विप्लव भण्डाफोर अभियानमा, एकता गर्न वैद्य माओवादीले बनायो वार्ता टोली

विप्लव भण्डाफोर अभियानमा, एकता गर्न वैद्य माओवादीले बनायो वार्ता टोली


विप्लव नेतृत्वको नेकपाले माघ १५ देखि तीनमहिने ‘देशव्यापी जनजागरण तथा भण्डाफोर अभियान’ चलाउने भएको छ ।

उसको हालै सम्पन्न बैठकले नेकपाले मेचीदेखि महाकालीका सबै भू–भागमा जागरण अभियान चलाउने निर्णय गरेको हो । यस्तै नेकपाले प्रचण्ड– बाबुरामको नेतृत्वमा विचलित पार्न खोजिएको माओवादीधारालाई अभियानको क्रममा वैचारिक रूपले सुढृढ गर्न, जनमत बनाउन प्रयत्न गर्ने जनाएको छ ।

यता, तीन कम्युनिष्टबीच एकता गर्न वैद्य माओवादीले वार्ता टोली बनाएको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले छरिएर रहेका कम्युनिष्ट घटकहरुसँग एकताको आधार तयार गर्न वार्ता टोली निर्माण गरेको हो ।

सो पार्टीको माघ २ र ३ गते राजधानीमा बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको बुझिएको छ ।
बैठकले नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्र सिंह नेतृत्वको नेकपा (मसाल) र ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टीसँग एकताको आधार तय गर्न ठोस पहल गर्ने निर्णय समेत गरेको छ ।

बैठकले राष्ट्रियता, जनतन्त्र र जनजिविका लगायतका ठोस विषयहरुमा कार्यगत एकता गरी संयुक्त संघर्षमा जाने निर्णय गर्दै लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रका सुस्ता, महेशपुर, कालापानी लगायत सीमा मिचिएको र भारतको सो कदमको भत्र्सना गर्दै यसबारे तुरुन्तै कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।