प्राकृतिक न्यायको सिद्धान्तविपरीत जातीय मुद्दा उठान

प्राकृतिक न्यायको सिद्धान्तविपरीत जातीय मुद्दा उठान


—वीरेन्द्रमणि पौडेल
हिजोआज नेपालमा जातीय हक, हित र उत्थानका नाममा एक जातिका मानिसले अर्को जातिका मानिसलाई घुमाउरो पाराले अपमान गर्न लागेको महसुस गरिएको छ । संविधानसभाको निर्वाचनपश्चात् जातीय पहिचानको कुरा उठाइयो । तमुवान भनियो, थारुवान भनियो, लिम्बुवान भनियो र मगरात भनिँदै अरू पनि जातीय नारा लगाइयो । कसैलाई अन्यमा गणना गरियो । हामीलाई तमुवान राज्य चाहिन्छ भनी गुरुङ समुदायले भन्यो । थरुहट प्रदेश चाहिन्छ थारूहरूले भने । राई–लिम्बूहरूले लिम्बुवान राज्यको माग गरे । यस्ता माग अरू जातका मानिसले पनि उठाए । माग गर्नेहरूले जातीय राज्यको माग त गरे तर परिणामको हिसाब गरेनन् । अफ्रिकन मुलुक रुवाण्डामा जम्मा दुई जातिका मानिस छन् हुतु र तुत्सी । राष्ट्र निर्माण प्रक्रियामा सँगै मिलेर काम गरेका हुतु र तुत्सी जातका मानिस जब मुलुक सक्षम हुँदै गयो तब उनीहरूमा आफ्नो जात ठूलो र अर्को जात सानो भन्ने अहंकार पलायो । अहंकार विस्तारविस्तार विकसित हुँदै गयो । प्रारम्भमा हाँसेरै ‘तेरोभन्दा मेरो जात ठूलो’ भन्ने गरेका हुतु र तुत्सी जातका मानिसहरू पछि हात हालाहालको स्थितिमा पुगे । त्यो स्थितिबाट पनि माथि उक्लेर घरेलु हतियार प्रयोग गरेर हानाहान गर्न लागे । सयौँको सङ्ख्यामा मानिस मर्न थाले । रिस र अहंकारको पारो अझै माथि उक्लियो । एक जातिका मानिसले अर्को जातिका मानिसलाई सखाप पार्न हुतु र तुत्सीले अत्याधुनिक राइफल नै प्रयोग गर्न थाले । हेर्दाहेर्दै जातीय युद्धको डढेलो सल्कियो र रुवाण्डा मशानघाटमा परिणत भयो । लाखौँ–लाख रुवाण्डाली जनता मरे । यतिबेला हाडछाला मात्र बाँकी रहेको रुवाण्डा धिकिरधिकिर बाँचिरहेको छ ।
अर्को दयनीय अवस्था छ नाइजेरियाको । सुरुमा जातीय राज्यका आधारमा सङ्घीयतामा सहमतिकै आधारमा गएका नाइजेरियनमध्ये तीन बहुसङ्ख्यक जातिका नाममा तीन प्रदेश छुट्याइयो । एक वर्षपछि अर्का एघार जातिका मानिसले आ–आफ्ना जातका नाममा राज्यको माग गरे । तीन राज्यवालाले राज्य दिन आनाकानी गरे । एघार जातिका मानिसले ‘तीन जातिका नाममा अलगअलग राज्य हुनसक्ने एघार जातिका नाममा छुट्टाछुट्टै राज्य हुन किन नहुने ?’ प्रश्नसहित जातीय राज्यको माग स्थापित गर्न हतियारै उठाए । लाखौँ मानिस मरे । अन्ततोगत्वा एघार जातिलाई चित्त नबुझाई सुख पाएनन् । रगतको खोलो बगेपछि एघार जातिले छुट्टाछुट्टै राज्य पाए । एघार जातीय राज्य थपिएपछि नाइजेरियामा १४ वटा जातीय राज्य भए । एघार जातीय राज्य थपिएलगत्तै २२ जातिका मानिसले जातीय राज्यको माग गरे । त्यो मागलाई करिब ६ महिनासम्म सशस्त्र बल प्रयोग गरेर दबाउने प्रयास भयो तर सकेनन् । ठूलो सङ्ख्यामा मानिस मरे । भौतिक संरचना ध्वस्त भयो । आखिर केही सीप चलेन र बाध्य भएर २२ वटा जातका मानिसलाई जातकै आधारमा राज्य छुट्याइयो । यसरी ३६ वटा राज्यमा विभाजित हुँदा लाखौँ मानिस मारिएको नाइजेरियामा यतिबेला अरू १४ ओटा जातिका मानिसले जातीय राज्यको माग गर्दै सङ्घर्षमा उत्रिएका छन् । मानव रगत बगेको बग्यै छ । अझै भन्न लायक विषय यो हो कि नाइजेरियामा दुई सय जातिका मानिसको बसोबास रहेको छ । यदि यही पाराले जातीय राज्य निर्माणका लागि लडाइँ भइरहने हो भने कति मानिस मर्लान् र कति बाँकी रहलान् । बाँकी रहेकाले अन्तिममा पाउने राज्यमा के बाँकी होला ? कसका लागि प्रदेश होला ? प्रश्नहरू कहालीलाग्दा छन् ।
