केही मुक्तकहरू

केही मुक्तकहरू


– वियोगी बुढाथोकी

उसै त जीर्ण भएको छ घर भो तोड्ने नगर
एक भएर जुट्ने समय हो यो छोड्ने नगर
जगैबाट उठाऊ गाह्रो तब मजबुतको बन्ला घर
अवसरवादीहरूलाई जान दिऊँ यता मोड्ने नगर ।

000

यथार्थ सत्य गहिरो र समथर स्थान भेट्दा खुसी मान्छ पानी
उखानै छ एक्कासि हैसियत चुलिनेहरू घस्दा रै’छन् खरानी
समयअनुसार रूप बदल्नेहरूको अनुहार तस्बिर खिचेर राख
नत्र भोलि फेरि उनै नजरमा पर्छन् सधैँ किनारमा पर्छौ हामी ।

000

एकान्त सडकमा कालो चस्मामा थिएँ देखेर को किन मस्कियो
छुट्याउन नै सकिएन महिला हो वा पुरुष देखेर दिमाग झस्कियो
भ्रममा थिएँ भनुँ पिएकै थिइनँ सपना पक्कै होइन लौन के भो
कसले उपहार हो वा निम्ता पठायो अचानक दायाँ कोखा चस्कियो ।

000

जोड्दा र घटाउँदा पनि नमिल्ने समयले रित्याएझैँ लाग्छ
दायाँ र बायाँका रित्ता सोफाहरूले पनि गिज्याएझैँ लाग्छ
आफू देश र देशको भविष्य सोचेर चिन्ताग्रस्त भइरहँदा
देशको साँचो बोक्नेहरूले नै राजनीति सिध्याएझैँ लाग्छ ।

000

प्रदेशको राजधानीको नाममा आगो किन बाल्छौ
सत्ता नसमाल्दै मतदाताको विश्वास किन ढाल्छौ
बहुमतको दम्भ नपाल, गरेर देखाउने समय हो
स्थिर सरकारलाई प्राप्त मत किन खेर फाल्छौ ।

– शिवपुरी सन्देश निवास, हात्तीगौंडा