मिदिम करापुमा ३ करोड माग्दै एमाले कार्यकर्ताद्धारा तोडफोड

मिदिम करापुमा ३ करोड माग्दै एमाले कार्यकर्ताद्धारा तोडफोड


लमजुङको मिदिम करिडोरमा निर्माण सम्पन्न ३ मेगावाट क्षमताको मिदिम करापु जलविद्युत आयोजनामा स्थानिय युवाहरुले तोडफोड गर्दा ७५ लाख बरबारको क्षति हुन पुगेको छ । आयोजनासँग ३ करोड रकम माग गरेका स्थानिय युवाहरुले रकम नपाएपछि तोडफोड गरेका हुन ।

प्रवद्र्धक कम्पनीले गत मंगलबार साँझ बिजुली उत्पादन गरी परीक्षण थालेको थियो । कम्पनीले २ साताभित्रै पुरा क्षमतामा विद्युत उत्पादन गरी प्रसारण लाइनमा पठाउने योजना बनाएपनि स्थानिय युवाका कारण त्यो कार्य भने सफल हुन नपाएको आयोजनाले जनाएको छ ।

रकम माग गरका युवाहरुले गुण्डागर्दी शैलीमा आएर आयोजनाको बाँध क्षेत्र, विद्युत गृह र आवास क्षेत्रमा तोडफोड गरी करिब ७५ लाख बराबरको क्षति पु¥याएका छन् । यसका साथै युवाहरुले आयोजना प्रभावित क्षेत्रमा सडक, खानेपानी, विद्यालय, अस्पताललगायत संरचना निर्माण गर्नुपर्ने भन्दै तोडफोड गरेको आयोजनाले जनाएको छ ।

तोडफोडमा मध्यनेपाल नगरपालिका डडुवका ललिन गुरुङ र हस्तबहादुर गुरुङको समूह रहेको आयोजनाले दाबी गरेको छ । यी व्यक्ति स्थानीय वा प्रभावित क्षेत्रका नभएको पनि आयोजनाको भनाइ छ । पोखरा बसेर गुण्डागर्दीमा संलग्न व्यक्ति परिचालित भएर आयोजनामा क्षति पु¥याएको तथ्य बाहिर आएको छ । उनिहरु नेकपा एमालेमा आवद्ध रहेको बुझिएको छ । आयोजनाले आफ्नो निर्माण अवधीभर प्रभावित स्थानहरुमा काम गर्दै आएपनि युवाहरुल रकम माग गरेकोले तोडफोड भएको हो ।

जिल्ला नेता सहमति गर्ने, स्थानिय नेता उल्लंघन गर्दै
लमजुङको जलविद्युत आयोजनामा कुनैपनि बन्द, हडताल र तोडफोड नगर्ने भन्दै जिल्लास्थित राजनैतिक दलहरुले सहमति समेत गरेका छन् । दलहरुले लिखित सहमति गर्दै कुनै दलका कार्यकर्ता वा नेताले जलविद्युत आयोजनामा बन्द हडतालजस्ता गतिबिधि गरेमा संरक्षण नगर्ने भन्दै एक आपसमा सहमति गरेका छन् । तर तिनै सहमति गर्ने दलका कार्यकर्ताहरु नै खुलेआम यसरी तोडफोडमा संलग्न भएका छन् । यसअघि जिल्लाको जलविद्युत क्षेत्रमा देशी विदेशी लगानी ल्याएर लगानीमैत्री वातावरणको विकास गर्ने र जिल्लालाई जलविद्युतको मोडल जिल्ला बनाउने भनिएपनि दलका कार्यकर्ताका कारण सोको कार्यन्वयनमा समस्या पैदा भएको छ ।

प्रशासन किन मौन ?
जिल्लामा करोडौं लगानीको जलविद्युत आयोजनामाथि दिनदहाडै यसरी तोडफोड हुँदा लमजुङ प्रशासन रमिते बनेको प्रष्ट रुपमा देखिएको छ । प्रशासनले तोडफोडमा संलग्न भएकालाई पनि छाडेको आयोजनाले गुनासो गरेको छ । यसअघिका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुले जलविद्युत आयोजनामा तोडफोड गर्ने र बन्दहडात जस्ता गतिविधी गर्नेलाई सार्बजनिक मुद्धा लगाएर कारबाही गर्ने गरेपनि पछिल्लो समय भने त्यसो हुन नसकेको प्रवद्र्धकहरु बताउँछन् ।