लमजुङ प्रदेश ‘ख’ बाट निर्वाचित एवं एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले एमाले र माओवादी केन्द्र फुटाउन कांग्रेस लगायत देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् ।
कांग्रेस सत्ता लम्ब्याउने नाउँमा बाम गठबन्धन टुटाउने र फुटाउने योजनामा लागेको आरोप लगाए । बाम गठबन्धन फुटाउने प्रयास कांग्रेसको दिवासप्नमात्रै भएको उनले बताए । लमजुङको मध्यनेपाल नगरपालिका २, पराजुलीटारमा आयोजित सांसद बधाई तथा शुभकामना प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनमतको अपमान गर्दै कांग्रेस सत्तामा टाँसिरहनुको कुनै अर्थ नरहेको बताए ।
कांग्रेस नेतृत्वको सरकार कामचलाउ भइसकेकाले राष्ट्रिय महत्वका नियुक्ति गर्न नमिल्ने बताए । उनले केन्द्र र प्रदेश दुवैमा बामपन्थी सरकार निर्माण हुने बताए । प्रदेश नं. ४ को भावी मुख्यमन्त्रीको रुपमा हेरिएका उनले ७ वटै प्रदेशमा बामपन्थी नेतृत्वमा बहुमतको सरकार बन्ने उनले बताए ।
एमाले र माओवादी केन्द्रको संयुक्त सरकार हुने र पार्टी एकता पनि हुने भएकाले त्यसमा कुनै शंका नगर्न उनले आग्रह गरे । नागरिकले पार्टी एकता वा बामपन्थीको एउटै कम्युनिष्ट पार्टी बनाउन नागरिकले मतदान गरेको र जनताले अनुमोदन गरिसकेको बताए ।
एउटै घोषणापत्रभित्र रहेर चुनावमा गएको र जनताले पत्याएको भन्दै अब जनताको चाहना बमोजिम काम गर्ने प्रतिवद्धता जनाए । एमाले केन्द्रीय सदस्य एवं समानुपातिक सांसद मायानाथ अधिकारीले जनताको चाहना अनुसार काम गर्ने बताए । अवको एउटै उद्देश्य विकास र समृद्धि भएकाले यसतर्फ अघि बढ्ने उनले बताए । लमजुङ प्रदेश ‘क’ बाट निर्वाचित सांसद धनञ्जय दवाडीले दीगो विकास र आर्थिक समृद्धिका लागि बामपन्थी सरकारको विकल्प नभएको बताए ।
प्रतिक्रिया