्चा पाएकी गाउँकी डिलाघरेकी पत्नी हाडछाला मात्र भएकी फूलमतिको सम्झना भयो ।

त्यसैबेला बस आइपुग्यो र बसभित्र त्यही महिलाको चाखलाग्दो कुरा भनौं या अप्रत्याशित संयोग मनमा लिँदै बसभित्र छिरेँ । महिला पनि गड्डी गुडाउँदै आफ्नो साथीसँग बच्चाहरु लिएर बसभित्र छिरिन् । म माथिल्लो बसको तल्लामा गएर त्यही महिला र बच्चाहरुको विश्लेषण गर्न थालेँ । महिला अवश्य ४० नाघिसकेकीछिन् । अन्दाजी ४४ वर्षको हुनुपर्छ । यदि पहिलो बच्चा ४१ वर्षको उमेरमा जन्मिएको भए, लगातार ४२, ४३ वर्ष अरु थप दुर्इ बच्चाहरु जन्मे, अब ४४ वर्षको उमेरमा थप अर्को बच्चा जन्मिनेछ । ती बच्चाहरुलाई देखभाल गरेर किशोर अवस्थासम्म पुर्‍याउँदा महिला बूढी भइसकेकी हुन्छिन् अर्थात् अब महिलाले काम गर्ने छैन, केवल सरकारी भत्ता खाएर बाँकीको जीवन बिताउने छ भन्ने कुराहरुको सोंचमा व्यस्त बसले बाटो काट्दै गएको पत्तो भएन । यस राष्ट्रमा काम नगरी भत्ता खानेको संख्या दिनहुँ बृद्धि भइरहेकाले सरकारले सबैतिरबाट कटौती गर्दै पनि आएका छन् । काम गर्नेहरुको ढाड सेक्ने गरी इन्कम ट्याक्स असुल गरिरहने क्रम निरन्तर छ ।

जुन राष्ट्रमा मानव अधिकार र स्वास्थ्यको बारेमा ठूला-ठूला बहस हुन्छन्, त्यहाँ नै बत्तीमुनि अँध्यारो भनेझै जनताले यी विषयहरुमा वास्ता नराखेको मलाई प्रतीत हुन्छ । चुरोट र बियर यिनका लागि फेशन जस्तो छ । यस्ता बच्चा पाउँदै भत्ता खाने महिलाहरु बेलायतमा हजारौं छन् । यिनलाई बच्चा पाएर आरामसाथ जीवन गुजारा गर्ने सहुलियत प्राप्त छन् । प्रायजस्तो एकल अभिभावकको संरक्षणमा बच्चाहरु हुर्केका हुन्छन् भन्ने कुराहरुको सोंचाइ लिँदै म घरछेउमा आइपुगेको पनि पत्तो भएन । बसको घन्टी दबाउन बिर्सेछु, धन्न एकजना बस चढ्ने मान्छे गाडी पर्खिरहेकोले गाडी रोकियो । म हतार-हतार दूघ र ब्रेड समातेर बसबाट ओर्लेँ । बसबाट ओर्लँदै गर्दा पनि म सोंच्दै जान्छु र फेरि मेरो विचार फूलमतिको परिवार, बच्चाहरु र तिनको पति हर्केदाइलाई सम्झन्छु । हर्केदाइको परिवारले कहिल्यै मैले राम्रो लगाएको देखिँन, गरीबीको उदांगो रुप ती अबोध वर्षेनी पाउने बच्चाहरुको आधा नाङ्गो शरीरले दर्शाइरहेको देख्थेँ । फ्लोरेन्सले सर्को तानेको सिगरेट र फूलमतिले काखमा बच्चालाई दूध चुसाउँदै एउटा हातले मेलाबाट फुर्सद पाउँदा तानेको चुरोटको सन्तुष्टि, अनुभूतिमा कुनै फरक मैले देखिँन । चुरोटको तलतलको अनुभूति र मान्छेलाई लाग्ने भोकको अनुभूति फरक हुँदैन, तर, फूलमति र फ्लोरेन्सको जीवन कति फरक छ । फ्लोरेन्सलाई कामको चिन्ता र भोको हुनुपर्छ भन्ने फिकर छैन, तर, फूलमति र हर्केलाई गाँस, बास र कपासको चिन्ताले थिचेको छ । म सोच्दै हिँड्दै छु ।

लौ, म त अहिले घरको ढोकामा आइपुगेँ । बुरियाले ढोका खोलिन् । म घरभित्र पसेर पनि ती बच्चाहरुबारे सोंच्दैछु । बुरियाले भनिन्, “आज पनि केही देख्नुभा’को जस्तो छ… किन एकहोरिनु भा’को” भन्दा मेरो सोंच टुङ्गिएको थियो र मैले बुरियालाई फ्लोरेन्सको कुरा बताएँ । एउटा देशको फूलमति जहाँ कुनै किसिमको निकास र विकास छैन, त्यहाँ लाखौं फूलमतिहरु फुल्छन् र त्यसै ओइलिएर मुर्झिन्छन् र अर्को देशको फ्लोरेन्स जसले ४० नाघेपछि पनि बच्चाहरु जन्माउँछन् र ठाँटले चुरोटको सर्को तान्दै गड्डीमा बच्चाहरु गुडाउँदै मस्त जिन्दगी जिएका छन् ।