अर्बौं खर्च गर्न नागरिक उड्डयन प्राधिकरण असफल

अर्बौं खर्च गर्न नागरिक उड्डयन प्राधिकरण असफल


विमानस्थल पूर्वाधार विकास गर्ने जिम्मेवारी पाएको नागरिक उड्डयन प्राधिकरण अर्बौं खर्च गर्न असफल देखिएको छ ।

आर्थिक वर्ष ०७३/७४ मा कार्य सञ्चालनतर्फ ३ अर्बसहित २७ अर्ब पुँजीगत गरी ३० अर्ब ८३ करोड खर्च गर्ने उद्देश्य लिएको भएपनि यी दुवै शीर्षकमा ५ अर्ब ७८ करोड मात्रै  खर्च गरेको हो । पछिल्ला वर्ष प्राधिकरणमा पुँजीगत बजेट बढदो तर खर्च खुम्चिँदो अवस्थामा रहन पुगेको हो  ।

यसको मुख्य कारण प्राधिकरणको खर्च गर्ने क्षमता कमजोर हुनु हो । तर प्राधिकरणका कर्मचारीले भने खर्च नहुनुमा सरकारलाई दोष देखाउछन् । प्राधिकरणका एक अधिकारीले भने,‘क्षमता नहेरी, प्राधिकरणसँग समन्वय नै नगरी बजेट थोपरिन्छ, यी कारणले नै हामी पुँजीगत बजेट खर्च गर्न सक्ने अवस्थामा छैनौं ।’

प्राधिकरणका अधिकारीहरूले केही दिनअघि राष्ट्रिय योजना आयोगले गरेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पनि यही गुनासो गरेका थिए ।

महानिर्देशक संजीव गौतमले भर्खरै सकिएको आर्थिक वर्षमा प्राधिकरणले पुँजीगत खर्चका लागि २७ अर्ब ३५ करोड ४० लाख विनियोजन गरिएको तर यो शीर्षकको खर्च २ अर्ब ३४ करोड ७९ लाख हाराहारी मात्रै भएको सुनाए । त्यसैगरी उनले कार्य सञ्चालनतर्फ ३ अर्ब ४८ करोड ५४ लाख विनियोजन गरिएको थियो तर खर्च ४३ करोड ९६ लाख मात्रै भएको बताए ।

ठूला परियोजनामध्ये गएको वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारको काम रोकियो । प्राधिकरणले यहाँको ठेक्का लिएको स्पेनिस कम्पनी सानजोसेसँग ठेक्का सम्झौता रद्द गरेको थियो ।

प्राधिकरणले चालु वर्ष पुँजीगत खर्चतर्फ ३२ अर्ब ६५ करोड १३ लाख र कार्य सञ्चालनतर्फ ३ अर्ब ५३ करोड १५ लाख गरी ३६ अर्ब १८ करोड २८ लाख रुपैयाँ विनियोजन गरेको छ । यस वर्षको पहिलो चार महिनामा पनि कार्य सन्तोषजनक देखिएको छैन ।