रेकर्ड नै राखेर नाम कमाउने उद्देश्य हो भने कुरा बैग्लै, अन्यथा आफ्नो शरीरको अस्वाभाविक मोटोपन सायदै कसैलाई मनपर्छ । गत वर्ष विश्वकै सबैभन्दा मोटी महिलाको उपाधि पाएकी पाउलिन पोटरको हकमा पनि यही कुरा लागू भयो । विश्वकी सबैभन्दा मोटी आइमाई बन्दा उनको तौल ६४३ पाउण्ड थियो । सबैभन्दा मोटी बनेर नाम कमाउँदा त उनलाई रमाइलै लाग्यो तर पछि विभिन्न व्यावहारिक तथा शारीरिक समस्या आइपरेपछि भने उनलाई आफ्नो तौल घटाउनु नै श्रेयस्कर लाग्यो र उनी तौल घटाउने अभियानमा जुटिन् । यसमा उनले सफलता पनि प्राप्त गरिरहेकी छिन् र एक वर्षमै झन्डै ९८ पाउण्ड तौल घटाएकी छिन् । आखिर तौल घटाउन यत्रो सफलता उनलाई कसरी मिल्यो होला त ?
पाउलिनका अनुसार यसरी तौल घट्नुमा आफनो निरन्तरको सम्भोग नै मुख्य कारक रह्यो । उनले सर्वप्रथम आफ्नो भूतपूर्व लोग्ने एलेक्सलाई फकाएर पुन: आफ्नो वशमा पारिन् । यसरी लोग्ने फकाएर आफ्नो पासमा ल्याउनुको मतलब अरू केही नभएर शारीरिक सम्पर्कका लागि नै थियो । बेलायतको एक पत्रिकालाई दिएको अन्तर्वार्तामा पाउलिनले स्पष्टसँग भनेकी छिन् कि म्याराथनजस्तै लामो समयसम्मको निरन्तर सम्भोगका कारण उनी तौल घटाउन समर्थ भइन् । आफूले भूपू लोग्नेसँग पछिल्लो समयमा निकै परिश्रम लगाएर लामो समयसम्म सेक्स गर्ने र एकपटकको सेक्समा झण्डै पाँच सय क्यालोरी इनर्जी खर्च गर्ने गरेको उनले खुलासा गरिन् । यस्तो यौनसम्पर्क आफ्ना लागि निकै फलदायी बनेकोमा उनी दङ्ग छिन् । एक सय ४० पाउण्ड तौल रहेका भूपू लोग्ने एलेक्सलाई पनि यौनकार्यमा सक्रिय बनाइराख्नकै लागि उनले दिनमा १० हजार क्यालोरी खाना खुवाउँछिन् र दिनमा सातपटकसम्म उनीहरूबीच यौन सम्पर्क हुनेगर्छ । सेक्समै परिश्रम लगाएर आफ्नो तौल अझै घटाउने उनको योजना छ । व्यायामकै रूपमा मात्र नभई सेक्सलाई आनन्दका रूपमा समेत लिने गरेको पनि पाउलिनको कथन छ ।
प्रोस्टेट क्यान्सरबाट बच्न माछा
तपाईं प्रोस्टेट क्यान्सरबाट पीडित बन्ने त्रासमा पर्नुभएको छ ? यदि यस्तो हो भने माछाको सेवनलाई आफ्नो अनिवार्य रुटिनमा पार्न ढिलो नगर्नुहोस् । किनकि, हार्वर्डमा गरिएको एक नयाँ अध्ययनको नतिजामा दाबी गरिएअनुसार योजनामा माछा समावेश गर्नेलाई प्रोस्टेट क्यान्सरसँग जुध्ने शक्ति भरपूर प्राप्त हुने गर्दछ ।
अमेरिकी जर्नल अफ इपिडिमियोलोजीमा सो अध्ययनबारे उल्लेख गर्दै भनिएको छ कि सबै प्रकारका माछा उक्त रोगका सन्दर्भमा लाभकारी छ, त्यसमाथि ओमेगा– ३ नामक माछाको तेल अधिक मात्रामा आफ्नो भोजनमा समावेश गर्ने रोगीहरू उल्लेखित बिमारीबाट मर्ने सम्भावना ३४ देखि ४० प्रतिशतले कम हुन्छ । उमेरसँगै प्रोस्टेट क्यान्सरको खतरा बढ्दै जाने र ५० वर्षमाथिका व्यक्तिमा ट्युमर हुने आशङ्का ज्यादा हुने हुनाले माछा खाने गरेमा त्यसको सम्भावना न्यून हुने अध्येताहरूको दाबी छ ।
