आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे प्रमुख सत्तारुढ दल नेपाली काङ्ग्रेसले पार्टीको आन्तरिक गृहकार्य शुरु गरेको छ । पार्टीका शीर्ष नेताहरुले आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्यलगायत विषयमा प्रारम्भिक छलफल गरेका काङ्ग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
बताइएअनुसार सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेताबीच राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम बारेमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आगामी बैठकबाट प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरिएको प्रस्ट्याइसकेका छन् । उनले विभिन्न राजनीतिक दलसँग यसबारेमा छलफल गरी सहमतिका लागि प्रयास गर्दा सहमति हुन नसकेको तिक्तता पनि सार्वजनिक कार्यक्रमबाट पोखिसकेका छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि तत्काल प्रदेश प्रमुख नियुक्त हुनुपर्ने कानूनी बाध्यताका कारण अब बस्ने मन्त्रिपरिषद बैठकबाट प्रदेश प्रमुख र प्रदेशसभाका सदस्यहरुको सपथग्रहण स्थल तोकिने तयारी सरकारले गरिरहेको छ ।
प्रतिक्रिया