सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको विषयमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । दाङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य रहेका महराले दाङ नै प्रदेश नं. ५ को राजधानी हुनुपर्ने जिकीर गर्दै आएका थिए ।
सरकारले अस्थायी राजधानीबारे निर्णय गरेलगत्तै नेता महराले प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न भागमा प्रदेश राजधानीको विषयलाई लिएर भइरहेको सशक्त विरोध प्रदर्शन र कार्यक्रमका सन्दर्भमा सरकारले कतिपय प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलित रुपमा तोक्न नसक्नु सरकारको असक्षमता पुष्टि भएको प्रतिक्रिया दिएका छन् ।
उनले प्रशासन पुनःसंरचना आयोगको सिफारिश, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित हुन पुगेको आरोप लगाएका छन् ।
सरकारलाई तुरुन्त निर्णय सच्याउन आग्रह गर्दै महराले प्रदेश नं ५ को राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थान भएकाले उचित र सन्तुुलित हुने तर्क गरेका छन् । त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनको आफूले दृढतापूर्वक समर्थन गर्ने पनि उनले प्रस्ट्याएका छन् ।
प्रतिक्रिया