एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न बनेको संयोजन समितिको बैठकले राष्ट्रियसभा निर्वाचन तथा प्रदेशसभा र प्रदेश सरकार गठनका लागि ६ सदस्यीय कार्यदल बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको बैठकले सो कार्यदल बनाएको हो ।
एमाले नेता वामदेव गौतमलाई उद्धृत गर्दै राससले जनाएअनुसार कार्यदलमा एमालेबाट नेता सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादी केन्द्रबाट नेता रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छानिएका छन् । बताइएअनुसार राष्ट्रियसभा निर्वाचन तथा प्रदेशसभा र प्रदेश सरकार गठनका बारेमा पनि कार्यदलले काम गर्नेछ ।
पार्टी एकताको विषयमा कुनै शंका नगर्न आग्रह गर्दै एमाले नेता गौतमले एकतामा कुनै विवाद र विमति नरहेकाले छिट्टै पार्टी एकतालाई टुङ्गोमा पु¥याउने निष्कर्षसमेत बैठकले निकालेको जानकारी दिए । आजको बैठकमा अत्यन्त गम्भीरताका साथ छलफल गरिएको दाबी गर्दै उनले पार्टी एकता हुँदैन कि भन्ने कल्पना पनि नगर्न कार्यकर्तालाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले पार्टी एकताका लागि सांगठानिक र सैद्धान्तिक विषयको टुंगो लगाउन बेग्लै कार्यदल बनाउने भनिए पनि त्यसको तय गर्न नसकेको बुझिएको छ ।
मंगलबारको बैठकले निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरणका लागि आवश्यक न्यूनतम संवैधानिक र कानूनी प्रक्रिया पूरा गर्ने र दैनिक कार्यसञ्चालन बाहेक अन्य निर्णय नगर्न र संवैधानिक अधिकार प्रयोग गर्दै प्रदेशको अस्थायी राजधानी अनि प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गरेको छ ।

तस्बिर रासस
प्रतिक्रिया