हरेक क्षेत्रलाई राजनीतिले गाँजेको यो मुलुकमा शायद अब कुनै त्यस्तो क्षेत्र, पेसा र व्यवसाय रहेन जुनचाहिँ राजनीतिबाट मुक्त होस् । राजनीतिकर्मीको कोपभाजनमा परेर आँखैअगाडि धेरै सरकारी उद्योगधन्दाहरू मासिए, नेपालको राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सको हालत चल्नै नसक्ने अवस्थामा पुग्यो । जनकपुर चुरोट कारखानादेखि हेटौंडा कपडा उद्योगसम्म प्रत्येकपल्ट सरकार परिवर्तनसँगै जीर्ण हुन पुगे । सरकारी उद्योगधन्धा या संस्थान वा कार्यालयहरू मात्र होइन सार्वजनिक र निजी क्षेत्रसमेत राजनीतिक हस्तक्षेपबाट मुक्त रहेन । राजनीतिक हस्तक्षेपबाट ध्वस्त हुन बाँकी एक मात्र संरचना नेपाली सेनामा पनि अनेक बहानामा पटकपटक कोसस जारी छ । निजामती सेवामा रहेर नितान्त राष्ट्रसेवामा समर्पित हुनुपर्ने र असाध्यै तटस्थ भएर जनताको काम गर्नुपर्नेहरूलाई राजनीतिमा धकेलेर धुजाधुजा पार्ने काम दलहरूबाट निकै अगाडिदेखि नै सुरु भएको हो । हरेक सरकारी कार्यालयहरूमा राजनीतिक दलसम्बद्ध झुण्डहरू छन् र सेवाग्राहीभन्दा उनीहरूका लागि आफूले समर्थन गरेका दलका नेताहरूको महत्व छ । राजनीति र नेताको आडमा उनीहरू काम नगर्न र भ्रष्टाचार गर्नसम्ममा स्वतन्त्र छन् । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर मन, वचन र कर्मले राष्ट्रको सेवामा समर्पित राष्ट्रसेवकहरू राजनीतिकर्मीको सेपमा परेर उठ्नै नसक्ने गरी जिङ्ग्रिएका छन् । सरकारी जागिर खानुको ठूलै ‘ह्युमिलिएसन’बाट गुज्रिएका छन् । राजनीतिको आडमा जागिर खान र बचाउन चाहनेहरू र आफूले गरेको कामलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न चाहनेहरूबीच ठूलो अन्तर छ ।
नेपालमा मात्रै होइन हरेक मुलुकमा राजनीति हुन्छ, राजनीतिकर्मीहरू हुन्छन् । टाढाको देशतिर नगई छिमेकी मुलुकलाई नै उदाहरण मान्ने हो भने पनि राजनीतिक परिवर्तनहरू त्यहाँ पनि भइरहन्छन् । संसद्मा अनेक हंगामा हुन्छ, सरकार फेरिन्छ, मन्त्री फेरिन्छन् तर कमचारीतन्त्र सधंै एकनासले चलिरहन्छ । त्यहाँ सरकार परिवर्तनसँगै कर्मचारी फेरिँदैनन्, बरु कर्मचारीले गरेका ‘ब्रिफिङ’ र दिएको सल्लाहका आधारमा नेताहरूले काम अघि बढाउँछन् । विभिन्न क्षेत्र र त्यहाँ भइरहेका क्रियाकलापहरूबारे दृष्टिकोण बनाउँछन् । बाहिरका मानिसहरूसँग मन्त्रीले के बोल्ने के नबोल्ने सबै कर्मचारीले तय गर्छन्, भनौँ देशको नीतिको प्रतिनिधित्व उनीहरूले गर्छन् । तर, हामीकहाँ त्यसको ठीक उल्टो परिस्थिति छ । महिना–महिनामा झैं मन्त्री फेरिन्छन्, विभागीय मन्त्री परिवर्तन हुनासाथ आफ्नो पार्टीसमर्थक कर्मचारी खोज्न थाल्छन् । पार्टीसमर्थक मात्रै भएर पनि भएन, आफूनजिक हुनुप¥यो, जे गरे पनि विश्वास गर्न लायक । पारदर्शितापूर्वक मुलुकका लागि मात्रै काम गर्ने हो भने जोसुकै सहयोगी होस् केही फरक पर्दैन तर जब नियतमा खोट हुन्छ त्यसपछि मानिसले अरूलाई विश्वास गर्न सक्दैन । यसक्रममा धेरै राष्ट्रसेवकहरू यहाँबाट त्यहाँ त्यहाँबाट उहाँ पुगेका छन् । उनीहरूको सरुवा वा बढुवा कार्य सम्पादनका आधारमा नभएर राजनीतिक मूल्याङ्कनका आधारमा हुने गरेको छ । जसका कारण उच्च शिक्षित नयाँ पुस्तामा जसरी राजनीतिप्रति घृणा पैदा हुँदै आएको छ त्यसैगरी निजामती सेवामा प्रवेश गर्न पनि कुनै जोस–जाँगर देखिँदैन । केही समय अगाडिसम्म प्रधानमन्त्रीको कार्यालयमा काम गरेका एक उच्च शिक्षित शाखा अधिकृतले सरकारी जागिर छोडे । वातावरणमा मास्टर्स असाध्यै राम्रो स्कुल र कलेज पढेका ‘ब्रिलियन्ट’ भन्न