पे्रमीका लागि बाबुको हत्या
नारी स्वतन्त्रताको मामलामा मुस्लिम देशहरू अनुदार रहँदै आएका छन् । अझ आफ्नो छोरी–चेलीहरूको पे्रमसम्बन्ध या विवाहिताको परपुरुषसँगको सम्बन्धलाई त मुस्लिम समाजले भयानक अपराधकै रूपमा लिने गर्छ । परपुरुषसँग सम्बन्ध राखेको आरोपमा सिङ्गो समाज नै उल्टिएर महिलालाई ढुङ्गा हानीहानी मारेका र पे्रमसम्बन्ध राखेको भन्दै आफ्नै बाबुआमाद्वारा छोरीको हत्या गरिएका समाचार सामान्य भइसकेका छन् । तर, यसको ठीक उल्टो मन परेको युवकसँग प्रेम गर्न अवरोध पुर्याएको कारण कुनै मुस्लिम युवतीले आफ्ना अभिभावकको हत्या गरेको घटनाचाहिँ विरलै सुन्नमा आउँछ ।
हो, यस्तै घटना घटेको छ पाकिस्तानको पञ्जाव प्रान्तमा । छिमेकीको एक युवकसँग छोरीले पे्रमसम्बन्ध राखेको विरोधमा बेस्सरी गाली गर्दै मोहम्मद वसारत नामक उक्त युवकसँग भेट्न प्रतिबन्ध लगाएबापत महम्मद सब्बिर नामक व्यक्तिले जीवन नै गुमाउनुपर्यो, त्यो पनि आफ्नै १६ वर्षीया छोरीको हातबाट । भएछ के भने आफूले गाली गरेपछि छोरीले पे्रमीसँगको भेटघाट बन्द गरिन् भनेर ढुक्क बनेका सब्बिरले एक दिन छिमेकीबाट सुने कि उनकी छोरी अझै पनि लुकिछिपी वसारतसँग भेटघाट गर्दै छिन् । त्यसपछि उनले छोरीमाथि थप्पडको वर्षा लगाए । त्यही झोंकमा पे्रमीकै सहयोगमा पेस्तोल मगाएर पे्रमान्ध छोरीले सुतेको मौका पारेर आफ्ना बाबुको प्राणपखेरु उडाइदिइछिन् । यतिबेला हत्यारा युवती पे्रमीसहित जेलको हावा खाँदै छिन् ।
पुस्तक बोक्ने झोलामा सहेलीको नासो
तपाईंलाई आफ्नै कुनै साथीले केही समयका लागि कुनै सामानको झोला जिम्मा लगाउँछ । तर, उसले त्यो फिर्ता लिनुअघि नै कारणबस तपाईंलाई ज्ञान हुन्छ कि त्यस झोलामा मृत बालकको शरीर छ भने तपाईं कस्तो अनुभव गर्नुहुन्छ ? हो, यस्तै कहालीलाग्दो अवस्था व्यहोर्नुपर्यो मलेसियाकी एक १६ वर्षीया छात्राले । उनलाई आफ्नै मन मिल्ने सहेलीले एउटा स्कुले ब्याग एकैछिनका लागि भनी जिम्मा लगाएकी थिइन् । त्यसमा के छ भनी जान्ने कोसिस नै उनले गरिनन् तर केहीबेरमै उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि भने उनी खङ्ग्रङ्गै भइन् ।
मलेसियन प्रहरीले जनाएअनुसार अचानक प्रसूति बेथा लागेपछि कुनै एकान्तस्थलमा शिशुलाई जन्म दिएर टाउकोमा प्रहार गरी मारेपछि स्कुलकै ब्यागमा बच्चाको लास राखेर अभियुक्त किशोरीले सहेलीलाई ब्याग जिम्मा लगाएकी थिइन् । पछि फिर्ता लिएर ठेगान लगाउने उनको सोच थियो । तर, निकै पेट दुखेपछि डाक्टरकहाँ जाँदा शङ्का लागेर डाक्टरले केरकार गर्दा उनले आफ्नो कर्तुतको फेहरिस्त सुनाइन् र केस प्रहरीसम्म पुग्यो । मलेसियामा यसरी कम उमेरका केटीहरूले अवैध बच्चा जन्माएर फ्याँक्ने घटना निकै बढेको बताइन्छ ।
प्रतिक्रिया