जन्मदिनमा दृष्टिविहीनलाई चर्पी उपहार

जन्मदिनमा दृष्टिविहीनलाई चर्पी उपहार


– रेजिना गौतम

झापा, बाँसबारी गाउँपालिका–१ का आगमन कटुवालले आफ्नो जन्म दिनको अवसरमा एक दृष्टिविहीनलाई चर्पी उपहार दिए । गाउँलाई खुल्ला दिसामुक्त अभियान चलिरहेका बेला गत पुस २ गते जन्मदिन परेका आगमनले आफ्नै गाउँमा कमजोर आर्थिक अवस्था भएका दृष्टिविहीनलाई शौचालय दिन आमा–बुबासँग माग गरे । छोराको मागलाई आमा र बुबा केदार कटुवालले सहर्ष स्वीकार गर्दै छोराको इच्छाबमोजिम आगमनको बुबा केदार कटुवालले दृष्टिविहीन बज्रबहादुर कार्कीलाई शौचालयका लागि निर्माण सामग्री प्रदान गरे ।

कटुवालले सामान लैजाउ भनेर मात्र छाडेनन्, घरसम्म सामान पु¥याउन आफ्नै गाडी पनि दिए । जन्मदिनमा शौचालय बनाउने सामान उपहार पाउँदा आफूलाई औधी खुशी लागेको बज्रबहादुरले बताए । उनले भने, ‘सामान नपाएको भए चर्पी बनाउने अवस्थै थिएन ।’

शौचालय बनाउ भन्दै पटक–पटक अभियान्ता आए पनि आफ्नो शारीरिक र आर्थिक दुवै पाटोबाट चर्पी बनाउन असमर्थ रहेको जनाउँदै आएका बज्रबहादुरलाई कटुवालले प्रदान गरेका सामग्रीले हौसला प्रदान ग¥यो । र, उनी चर्पी बनाउन जुटे । दुवै आँखा देख्न नसक्ने बज्रबहादुरले चर्पी निर्माणका लागि खाल्डो आफैं खने, बाँसका झ्याङमा बाँस काट्न सहारा अरुलाई मागे । आफैं बाँस ल्याए, फुटाएर भाडा तयार पारे, बाराबेरा पनि आफैं गरे । उनले भने, ‘जम्मा तीन दिन लाग्यो ।’ रिङ राख्न एक्लै आँट नआएपछि छिमेकी गुहारे । कार्कीले भने, ‘सत्तरी वर्षकी आमा छन्, सानी छोरी छ, खान खोज्नुपर्छ भने चर्पी कसरी बनाउनु, सम्भावना नै थिएन ।’

बज्रबहादुर यसअघि छिमेकीको चर्पी प्रयोग गर्दै आएका थिए । अब आफ्नै घरमा बनाएको चर्पीमा दिसा–पिसाब गर्न पाउँदा औधी खुशी लागेको बज्रले बताए । उनले भने, ‘अलिकति सक्न बाँकी छ, अब दुई-तीन दिनमा सकिहाल्छु, अनि त आफैंले आफ्नै घरमा बनाएको चर्पीमा दिसा–पिसाब गर्न पाइन्छ ।’ पूर्वी नेपालमा धनकुटामा जन्मिएका बज्रबहादुर जन्मदै दृष्टिविहीन भने होइनन् ।

बाल्यकालमै पहाडबाट झरेका उनको ११ वर्षको हुँदा एउटा आँखामा फुलो प¥यो । आँखामा परेको फुलो झार्न झारफुक गर्नेको भर पर्दा दुवै आँखाको दृष्टि गुमाउनु प¥यो । ४६ वर्षीय कार्कीले भने, ‘मरिच पिसेर, धुलो आँखामा हालिदियो, आँखा त प्याट्टै फुट्यो ।’ ती झारफुकवालाले दुई मन धान र ५ सय रुपैयाँ दिनुपर्ने शर्त राखेर आँखाको उपचार गर्न थालेका थिए । कार्कीले भने, ‘मरिचको धुलोको बाफ लाउनु पर्ने रहेछ, यति धुलो नै आँखामा हालिदियो, आँखा फुट्यो, त्यो पनि भाग्यो ।’ फुलोका कारण एउटा आँखाको ज्योति गुमाउन पुगेका बज्रको अर्को आँखा पनि क्रमशः कमजोर हुँदै गयो । आँखाको पानी सुकेर अर्को पनि आँखा देख्न नसकेको बज्रले बताए ।

