नेपाल ग्रामीण विकास बैंकले नाम परिर्वतन गर्ने

नेपाल ग्रामीण विकास बैंकले नाम परिर्वतन गर्ने


– चन्द्रकान्त खनाल

नेपाल ग्रामीण विकास बैंक लि.को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा बसेको सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७३/०७४ को लेखा परिक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह तथा अन्य वित्तीय विवरण पारित गरेको छ ।

साथै, सभाले संस्थाको नाम परिवर्तन लगायत प्रवन्धपत्र तथा नियमावलीका विभिन्न दफा, उपदफा संशोेधनको विषेश प्रस्तावसमेत पारित गरेको छ । बैंकको वित्तीय विवरणअनुसार आ.व. २०७३÷०७४ मा बैंकले २२ करोड २४ लाख ९७ हजार सञ्चालन मुनाफा (कर तथा वोनस अघिको) गर्न सफल भएको छ ।
यस राष्ट्रिय स्तरको लघुवित्त विकास बैंकमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरु एवं सर्वसाधारणहरुको शेयर स्वामित्व रहेको छ । बैंकको चुक्ता पूँजी हाल ६५ करोड ५० लाख रहेको जनाएको छ ।

यस बैंकले चालू आर्थिक वर्ष २०७४÷०७५ को असोज मसान्तसम्ममा ५७ जिल्लाका ३५६ स्थानीय निकायहरूमा १ सय ९४ वटा कार्यालयहरु स्थापना गरी २ लाख ११ हजार ४ सय ९१ ग्राहक सदस्य र १ लाख ३५ हजार ४ सय ५२ ऋणी सदस्यहरुलाई विभिन्न प्रकारका लघुकर्जा प्रदान गरी उनीहरुको आर्थिक तथा सामाजिक अवस्था सुधार को काम लाई अघि बढाएको वताइएको छ ।

२०७४ आषाढ मसान्तसम्म यस बैंकको कुल लगानीमा रहेको बाकी कर्जा रु. ७ अर्ब ७२ करोड २९ लाख ६९ हजार र बचत परिचालन रु. २ अर्ब २५ करोड ५८ लाख ३७ हजार रहेकोमा चालू आ.व.को २०७४ असोज मसान्त सम्ममा बैंकको कुल लगानीमा रहेको बाकी कर्जा ८ अर्ब ४ करोड २० लाख ३७ हजार र बचत रकम रु. २ अर्ब ३६ करोड ४८ लाख ५४ हजार पुगेको वैकले जनाएको छ ।

बैंकले लक्षित वर्गका महिला सदस्यहरुलाई समूहमा आवद्ध गराई लघु व्यवसाय तथा लघुउद्यम परियोजनाहरु सञ्चालन गरी स्व–रोजगारीको अवसर सिर्जना गर्न विना धितो सामूहिक जमानीमा लघु कर्जा प्रदान गर्दै आइरहेको छ ।साधारण सभामा शेयरधनीहरुले उठाएका विभिन्न जिज्ञासाहरुका सम्बन्धमा सञ्चालक समितिका अध्यक्ष शाक्य र बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले जवाफ दिएका थिए ।

मिसन डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने

बुटवलमा प्रधान कार्यालय रहेको मिसन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष सूर्यबहादुर रानाको अध्यक्षता, कम्पनी सचिव विष्णुप्रसाद पोखरेलको सञ्चालन र तिलोत्तमा नगरपालिका नगर प्रमुख वासुदेव घिमिरेको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।

सभामा बैंकका अध्यक्ष सुर्यबहादुर रानाले सञ्चालक समितिको तर्फबाट तयार गरिएको आ.व.२०७३÷७४ को अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शेयरधनीहरुको तर्फबाट सोधिएका जिज्ञासाहरुलाई अध्यक्ष राना र प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद घिमिरेले प्रष्ट पारेका थिए । बैंकले आ.व.२०७३/७४ मा १२ करोड ७६ लाख ३ हजार सञ्चालन मुनाफा आर्जन गरेको त्यस अवसरमा जानकारी दिइएको छ ।

त्यसैगरी उक्त अवधिमा बैंकले २ अरब ७५ करोड १३ लाख निक्षेप संकलन गरी २ अरब ३९ करोड ५५ लाख कर्जा प्रवाह गरेको कुरा बैंकको आठौं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साधारण सभामा बैंकले हाल कायम रहेको चुक्ता पूँजी ४३ करोड २७ लाख ३३ हजार ५ सयको २० प्रतिशतले हुन आउने रकम ८ करोड ६५ लाख ४६ हजार ७ सय तथा सोको कर प्रयोजनको लागि हुन आउने रकम ४५ लाख ५५ हजार ८९ रुपैयाँ ४७ पैसा प्रस्तावित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।