सुहाउने गोल्ड मेडलिस्ट ती युवालाई भोलि सचिव हुन छोडेर के गरेका ? भन्दा उनले भनेका थिए, त्यहाँ मेरो के काम थियो भनेर थाहा पाउनुभएको भए ममाथि दया गर्नुहुन्थ्यो । प्रत्येक दिन कार्यालय पुगेर हाजिर गरेपछि आफूभन्दा वरिष्ठ हाकिमहरूका कोठाकोठामा गएर नमस्कार गरेपछि मेरो खासै काम हुँदैनथ्यो । यता गयो उता गयो एक–अर्काको कुरा ग¥यो, पत्रिका पढ्यो, चिया खायो, समय गुजा¥यो, त्यस्तो वातावरणमा आफ्नो दिमागलाई कहाँ प्रयोग गर्नु ? आफूले पढेको विषय मिल्दो ठाउँमा सरुवा माग्दा मलाई ‘हलो सरकार’मा टेलिफोन उठाउने काम दिइयो । अति भएपछि मैले छोडेको हुँ । धेरैजसोका आ–आफ्ना राजनीतिक दल र नजिकका नेताहरू थिए मेरा कोही थिएनन्, तपाईंहरूले सोचेजस्तो भोलि सचिव हुन मलाई सजिलो थिएन । कामको आधारमा मात्रै प्रतिस्पर्धा या मूल्याङ्कन हुने भए म यति चाँडै निराश हुनेखालको मानिस होइन, सय प्रतिशत आत्मविश्वासका साथ अघि बढ्न सक्थेँ । तर, सचिव हुनका लागि यहाँ कामको होइन चाकडी–चाप्लुसीको प्रतिस्पर्धा हुन्छ जुन प्रतिस्पर्धामा म यो जीवनमा कहिल्यै पनि सफल हुन सक्दिनँ ।
उनले यसो भनिरहँदा यस्तै हो भने निजामती सेवामा अब राम्रो पढाइ र पृष्ठभूमिका युवाको प्रवेश कसरी होला ? भन्ने लागेको थियो । अहिले मुख्यसचिव पदका लागि यहाँ जे गरियो त्यसले उनको कुरालाई पुष्टि मात्र गरेको छैन कार्यसम्पादन, मूल्याङ्कन र वरिष्ठताको क्रममा विश्वास गर्नेहरूलाई निराश पनि बनाइदिएको छ । मुख्यसचिवको नियुक्ति हामीकहाँ पटकपटक विवादास्पद बन्दै आएको छ, यसो हुनुको एक मात्र कारण राजनीतिक हस्तक्षेप नै हो । बिनापूर्वाग्रह वरिष्ठताका आधारमा नियुक्ति हुने हो भने न त राष्ट्रसेवकहरूमा निराशा छाउँथ्यो न त त्यहाँ पुग्नेले विवादास्पद रूपमा खडा भएर ‘म त अरूको रोल मिचेर राजनीतिको आडमा यहाँ आएको पो हुँ त’ भनेर एकप्रकारको हीन भावनाकाबीच आफूलाई प्रस्तुत गर्नुपथ्र्यो । राजनीतिक आडमा आफूभन्दा योग्य र वरिष्ठ सहकर्मीहरूलाई पछाडि पारेर अगाडि बढ्न खोज्नेहरूले व्यक्त नगरे पनि यसप्रकारको हीनताको भावनाबाट भित्रभित्र भनें गुज्रिरहनुपर्ने हुन्छ, गुज्रिरहेका हुन्छन् ।
वास्तवमा डा. बाबुराम भट्टाई प्रधानमन्त्री भएपछि यो मुलुकमा धेरै कुराको अपेक्षा गरिएको थियो । उनलाई क्षमतावान् ठानिएका कारण कम्तीमा उनको पालामा योग्यता र विज्ञताले विशेष स्थान पाउला भन्ने लागेको थियो । तर, उनको कार्यसम्पादन शैली आफ्नो दलको मूल्यमान्यताभन्दा पर कहिल्यै जान सकेन र यो मुलुकका स्वतन्त्र विज्ञहरूले उनको काममा गर्व गर्ने वातावरण अलिकति पनि बनेन । अहिले मुख्यसचिवको सवालमा कार्यसम्पादन र वरिष्ठतालाई नमिचिएको भए शंकर कोइराला मुख्यसचिव हुने थिए र अन्य सचिवहरूलाई यसमा आपत्ति जनाउने ठाउँ रहने थिएन । साथै वरिष्ठताक्रमका आधारमा बढुवा गर्नका लागि भविष्यलाई एउटा नजिर पनि बन्ने थियो जसका कारण सोहीअनुरूपले राष्ट्रसेवकहरूबीच प्रतिस्पर्धा चल्ने थियो । बढुवाका निम्ति आठौँ स्थानमा रहेका व्यक्तिलाई राजनीतिक निकटताका आधारमा फुत्त टिपेर जुन रूपमा मुख्यसचिव बनाइयो त्यसले राष्ट्रसेवकहरूबीच प्रतिस्पर्धा त भोलि पनि गराउनेछ, तर त्यो प्रतिस्पर्धा कार्यसम्पादनमा नभएर पार्टी र नेताहरूसँग नजिक रहनका लागि हुनेछ । जब कर्मचारीहरूलाई तेरो र मेरो भन्दै राजनीतिक पार्टीहरूले अलगअलग रूपमा सार्वजनिक अभिव्यक्ति दिएरै च्याप्न थाल्छन् यस्तो देशमा कार्यसम्पादन, मूल्याङ्कन, वरिष्ठताक्रम या ‘सिस्टम’को के अपेक्षा गर्ने ?
प्रतिक्रिया