कति बन्छौ गोटी ? कति गर्छौ बलात्कार ??

कति बन्छौ गोटी ? कति गर्छौ बलात्कार ??


(डा. युवराज सङ्ग्रौला, फेसबुकमा)

देशलाई ४० अर्बको निर्वाचन र त्यसका आडमा गरिएको भ्रष्टाचारले त डसेकै छ । निर्वाचनको परिणाम नै प्रकाशित नगरी लोकतन्त्र र राष्ट्रको स्वाधीनतामाथि खुलेआम खेल हुन थालेको छ । यस्तो अवस्थामा केही कुरा कथित ठूला–साना नेताले बुझुन् ।

१. के अहिले प्रदेशको राजधानीका लागि लड्ने बेला हो ? देशलाई विभाजित गर्ने बेला हो अहिले ? कति बन्छौ विदेशीका गोटी ? लाज लाग्दैन तिमीहरूलाई ? कति बलात्कार गर्छौ मातृभूमिको ? मानिस हौ वा पशु ?

२. देश टुक्राटुक्रा पार्न, धर्मका नाममा विभाजित गर्न, जातिका नाममा विभाजित गर्न विदेशीहरू दिनरात लागिरहेका छन् । देशै नरहे कहाँ बनाउँछौ राजधानी ? गरिबले भात खान पाउने, पीडितले न्याय पाउने, घरविहीनले घर कसरी पाउँछन् भनेर सोच्दा तिम्रा दिमागमा किरा पर्छन् ?

३. अस्थायी राजधानी तोक्ने हो अहिले । कति धेरै घोर प्रतिक्रियावादी हुनुपर्ने ? कति सङ्कुचित हुनुपर्ने ? देश नरहे कहाँबाट हुन्छौ सांसद ? ठूलो मन बनाएर देशको हितमा काम गर्नुहुँदैन ? तिमीहरूले पढेको माक्र्सवाद, लेनिनवाद र उदारवाद यति धेरै फोहोरी विद्या हो ? गरिबको पसिना र रगत लुटेर गाडी चढेका छौ, ठेक्कामा कमिसन खाएर आलिशान घर बनाएका छौ, हरेक मिनेट राष्ट्र लुटेका छौ । यतिले नपुगेर राजधानीका नाममा देश जलाउनुपर्ने ? धनकुटा र धरानका नाममा, बुटवल र दाङका नाममा, दिपायल र सुर्खेतका नाममा, डोटी र डडेलधुराका नाममा लडेर विदेशीका दास, गोटी र मोहरा बनेको देख्ने अलिकति पनि बुद्धि–विवेक नभएका मूर्खका हातमा देश छोड्न विवश जनताको धैर्यताको परीक्षा नगर । कहिले मधेस र पहाडका नाममा कहिले खस र मङ्गोलका नाममा देश बर्बाद नगर मूर्ख हो । घरै रहेन भने कोठा र खाट पनि रहँदैन ।

देश टुक्रा–टुक्रा पार्न मद्दत नगर फोहोरी हो आन्दोलनका नाममा । राजधानीका नाममा राष्ट्रको नाक नकाट । प्रजातन्त्रको नाम जप्ने, सत्ता नछोड्ने, राष्ट्रको कोष समाप्त पार्ने, वामएकताका कुरा गर्ने आफ्नो पदको मात्र मतलबी कुरा गर्ने, अनि नेपाली नागरिकता बोकेर पञ्चायतले बनाइदिएको जिल्लाको समर्थनमा देश जलाउनेहरू जनता र देशका शुभचिन्तक हुन सक्छन् ? यस्ता राष्ट्रद्रोहीहरूको पर्दाफास गरौँ । अहिले देशलाई शान्ति र विकास चाहिएको छ । तिम्रो सङ्कीर्ण जिल्लावाद होइन ।

प्रचण्ड र ओलीले अब आराम गर्नुपर्छ

केपी ओलीको स्वास्थ्य अब हामी सबैको चासो, चिन्ता र सरोकारको विषय हो । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र नयाँ सँविधानबमोजिम भएको चुनावमा वाम गठबन्धनलाई भारी बहुमत दिलाएर स्थिरता सुनिश्चित गर्न ओली कमरेडको भूमिका उच्च छ । यसका लागि उहाँलाई राष्ट्रिय अभिनन्दन गर्नुपर्छ । उहाँको स्थान अब नेल्सन मण्डेलासरह भइसकेको छ । अब उहाँमाथि यो देश, एमाले पार्टी र आमजनताले थप अन्याय गर्नुहुन्न । उहाँलाई अब आराम गर्न दिनुपर्छ । यो उमेर र अवस्था भनेको सत्ता र शक्तिको छिनाझपटीमा लाग्ने र ज्यानलाई धपेडीमा पार्ने हुँदै होइन । किडनी फेर्नुभएका ओली कमरेडको शरीरमाथि घोर अन्याय गरेर फेरि पनि उहाँलाई काममा भिडाउनुहुँदैन । उहाँले बालकोटमै आराम गरेर बस्न पाउनुपर्छ । अब वाम गठबन्धनको वागडोर नयाँ पुस्ताले सम्हाल्नुपर्छ । प्रचण्डजी पनि चितवनतिरै यो जाडोमा घाम तापेर बस्नु उपयुक्त होला । योगेश भट्टराईले भनेझैँ दुवै नेताले अब नयाँ पुस्तालाई नेतृत्व सुम्पनुपर्छ ।

(कुसुम भट्टराई, फेसबुकमा)