नापी नक्सा र कित्ताकाट-दाजु गुरुङ

नापी नक्सा र कित्ताकाट-दाजु गुरुङ


सन्नुभा’ छैनभने सुनिराख्नुहोस् ।
देख्नुभा’ छैनभने देखिराख्नुहोस् ।
नापी आउँदै छ,
नयाँ नक्सा बन्दैछ,
नयाँ कित्ताकाट हुँदैछ,
हाम्रो गामघरमा नापी आउँदैछ ।

नापी आउँदै छ,
आ-आफ्नो कित्तामा उभिनुहोस् ।
कित्ता हराउन सक्छ,
कित्ता चोरी हुन सक्छ,
कित्ता हडपिन सक्छ,
कित्ता बदलिन सक्छ,
कित्ता बेनामी हन सक्छ,
नयाँ नापीमा जे पनि हुन सक्छ,
आफ्नै आँगन चिरा-चिरा पर्न सक्छ,
र त भन्दैछुु -सुन्नभा’ छैनभने सुनिराख्नुहोस् ।
देख्नुभा’ छैनभने देखिराख्नुहोस् ।

नक्सा बन्दैछ,
आ-आफ्नो नक्सामा उभिनुहोस् ।
नक्सामा नाम हराउन सक्छ,
नक्सामा कित्ता हराउन सकछ,
नक्सामा रंग हराउन सक्छ,
नक्सामा भविष्य हराउन सक्छ,
नक्सामा मन हराउन सक्छ,
नयाँ नापीमा जे पनि हुन सक्छ,
आफ्नै गामघरको चिनारी हराउन सक्छ,
र त भन्दैछु सन्नुभा’ छैनभने सुनिराख्नुहोस् ।
देख्नुभा’ छैनभने देखिराख्नुहोस् ।

नापी आउँदैछ,
नक्सा बन्दैछ,
कित्ताकाट हुँदैछ ।

हिउँदको सिरेटो गामघरको चुल्होहरु छिरेपछि,
विश्वासहरुमा पहिरो गएको छ,
आशाहरु भत्किएका छन्,
भरोसाको धरोहर ढलेको छ ।
र त अराजक तुँवालोको साम्राज्यको मौका छोपेर
नापी नक्सा र कित्ताकाट गाम पसेकोछ ।
नशाले चुर भएको ढाक्रे-जँड्याहा,
मातेर आफ्नै गामघर नचिनेर,
रित्तो गाग्रो र खाली भाँडावर्तनहरुलाई लातले भकुण्डो खेलेझैं
नयाँ भिजिलान्ते खेल थपिएकोछ,
अनि –
नापी कसैको लागि खेल भएको छ,
नक्सा कसैको लागि झेल भएको छ,
कित्ताकाट कसैेको लागि पाकेको बेल भएको छ,
कसैका लागि गामघर पस्ने सुपर-मेल भएको छ,
यस्तो लाग्छ -आजकल दोर्णाचार्यहरु
शिष्यहरुलाई नापी नक्सा र कित्ताकाटको पाठ घोकाइरहेछन्,
एकलब्यहरु कित्ताकाटको साधना गरिरहेछन्,
यूध्रीष्ठिरहरु कित्ताकाटमा अंश मागेर झूठ बोलिरहेछन्
भीमसेन दुर्योधन र सकुनीहरु
रजौटाहरुको फिरौतीको प्लेकार्ड बोकेर
जाँघ ठोकिरहेकाछन्,
गाण्डीप धनुष शिंखण्डीहरुलाई भिराइएकाछन्,
नयाँ कुरुक्षेत्रको व्यूह रचनाजस्तो
यस्तो लाग्छ -कृष्ण कहनैंयाहरु
नापीको
नक्साको
कित्ताकाटको गीता घोकाइरहेछन्,
किनकि काले किस्नेहरु हिजो पनि यसरी नै चुकुल ठोक्थे,
शून्यमा उचाल्थे, पातालमा थेचार्थे,
र आज पनि नापी नक्सा र किताकाटमा अंश मुद्घा जोडेर
यसै गरिरहेछन्, त्यसै गरिरहेछन्,
र त भन्दैछु सुन्नुभा’ छैनभने सुनिराख्नुहोस् ।
देख्नुभा’ छैनभने देखिराख्नुहोस् ।

मान्छेहरु यहाँ सल्लाह गर्दैनन्, हल्ला गर्छन् ।
हल्ला गरिरहेकाछन्-
नापी हुकुमी छ,
नापी रकमी छ,
नक्सा जाली छ,
कित्ता खाली छ,
र त कतै काले-किस्नेहरुको जालमा
कतै नशाको तालमा हल्ला गरिरा’छन्,
हल्ला गर्छन्, फेरि हल्ला गरिरा’छन्-
नापी अनहारमा हुनुपर्छ,
नक्सा अनहारको हुनुपर्छ,
कित्ता-काट अनुहारमा हुनुपर्छ,
र अनहारैअनहारको लाल-मोहर ठोकिनुपर्छ,
र त कति सजिलै हल्ला बेचिरहेछन्,
”नयाँ नापीले गामघर धपक्कै बल्ने छ”
”नयाँ नक्साले गामघर सिंगापुर बन्ने छ”
”नयाँ कित्ताकाटले गामघर यूरोप पुग्ने छ”
तर भुलेका छन्, बोस्निया हर्जगोभिनिया पनि यूरोपमा पर्छ भनेर,
र त सन्नुभा छैनभने सुनिराख्नुहोस् ।
देख्नुभा’ छैनभने देखिराख्नुहोस् ।
dajuup@yahoocom
-जोर्डन हङकङ