संविधान, विधि र कानुन सबैले मान्नुपर्छ : नेका प्रवक्ता शर्मा

संविधान, विधि र कानुन सबैले मान्नुपर्छ : नेका प्रवक्ता शर्मा


नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले हरेक नागरिकले संविधान, कानून र विधिको शासनलाई पूर्ण रुपमा पालना गर्नुपर्ने बताएका छन् । प्रधानन्यायाधीशविरुद्ध अपमानजनक अभिव्यक्ति दिएर प्रहरी नियन्त्रणमा रहेका चिकित्सक गोविन्द केसीसम्बन्धित जिज्ञासाको जवाफमा प्रवक्ता शर्माले कसैले पनि आवेगमा होइन विवेकले निर्णय गर्नुपर्ने बताए । सबै नेपालीले संविधान, विधिको शासन र कानूनको सम्मान गर्नुपर्ने उनको धारणा थियो ।

पार्टी प्रवक्ताको जिम्मेवारी पाएपछि पहिलो पटक सञ्चारकर्मीहरुसँग कांग्रेसको पार्टी मुख्यालय सानेपामा बुधबार साक्षात्कार गर्दै प्रवक्ता शर्माले संवैधानिक सर्वोच्चताको पक्षमा कांग्रेस रहेकोमा जोड दिए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक छिटो बलाउन केन्द्रीय सदस्यहरूले दिइरहेको दवावका बारेमा पार्टी सभापति शेरबहादुर देउवा जानकार रहेको शर्माको भनाई थियो । निर्वाचनमा पार्टीको हारका विषयमा समीक्षा गर्न बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठकका बारेमा पार्टी सभापति शेरबहादुर देउवा चिन्तित हुनुहुन्छ भन्दै उनले राष्ट्रिय सभाको निर्वाचन सकेर नयाँ सरकारलाई सत्ता हस्तान्तर गर्नुपर्ने राष्ट्रिय कार्यभार रहेकाले पार्टीको बैठक बस्न नसकेको प्रस्टिकरण दिए । अब कांग्रेसलाई नयाँ विचारका साथ अगाडि बढाइने पनि उनले बताए ।