हिमालयन हाइड्रो एक्स्पो २०१८ शुरु, जलविद्युत क्षेत्रमा लगानी बढाउन राष्ट्रपतिको आग्रह

हिमालयन हाइड्रो एक्स्पो २०१८ शुरु, जलविद्युत क्षेत्रमा लगानी बढाउन राष्ट्रपतिको आग्रह


राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धिको आधार जलविद्युत क्षेत्र भएकाले यसमा लगानी बढाउन सरकार र निजी क्षेत्रलाई आग्रह गरेकी छिन् । उनले दक्षिण एशियामा पहिलो विद्युत उत्पादन गर्ने मुलुक भएर पनि नेपाल पछाडि पर्नाका कारण खोजी गर्दै लगानी बढाउन सरोकारवाला निकायको ध्यानाकर्षण पनि गराएकी हुन् ।
.
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्स्पो २०१८ को शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ऊर्जा क्षेत्रको विकासबाट मात्रै मुलुकको समग्र आर्थिक क्षेत्रको विकास हुने भएकाले नयाँ प्रविधिको अन्वेषण गर्न, लगानी बढाउन र नीतिगत रुपमा कमीकमजोरी रहेको भए त्यसलाई सुधार गरेर जानसमेत अनुरोध गरिन् । उनले अपार जलस्रोतको सदुपयोग गर्नु सबैको भएको भन्दै ठूलो सम्भावना बोकेको यो क्षेत्रलाई प्रविधि, विधि र कार्यक्रममा समेटेर अगाडि बढाउन आवश्यक भएको बताउनुभयो । उनले यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढनु पर्ने पनि बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सन् २०३० सम्म विकसित मुलुक बनाउने लक्ष्य पूरा गर्न ऊर्जा क्षेत्रको विकास नै महत्वपूर्ण शर्त भएको बताइन् ।

तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा चीन, भारत, ब्राजिल, स्विडेन, इटली, दक्षिण कोरिया, नर्वेलगायतका मुलुकमा उत्पादन भएका जलविद्युत क्षेत्रका नवीनतम प्रविधि तथा उपकरण राखिएका छन् । प्रदर्शनीमा करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको आयोजक संस्थाले जानकारी दिएको छ ।