फागुन ७ यता नयाँ सरकार गठन नहुने

फागुन ७ यता नयाँ सरकार गठन नहुने


कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रजातन्त्र दिवस (फागुन ७ गते) पछि मात्र नयाँ सरकार गठन हुनसक्ने बताएका छन् । राजधानीमा आइतबार आयोजित एक साक्षात्कारमा उनले सकेसम्म प्रदेश प्रमुखको नियुक्ति सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट टुंगो लगाउन प्रयत्न हुने जानकारी दिए ।

प्रदेश राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतबाट छिनोफानो गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले सरकारले तत्काल कार्य सञ्चालन गर्न स्थान तोक्नसक्ने बताउँदै मन्त्री थापाले प्रदेश प्रमुखको अपरिहार्यलाई सबैले स्वीकार गरेको हुँदा सरकारले समाजका विभिन्न क्षेत्रमा ख्याति पाएका व्यक्तिलाई नियुक्त गर्ने तयारी गरिरहेको बताए ।

प्रदेश प्रमुख र प्रदेशको तत्काल कार्य सञ्चालन गर्ने स्थानका बारेमा मतैक्यता कायम गर्न सहमतिका लागि गरेको प्रयास सफल नभए पनि सरकारले राजनीतिक दलको भावनालाई बुझेर अघि बढ्ने मन्त्री थापाले प्रतिबद्धता व्यक्त गरे ।