माओवादी केन्द्रले एमालेसँग चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को आइतबार बसेको संयुक्त कार्यदलको बैठकमा उसले प्रस्तावको रुपमा यस्तो माग अघिसारेको हो ।
राष्ट्रियसभाको सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि भन्दै एमाले र माओवादी केन्द्रले ६ सदस्यीय कार्यदल गठन गरेका थिए । एमाले अध्यक्ष ओली उपचारको लागि बैंकक प्रस्थान गर्नुअघि गत साता मंगलबार उक्त कार्यदल गठन गरिएको थियो ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बेलुका बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्रीसहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सारेपछि एकीकरणको प्रक्रियामा रहेका भनिएका यी दुई दलबीच भागबण्डाको सम्भावित खिचलोको संकेत मिलेको छ ।
बैठकमा मुख्यमन्त्री, प्रदेशसभा सभामुख र राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल भएको र त्यसबारे शीर्ष नेताहरूसँग छलफल गरी टुङ्गो लाग्ने बताइएको छ ।
प्रतिक्रिया