रेमिटयान्स वृद्धिदर निराशाजनक, व्यापारघाटा उच्च बन्दै

रेमिटयान्स वृद्धिदर निराशाजनक, व्यापारघाटा उच्च बन्दै


रेमिटयान्सको वृद्धिदर निराशाजनक देखिन थालेको छ । पछिल्ला दुई महिनायता रेमिटयान्स वृद्धिदर निराशाजनक देखिएको हो ।

कात्तिकमा १.५ प्रतिशतले ऋणात्मक रहेको रेमिटयान्स वृद्धिदर मंसिरमा ०.८ प्रतिशतले ह्रास आएको छ । यसकारण मंसिरमा शोधनान्तर स्थिति ९ अर्ब २७ करोड रुपैयाँले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर २८ अर्ब ७८ करोडले बचतमा थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिरसम्म २ खर्ब ८५ अर्ब रुपैयाँ रेमिटयान्स भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा रेमिटयानस वृद्धिदर ०.८ प्रतिशतले ऋणात्मक रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिटयान्स वृद्धिदर ६ प्रतिशतले बढेको थियो ।

उक्त अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेबिया र कतार जानेको संख्यामा कमी आएको राष्ट्र बैंकले जनाएको छ । यद्यपि पछिल्ला महिनाहरूमा विदेशबाट मुद्रा ओसारपसारमा संलग्न हुन्डीलगायत अन्य गैरकानुनी माध्यमहरू सक्रिया बन्दै गएकाले वैधानिक बाटोबाट आउने रेमिटयान्स आप्रवाह घटेको विज्ञहरू बताउँछन ।

आयातमा उच्च वृद्धि र वैदेशिक रोजगारीबाट प्राप्त रेमिटयान्स आप्रवाहमा कमी आएकाले चालु खाता र शोधनान्तर घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैबीच, चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै उच्च अंकले बढेको व्यापार घाटा मंसिरमा करिब ४ खर्ब नजिक पुगेको छ । गत वर्षको तुलनामा गत मंसिरमा मुलुकको व्यापार घाटा १३ प्रतिशतले बढेर ३ खर्ब ९७ अर्ब ७९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।