शीतल निवासमा पत्रकारले गरे क्यामेरा डाउन

शीतल निवासमा पत्रकारले गरे क्यामेरा डाउन


राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय नेपालका सात प्रदेश प्रमुखलाई शपथ खुवाउने क्षणलाई क्यामेरामा सुरक्षित गर्न व्यग्र प्रतीक्षारत थियौं, हामी संवाददाता र फोटोपत्रकार । शुक्रबार शीतल निवासको दक्षिणी ढोकामा पत्रकारको भीड यसै ऐतिहासिक क्षणका लागि थियो ।

अपराह्न ३ बजेपछि पत्रकारको परिचयपत्र र शरीर जाँचपछि सैनिक निगरानीमा हामीलाई राष्ट्रपति भवनको सञ्चार कक्षसम्म पु‍र्याइयो । लामा लेन्स र क्यामेरा बोकेका पत्रकार कार्यक्रम सुरु भएपछि कार्यक्रम स्थलमा लगिने आश्वासन कार्यालयका अधिकारीको थियो ।

शीतल निवासमा प्रधानमन्त्रीको कारकेड प्रवेशसँगै मंगल धुन बज्न थाल्यो । हलमा कार्यक्रम सुरु भएपछि एक सैनिक अधिकारी आएर रेडियो नेपाल, रासस, गोरखापत्र र नेपाल टीभीका पत्रकार भित्र लगे । अनि निजी सञ्चार माध्यमका पत्रकारलाई फर्कन आदेश दिए ।

सक्रिय राजतन्त्रकालमा समेत नारायणहिटी दरबारका औपचारिक समारोहहरूमा पत्रकारलाई निषेध थिएन । दौरा सुरुवाल लगाउनुपर्ने सर्त पालना गरेपछि पत्रकारले निर्वाध समाचार र दृश्य संकलन गर्न पाउँथे । त्यससमय पनि यी रासस, गोरखापत्र आदि सरकारी मिडिया नभएका होइनन् तर अहिलेजस्तो स्वतन्त्र मिडियामाथि प्रवेशको प्रतिबन्ध थिएन ।

आमसरोकारका विषय सुसूचित गर्ने दायित्व लिएको हुनाले नै पत्रकारितालाई चौथो अंग मानिएको हो । तर, यो विश्वव्यापी मान्यता उपेक्षा गरी हरेक गतिविधिको समाचार हामी आफैं दिन्छौं भन्नु सेन्सरसिपको नमुना हो । शीतल निवासको यस्तो रवैया लोकतान्त्रिक गणतन्त्रमा अपेक्षित छैन ।

पत्रकारहरू यो ऐतिहासिक घटनाको समाचार संकलन गर्न दिन अनुरोध गरी नै रहे । तर, सैनिक अधिकारीले ‘माथिको आदेश’ भन्दै पत्रकारलाई एकाएक बाहिर निकाले । पत्रकारले ढोकामा क्यामेरा राखेर सरकारी रवैयाको विरोध पछि आ–आफ्नो कार्यालय फर्के ।

राष्ट्रपति कार्यालयले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप मात्रै गरेको छैन । कार्यस्थलमा लामो समय कुराउने र अनावश्यक रूपमा शरीरको खानतलासी गरी कार्यक्रम स्थलसम्म पु‍र्याएर फर्काउँदै अपमान गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकबाट