भारतीय दूतावासबाट बस र एम्बुलेन्स प्रदान

भारतीय दूतावासबाट बस र एम्बुलेन्स प्रदान


उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा आज अपराह्न काठमाडौंमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुन्थ्यो । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योेगपति, व्यापारी, समाजसेवी, कलाकार, वरिष्ठ पत्रकारलगायत समाजका प्रतिष्ठित वर्गको उपस्थिति थियो ।

समारोहमा राजदूत पुरीले भारत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुगेको बताउँदै उहाँले दुई देशबीचको सम्बन्ध अत्यन्त सुमधुर छ भन्नुभयो । समारोहमा नयाँदिल्लीस्थित ‘ऋषि’ नामक सांगीतिक समूह र नेपाली सेनाको एउटा टोलीले विविध सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

आजै बिहान भारतीय दूतावासमा आयोजित कार्यक्रममा राजदूत पुरीले भारतको राष्ट्रिय झण्डा फहराउँदै गणतन्त्र दिवसमा अवसरमा भारतका राष्ट्रपतिले जारी गर्नुभएको सन्देश वाचन गर्नुभएको थियो । उहाँले विभिन्न सामाजिक संघसंस्था तथा अस्पताललाई छ बस र ३० एम्बुलेन्स एवं शैक्षिक प्रतिष्ठानलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । (रासस)