अब विराटनगरबाट पनि गोरखापत्र प्रकाशित हुने

अब विराटनगरबाट पनि गोरखापत्र प्रकाशित हुने


सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आगामी वैशाख महिनाभित्र गोरखापत्र विराटनगरबाट प्रकाशित हुने बताएका छन् । गोरखापत्र दैनिकका प्रदेश नं १ र २ का समाचारदाताका लागि मंगलबार विराटनगरमा आयोजित एकदिने अनुशिक्षण कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

गोरखापत्र दैनिकको स्थापना दिवस वैशाख २४ गतेको अवसर पारेर विराटनगरबाट पत्रिका प्रकाशित गर्न मन्त्री बस्नेतले सम्बन्धितलाई निर्देशन दिए । उनले गोरखापत्रलाई ग्रामीण क्षेत्रका जनतासम्मको पहुँच पु¥याउनुपर्नेमा जोड दिँदै विराटनगरबाट प्रकाशन भएपछि पत्रिकाको बिक्री वितरणमा अझ सुधार हुने विश्वास व्यक्त गरे ।

नेपालको पत्रकारिताको विकासमा लामो इतिहास बोकेको गोरखापत्रको विकासका लागि सरकारले जस्तोसुकै सहयोग प्रदान गर्न तयार रहेको बताउँदै उनले संस्थानले आफ्नो कार्यलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनुपर्नेमा जोड दिए भने व्यवस्थापन सुधार गरेर मुलुकभरि रहेका समाचारदाताको संयुक्त प्रयासबाट पत्रिकाको ख्याति बढाउने कार्यमा अघि बढ्न समेत आग्रह गरे ।

कार्यक्रममा संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायले ‘पेपरलेस न्युज डेक्स’, ‘इ–पेपर’लगायत आधुनिक सञ्चारका प्रविधिबाट गोरखापत्रको विकास गरिने जानकारी दिए भने गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक श्रीधर आचार्यले स्थानीय समाचारदाताले उच्च आत्मबल र जिम्मेवारीका साथ काम गर्न आग्रह गरे । यस्तै, संस्थानका अध्यक्ष गोविन्द पोखरेलले संस्थानको विकासका लागि सहकार्य गरेर अघि बढ्न समाचारदातालाई आग्रह गरे ।

सो अवसरमा प्रदेश नं १ र २ का विभिन्न जिल्लाबाट सहभागी समाचारदाताले पेशागत सुरक्षा र सुविधाको व्यवस्था गर्न व्यवस्थापनसँग माग गरेका थिए । उक्त कार्यक्रममा प्रदेश नं १ र २ का २७ जना समाचारदाताको सहभागिता रहेको थियो ।