समयअघि अर्काको चर्पीमा दिसा गर्न पुगेका बज्रले नराम्ररी गाली खाए । तारावारीको एकघरमा दिसा गएका उनले दिसा राम्ररी नपखालेको भन्दै नराम्रोसंग गाली गरेको बताए । दृष्टिबिहिन भएपछि पहिलो पटक त्यति नराम्रो गाली खाएको स्मरण गर्दै भने, ‘आँखा नदेख्न मेरो रहर हो र ? देखिन सफा गरें भनेको रहेछ, भरे गाउँलेले चर्पीवाला घरका मान्छेलाई गाली गरेर भने आँखा देख्दैन भन्ने थाहा छैन हामी गरिदिन्छौं तिम्रो चर्पी सफा ।’

कठ्ठा जग्गा भएका बज्रबहादुरको बाहिरी दृष्टि नभएपनि भित्री दृिष्ट अद्भूतको छ । त्यही अद्भूत दृष्टिको सहायतामा बुढी आमा र छोरीलाई दुईछाक खुवाउँदैछन् । एक पटक सिकेको कुरा कहिले बिर्सिदिन, दोहो¥याउनु पनि पर्दैन । ‘मुढा बुन्छु, घर छाउँछु अरु त्यस्तै उस्तै काम गरेर खाँदैछौं ।’ दुवै आँखा नदेख्ने उनी एकपटक गरेको काम, हिँडेको बाटो, कहिल्यै भुल्दैनन् ।

बज्रका घरमा तीन जनाको परिवार छ, ७० वर्षी उनकी आमा र पाँचवर्षकी छोरी, छोरीलाई स्थानीय विद्यासदन बोर्डिङले निःशुल्क पढाइ दिएको छ । छोरी जति पढे पनि स्कूलले निःशुल्क पढाइदिने प्रतिवद्धता गरेको बज्रले जानकारी दिए । श्रीमतीले भने छोरी अढाई वर्षकी हुँदा नहुँदै छोडेर हिडेको उनले बताए । परिवन्दका कारण झण्डै २६ वर्षको अन्तरकी एक किशोरीसँग बिवाह भएको थियो बज्रको । विहे भएको अढाइ तीन वर्ष जति बसेपछि कार्की परिवारलाई छाडेर हिँडिन् उनी ।

चर्पीको तलको भाग निर्माण सम्पन्न भएको भएपनि टाटी बेरा प्लष्टर गर्ने काम बाँकी नै छ । ‘बर्ड डे बनाउँदा केही न केही खर्च त हुन्छ, त्यही खर्च छोराको इच्छा अनुसार दृष्टिबिहिनलाई शौचालयको सामग्री दिएका हौं’– कटुवालले भने, ‘यसले नानीको पनि सामाजिक काममा झुकाव रहेको बालमनोविज्ञान देखिन्छ ।’

कटुवाल कमल गाउँपालिकाका वडाध्यक्ष पनि हुन् । वडाध्यक्ष भएपछि उनले आफ्नो क्षेत्र भित्र पर्ने ४ वटा विद्यालयमा वडाध्यक्ष छात्रवृत्ति स्थापना गरेका छन् । विद्यालयमा स्थापना गरिएको छात्रबृत्तिबाट पनि चारवटै विद्यालयले आ–आफ्नो स्कूलमा अध्ययनरत विद्यार्थीमध्ये सबैभन्दा कमजोर आर्थिक अवस्था भएका छात्रछात्रालाई छात्रत्त स्वरुप शौचालय निर्माणका लागि रकम दिएका छन् ।

कमल गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा स्थानीय जनप्रतिनिधि, शिक्षक, सामाजिक अभियान्ता सबै जुटेका छन् । मानव सभ्यताको खुड्किलोका रुपमा रहेको खुल्ला दिसामुक्त नभएसम्म विकास निर्माणको अर्थ नरहने टिप्पणी गर्ने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेको भनाई छ । दुई महिना अघिसम्म मापदण्डविहीन र चर्पी नै नभएका १३०० घर रहेको कमल गाउँपालिका माघको पहिलो हप्ता खुल्ला दिसामुक्त घोषणा गर्ने तयारीमा जुटेको छ । गाउँपालिकामा १३० मा निर्माणाधीन चर्पीको निर्माण सम्पन्न हुन बाँकी छ । खुल्ला स्थानमा दिसा–पिसाब गर्नु सरकारले सामाजिक अपराधका भनेको छ ।