केही दिनअघि अचानक उत्तरी सीमानाको यात्रा गरेर राजनीति तताएका एमाले अध्यक्ष केपी ओली त्यसपछि सार्वजनिक कार्यक्रममा खासै देखिएनन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट अग्रिम बधाई थापे पनि सत्तारोहणको मार्ग सहजै खुल्ने छाँटकाँट नदेखिएपछि उनी भित्रभित्रै प्रचण्डसँग राजनीतिक व्यवस्थापनको अन्तरक्रियामा लागेको चर्चा शुरु भयो । तर, प्रचण्डको बक्र-व्यवहारले त्यसमा पनि अडचन पैदा भएको बुझिँदै छ ।
यस क्रममा अध्यक्ष ओलीले धपेडीका कारण निवासमै आराम गर्ने र राजनीतिक छलफललाई पनि त्यहीँबाटै निरन्तरता दिने भन्ने सन्देश प्रवाहित गरियो । कतिपयले त्यतिबेलै उनको स्वास्थ्यमा समस्या आएको अनुमान नलगाएका होइनन् । नभन्दै आधिकारिक जानकारी दिइयो कि अध्यक्ष ओलीलाई कडा खालको डायरिया भएकोले निवासमै आराम र उपचार चलिरहेको छ !
अन्ततः अध्यक्ष ओली नियमित स्वास्थ्य जाँचको लागि बैंकक जाने भएका छन् । आगामी २६ गते बुधबार बैंकक जान लागेका ओलीको फर्कने दिन पनि तय भइसकेको छ । अर्थात्, पुस ३० गते उनको स्वदेश आगमन हुने छ ।
मृगौला प्रत्यारोपण गरिएका ओलीको नियमित स्वास्थ्यजाँच त चलिआएकै छ, यसर्थ यसमा अन्यथा सोचिरहनु आवश्यक छैन । तर, प्रचण्डसँग कुराकानी मिल्न नसक्दा एमाले माओवादी पार्टी एकीकरण प्रक्रियामै अवरोध पैदा भएको चर्चा चल्दै गर्दा हुन लागेको ओलीको बैंकक यात्रालाई थप रहश्यपूर्ण रुपमा लिइएको छ ।
नेपालमा राजनीतिक जटिलता उत्पन्न हुँदा त्यसको गाँठो फुकाउने काम प्रायः विदेशमै (खासगरी भारतमा) हुने गरे पनि हालको सन्दर्भमा ओलीले असहज मान्ने हुँदा बैंककलाई वार्ताको थलो तुल्याइन लागेको अनुमान कतिपयले गरेका छन् । अध्यक्ष ओलीको स्वास्थ्य परीक्षणका अलावा बैंककमा हुने राजनीतिक वार्तामा कुन-कुन पक्षको सहभगिता रहने र त्यसपछि वाम गठबन्धनको पार्टी-एकता प्रक्रिया तथा नयाँ सरकार गठनको मुद्दाले कुन मोड लिनेछ भन्ने सम्बन्धमा चाहिँ स्पष्ट खाका आइसकेको छैन । जहाँसम्म ‘हेल्थ फलोअप’को नियमित प्रक्रियाका निम्ति नेता ओली बैंकक जानुभएको भन्ने प्रष्टिकरण एमाले पार्टीका तर्फबाट सार्वजनिक गरिएको छ, यसभित्र थप केही न केही राजनीतिक उद्देश्य लुकेको राजनीतिक विश्लेषकहरुको ठहर छ ।
प्रतिक्रिया