निर्माण सामग्रीको मूल्यवृद्धि उच्च

निर्माण सामग्रीको मूल्यवृद्धि उच्च


निर्माण सामग्रीको मूल्यवृद्धि उच्च बन्दै गएको छ । बजारमा एक्कासि निर्माण सामग्रीको मूल्य उच्च बढेको हो ।
भारतबाट क्लिंकर, जिप्समलगायतका निर्माण सामग्रीको कच्चा पदार्थ आयात गर्दा रक्सौलमा अनलोड समस्या भइरहेका बेला नेपालमा निर्माण सामग्रीको मूल्यवृद्धि भएको छ ।

निर्माण क्षेत्रको सिजन शुरू हुनै लाग्दा भएको मूल्य वृद्धिले उपभोक्ता मात्र होइन खुद्रा विक्रेतासमेत मर्कामा परेका छन् । निर्माणकर्तासँग पहिले नै सहमति भई निर्माण सामग्री उपलब्ध गराउने सम्झौता भइसकेको अवस्थामा बिनाकारण एक्कासि मूल्यवृद्धि भएको खुद्रा व्यवसायीको गुनासो छ ।

उपभोक्ताले भने राजनीतिक परिवर्तन हुँदै गरेको अवस्थामा बजार अनुगमन नहुने र कमजोर सरकारी संयन्त्र रहेको फाइदा उठाउँदै विभिन्न वहाना बनाएर निर्माण सामग्रीको मूल्यवृद्धि गरिएको आरोप लगाएका छन् । तर, निर्माण सामग्री उत्पादकले भने विद्युत् आपूर्ति कम हुँदै गएको, इन्धनको मूल्य बढेका कारण ढुवानी खर्च पनि वृद्धि भएको र क्लिंकर आयातमा देखिएको समस्याले सिमेन्टको मूल्यवृद्धि भएको बताएका छन् ।

भारतबाट आयात हुँदै आएको क्लिंकर, जिप्समलगायत कच्चा सामग्री आयातमा देखिएको समस्या तथा उत्पादन र ढुवानी लागत बढ्नुले मूल्यवृद्धि गरेको कतिपय व्यवसायी बताउछन् । पछिल्लो समय इन्धनको मूल्य बढेका कारण सिमेन्ट ढुवानी लागतमात्र २० रुपियाँ प्रतिबोराको दरले बढेको थापाको भनाइ छ।

थापाका अनुसार हिउँद महिना निर्माण सामग्री विक्रीको सबैभन्दा उत्तम सिजन हो । यस समयमा सिमेन्टलगायत निर्माण सामग्रीको माग उच्च रहने हुँदा मूल्य पनि सोही अनुपातमा बढ्छ । अफसिजनमा विक्री बढाउन सिमेन्ट कम्पनीले विभिन्न छुट स्किम दिने गरेको र सो समयमा हुने घाटापूर्ति गर्न माग धेरै भएको समयमा मूल्य बढाउने गरिने गरेको सिमेन्ट व्यवसायी बताउछन् । यिनै कारण सिमेन्टको मूल्य हाल ४० देखि ५० रुपियाँ प्रतिबोराको दरले बढेको छ ।

यसैबीच, छड तथा सिमेन्ट उद्योगले बिना कारण मूल्यवृद्धि गरेको भन्दै रूपन्देहीका हार्डवेयर व्यवसायीले मूल्यवृद्धि नियन्त्रणको माग गरी शनिबारदेखि व्यवसाय नै बन्द गरी आन्दोलन गर्ने भएका छन् ।
छड तथा सिमेन्ट उद्योगले बिना कारण मूल्यवृद्धि गरेको भन्दै जिल्लाका हार्डवेयर व्यवसायीको संस्था रूपन्देही सिद्धार्थ निर्माण सामग्री व्यवसायी संघले पत्रकार सम्मेलन गरी अनिश्चितकालीन रूपमा व्यवसाय बन्द गर्ने निर्णय गरेका हुन् ।

जिल्लाका करिब १ हजार २ सय व्यवसायीले शनिबारदेखि व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।