तोकिए सात प्रदेशका प्रदेश-प्रमुख र अस्थायी केन्द्र

तोकिए सात प्रदेशका प्रदेश-प्रमुख र अस्थायी केन्द्र


तीव्र चासोका बीच अत्यन्त उहापोहको अवस्थाबाट गुज्रिएर सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ ।

बुधबारको क्याबिनेट बैठकबाट अनुमोदित नाम अनुसार प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ल प्रदेश प्रमुख नियुक्त गरिएका छन् ।

यसैगरी सरकारले सातै प्रदेशका अस्थायी केन्द्रको पनि निर्क्योल गरेको छ । विभिन्न अडकलवाजी, नाराजुलुस र दबाबका बीच सरकारले तोकअनुसार प्रदेश नं. १ को अस्थाीय केन्द्र विराटनगर, प्रदेश नं. २ को जनकपुर, प्रदेश नं. ३ को हेटौंडा, प्रदेश नं. ४ को पोखरा, प्रदेश नं. ५ को रुपन्देही, प्रदेश नं. ६ को सुर्खेत र प्रदेश नं. ७ को कैलाली रहेका छन् ।

यसैगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट गरेको छ । सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बुधबार भएको बैठकपछि दुई दलले राष्ट्रिय सभाको सिट बाँडफाँटको टुंगो गरेका हुन् ।

दुई दलको संयुक्त कार्यदलले ४३ सिटमा वाम गठबन्धनको जित पक्का भएको भन्दै भागवण्डा मिलाएको बुझिएको छ।