प्रचण्ड-ओली बालकोट-वार्ता कति सार्थक ?

प्रचण्ड-ओली बालकोट-वार्ता कति सार्थक ?


नियमित स्वास्थ्य परीक्षणका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आगामी बुधबार बैंकक प्रस्थान गर्ने तय भएपछि केही दिनदेखि अवरुद्ध रहेको प्रचण्ड-ओली भेटवार्ता भएको छ । अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज साँझ ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।

आइतबार साँझ भएको करिब डेढ घण्टा भएको प्रचण्ड-ओलीबीच भेटवार्तामा पार्टी एकतालाई कसरी निष्कर्षमा पु¥याउने भन्ने र नयाँ सरकार निर्माण एवं राष्ट्रियसभा गठनबारे गम्भीर छलफल भएको बताइएको छ ।

आजको भेटपछि सोमबार पुनः आ-आफ्नो पार्टीभित्र छलफल गरेर मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको प्रचण्डले बताए । उनले पार्टी एकता संयोजन समितिबाट पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगोमा पु¥याउनका लागि वैचारिक, राजनीतिक काम र सांगठनिक काम दुईवटै गर्नका निम्ति एउटा टिम बनाएर जिम्मा दिने र केही दिनभित्र पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउनेबारे दुई अध्यक्षबीच सहमति भएको दाबी गरेका छन् ।

प्रचण्डको दाबी यस्तो रहेपनि विश्लेषकहरुले एमाले-माओवादी एकताको सम्भावना अत्यन्त झिनो रहेको विश्लेषण गर्दै आएका छन् । आज भएको ओली-प्रचण्ड भेटवार्ता पनि दुनियाँको आँखामा छारो हाल्नका निम्ति मात्र भएको उनीहरुको ठहर छ । तथापि, अध्यक्ष ओलीको अनुपस्थितिमा पनि दुई पार्टी एकताको नाममा दुवै दलका नेताहरुको छलफल भने विभिन्न तहमा जारी रहने बुझिएको छ ।