बयानका क्रममा केसी झनै अराजक, एमाले पक्ष मौन रहन खोजेको आभास

बयानका क्रममा केसी झनै अराजक, एमाले पक्ष मौन रहन खोजेको आभास


न्यायालयको मानहानि गरेको आरोपमा पक्राउ परेका अनशनकारी डा. गोविन्द केसीले अदालतमा बयानका क्रममा समेत आपत्तिजनक अभिव्यक्ति दिएका छन् । गत सोमबार एक पत्रकार सम्मेलन गरी डा. केसीले ‘हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरूसित मिलेमतो गरेर तिनीहरूको संरक्षण गर्ने तथा इमानदारहरूलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ’ भनी आफ्नो विज्ञप्तिमा उल्लेख गरेका थिए । विज्ञप्तिमा उनले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अपमानजनक शब्द प्रकट गर्दै राजीनामासमेत मागेका थिए ।

यसरी न्यायालयविरुद्ध आपत्तिजनक शब्द प्रकट गरेकोले सोमबार सर्वोच्च अदालतले गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे न्यायालयमा उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेशलगत्तै प्रहरीले डा. केसीलाई अनशनस्थल शिक्षण अस्पताल महाराजगञ्जबाट नियन्त्रणमा लिएको थियो । मंगलबार अदालतमा उपस्थित गराएर बयान लिने क्रममा डा. केसीले झनै आपत्तिजक अभिव्यक्ति दिएका छन् । आफ्नो अघिल्लो दिनको अभिव्यक्तिका लागि माफी माग्ने अपेक्षा गरेका न्यायमूर्तिहरू केसीको बयानबाट स्तब्ध बनेको बुझिएको छ ।

बयानले न्यायालयले केसीबारे पुनर्विचार गरिने सम्भावनाको अन्त्य गरिदिएको छ, अदालत अब पछि हट्नै नमिल्ने स्थितिमा पुगेको बुझिएको छ । अदालतको अवहेलना गरेको कसूर ठहर भएमा केसीलाई दश हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । सोमबार बयान सकिएपछि डा. केसीलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । केसीले दिएको एघारबुँदे बयान कनकमणि दीक्षितद्वारा सञ्चालित एक अनलाइन पत्रिकाले मंगलबार नै सार्वजनिक गरेको छ । यसरी केसीको बयान सार्वजनिक सञ्चारमाध्यमबाट प्रकाशित हुनुलाई न्यायालयले थप आपत्तिजनक मानेको छ । बयान सार्वजनिक भएको विषयसमेत न्यायालयले नोटिसमा लिएको छ ।

केसीको मुद्दामा बुधबार (पुस २६ गते) देखि बहस सुरु हुने भएको छ । बहसमा केसीका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सुरेन्द्र भण्डारी, एकनारायण भण्डारी, दिनेश त्रिपाठी र ओमप्रकाश अर्याललगायतले भाग लिने भएका छन् भने केसीको विपक्षबाट वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, कुमार रेग्मी, प्रकाश केसी, श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू माधव बस्नेत र लक्ष्मण थपलियालगायतले बहसमा भाग लिने भएका छन् । बहसमा एमालेनिकट भनेर चिनिएका कुनै पनि कानुन व्यवसायीले सहभागिता जनाएका छैनन् । यस प्रकरणमा एमाले पक्ष मौन रहन खोजेको पाइएको छ । बुधबार सुरु हुने बहस समाप्त भएपछि निर्णय सुनाइने निश्चित छ, तर केसीलाई कुन स्तरको सजाय सुनाइने हो सो भने प्रतीक्षाको विषय बनेको छ ।