प्रधानाध्यापकलाई दुई करोड घोटालाको आरोप

प्रधानाध्यापकलाई दुई करोड घोटालाको आरोप


लहानस्थित पशुपति माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायलाई  दुई करोड घोटालाको आरोप लागेको छ ।

रायलाई विद्यालय परिसरमा ब्यापारिक भवन निर्माण गर्नको लागि उपभोक्तासँग उठाइएको रकम र सरकारबाट प्राप्त अनुदान रकम लिएर अनियमितता गरेको आरोप लागेको हो ।

निमित्त प्रधानाध्यापक रायले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन बनाउन उपभोक्तासँग लिएको एक करोड ३३ लाख रकम भवन निर्माण नगरी आफैंले खर्च गरेको, छात्रवृत्ति र पाठ्यपुस्तकका लागि सरकारबाट प्राप्त रकममा पनि अनियमितता गरेको भन्दै तीन वर्षअघि अख्तियारमा उजुरी परेको थियो ।

विद्यालयका स्रोत व्यक्ति कासिन्द्र यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार छानबिन गर्दा निमित्त प्रधानाध्यापक रायले अनियमितता गरेको पुष्टि भएकोे बताएका छन् । तर यसमा विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले भने रकम विद्यालय व्यवस्थापन समितिसँग अनुमति लिएर खर्च गरेको बताए ।

लहान–७ का वडाध्यक्ष राकेश गुप्ता रोशनले जनता र राज्यको रकम हिनामिना गर्नेउपर कारबाहीमा आलटाल नगर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । ‘रायको अनियमितता छर्लंगै छ । यो अनियमितता प्रकरण करिब चार वर्षदेखि दबाउँदै आइएको छ ।’ उनले भने, ‘रित पु-याएर छिटो कारबाही अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गर्छु ।’ उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम र सरकारबाट प्राप्त अनुदान अनियमितता गरेको छानबिनबाट खुलेको बताएका छन् ।

यसअघि विद्यालयमा भएको अनियमिताबारे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा उजुरी परेको थियो । उजुरीमाथि छानबिन गरी प्रतिवेदन पेस गर्न अख्तियार कार्यालयले शिक्षा कार्यालय सिरहालाई पत्र पठाएको थियो । शिक्षाले छानबिनसहित प्रतिवेदन पेस गर्न स्रोत व्यक्ति कासिन्द्रप्रसाद यादव र भोगेन्द्रप्रसाद यादवलाई तोकेको थियो ।

उजुरी छानबिनका क्रममा अख्तियारले शिक्षा कार्यालयमा पटकपटक पत्राचार गरेर प्रतिवेदन पेस गर्न अनुरोध गरेको थियो । अख्तियारकै कर्मचारी समेत स्थलगत अनुगमन गरेर गएको विद्यालयका शिक्षकहरु बताउँछन् ।