जाँदाजाँदै ओलीले भने,‘१५ दिन भित्रै पार्टी एकता हुन्छ’

जाँदाजाँदै ओलीले भने,‘१५ दिन भित्रै पार्टी एकता हुन्छ’


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू थाइल्याण्डबाट फर्केपछि नेकपा माओवादी केन्द्रसँग अबको १५ दिन भित्रै पार्टी एकता हुने बताएका छन् ।

उपचारका लागि बुधबार थाइल्याण्ड जानुअघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रसँग १५ दिनभित्र एकता हुने दावी गरे ।

वामपन्थी पार्टीहरुबीच एकता हुन नदिन अनेक षड्यन्त्र भइरहेको भन्दै ओलीले त्यसलाई असफल पारेर एकता गरि छाड्ने बताए ।

‘बैंककबाट फर्केलगत्तै पार्टी एकताका लागि काम गर्छौ । हाम्रो एकताबाट आत्तिएका तर्सिएकाहरु अरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेका छन’ उनले भने ‘केही प्रतिक्रियावादी प्रयास सफल हुँदैनन् । पार्टी एकता सफल हुन्छ ।’

पार्टी एकता हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष बन्ने हो भनी पत्रकारले सोधेको प्रश्नमा ओलीले भने ‘१५ दिनमा एकता गर्दैछौं । अहिले नै किन हतार गर्ने ?’ नियमित स्वास्थ्य परीक्षणका क्रममा बुधबार थाइल्याण्डको बैंकक गएका ओली एक हप्तापछि फर्किने कार्यक्रम रहेको छ ।

अहिलेको सरकारले जनताको अभिमतको अवमूल्यन गरिरहेको भन्दै ओलीले सत्ता हस्तान्तरणमा ढिलाइ गर्न नहुने बताए ।

‘जुन प्रयोजनका लागि चुनाव ग-यौं अहिले त्यही हुन सकेन । अनेक प्रपञ्च रचेर जनताको अभिमतको अवमूल्यन भइरहेको छ’ उनले भने । राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको समय १५ दिन दिएर अलमल्याउने प्रपञ्च भएको ओलीले बताए ।

अहिले निर्वाचन आयोग पनि अहिले ब्ल्याकमेलिङको शिकार भएको ओलीको आरोप छ । उनको साथमा पत्नी राधिका शाक्य र सहयोगी राजेश बज्राचार्य पनि थाइल्याण्ड गएका छन् ।

ओलीलाई विदाई गर्न एमाले नेताहरु वामदेव गौतम, ईश्वर पोरखेरल र सुवास नेम्बाङ लगायतका नेताहरु एयरपोर्टमा पुगेका थिए । अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनेछन् ।

मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनी बैंकक गएका हुन् । स्वास्थ्य परीक्षण गराई उनी माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।