नेपालमा संविधानसभाको विघटनसँगै यतिबेला जातीय मुद्दाको उठान कमजोर भएको छ, तर उठाउन छाडिएको छैन । खबरले भनिरहेको छ– राजनीतिक दलहरूबाट अलग्गिएर ‘पहिचान मात्र खोजिएको’ भन्दै जातविशेषका मानिस मिलेर राजनीतिक दल निर्माण गर्न खोजिँदै छ । यो खालको परिस्थितिले पनि कालान्तरमा जातीय द्वेष नै सिर्जना गर्छ । कान सीधा समाऊ वा घुमाएर आखिर समातिएको त कानै हो । नेपाली राष्ट्रिय राजनीतिमा उपल्लो हैसियत निर्माण गरिसकेका, पटकपटक मन्त्री भएर नेपालको वास्तविक अवस्था थाहा पाइसकेका, यतिबेलासम्म एकीकृत नेपाल कम्युनिस्ट पार्टी एमालेमा आबद्ध अशोक राई सबै जातका नेपाली जनताका लागि सम्मानित व्यक्ति हुन् । उनले राजनीतिमार्फत जीवनभरि नेपाली जनताका लागि सेवा गरे । सेवाबापत नेपाली जनताले उनलाई सम्मान दिए । विभिन्न मन्त्रालय सुम्पिए । तर, आज उनको चिन्तन र वचनलाई आधार मानेर व्याख्या गर्दा लाग्छ अशोक राई सबै नेपालीको प्रिय बनिरहनुभन्दा जातविशेषका मानिसको प्रिय बन्न खोज्दै छन् । प्रधानमन्त्री बन्ने हैसियत निर्माण गरिसकेका उनी ज्यादासेज्यादा कुनै एक प्रान्तको मुस्किलले मुख्यमन्त्री बन्न खोज्दै छन् । अर्का लोकप्रियताको सिँढी उक्लिरहेका राजकुमार लेखी पनि प्रधानमन्त्री वा राष्ट्रपतिसम्म बन्नसक्ने हैसियत निर्माण गरिसकेका छन् तर यी नेता पनि आज एउटा सानो जातीय घेरामा आफूलाई अलमल्याइरहेका छन् । राजकुमार लेखी र अशोक राईहरूलाई एक राष्ट्रप्रेमी नागरिकको एउटा महत्वपूर्ण कामबारे जानकारी दिन उपयुक्त देखिन्छ ।
चितवन जिल्ला भरतपुर नगरपालिका– ७ कृष्णपुर बुद्धचोकनिवासी लालबहादुर थापामगरले करिब चार वर्षअगाडि आफ्नो छोराको व्रतबन्ध (छेवार) गर्दा गाउँभरिका गुरुङ, मगर, तामाङ, बाहुन, क्षेत्री, दराई, थारू, कुमाल, दमाई, कामी भन्ने गरिएका सबै जातका मानिसलाई निम्तो दिए । सबैलाई एकै ठाउँमा राखेर खाना खान दिए । सबै जातका मानिसले उनको छोरालाई टीको लाएर आशीर्वाद दिए । इष्टमित्र र कुटुम्बलाई मात्रै बोलाउँदा पनि हुने अवस्थामा सबै गाउँलेलाई निम्तो किन दिइएको होला भन्ने जिज्ञासामा उनको जवाफ यस्तो थियो, ‘मानिस भएर जन्मिएपछि मानिसकै कर्म गर्नुपर्छ, पहिला मानिस हो त्यसपछि मात्रै जातको कुरा आउन सक्ला । फेरि जातको कुरा संस्कार र संस्कृतिसँग सरोकार राख्छ । विभिन्न रीतिरिवाज र संस्कृति अँगाल्ने सबै नेपाली जनता हुन् । मानव हुन् । त्यसकारण हाम्रो मगरजातिको कुलकुटुम्ब, रीतिरिवाज, धर्म, संस्कृति आफ्नै ठाउँमा छ त्यो हामी मान्छौँ, छाड्दैनौँ तर मानव समाजमा बसेपछि सबै मानवसँग मिलेर, सहयोग र सद्भाव लिएर, दिएर बाँच्नुपर्छ ।’ यस्तो जवाफमा कति फराकिलो चिन्तन देखिन्छ । यो चिन्तन कम्तीमा अशोक राई र राजकुमार लेखीहरूले महसुस गर्नुपर्छ ।
कसैले पनि जातलाई महत्व दिनुहुँदैन । महत्व मानवतालाई दिनुपर्छ । जहाँ जातको कुरा गरिन्छ त्यहाँ आतङ्क मच्चिन्छ । मानव जात नै सङ्कटमा पर्छ । विकास र शान्तिप्रक्रिया अवरुद्ध हुन्छ । जापानमा जातको कुरा कहिल्यै उठ्दैन किनकि त्यहाँ जापानिजबाहेक अरू जातका मानिस छैनन् । एक जातीय राष्ट्र हो जापान । त्यस्तै कोरिया पनि एकै जातका मानिस बस्ने देश हो । जातीय विवाद र चर्चा यी देशमा कहिल्यै भएका छैनन् तर जनवादी शासन व्यवस्था अँगालेको चीनको कुरा अलि बेग्लै छ । सन् २००२ को तथ्याङ्कअनुसार एक अर्ब ३० करोड जनसङ्ख्या भएको चीनमा ५६ जातिका मानिस बसोबास गर्छन् भने एक ‘हान’ जातिको जनसङ्ख्या मात्रै एक अर्ब २८ करोड रहेको छ । यीमध्ये करिब ५० लाख जनसङ्ख्या मङ्गोलियनहरूको छ । लगभग ५० लाख तिब्बतीयन छन् । झुआङ जाति एक करोड ६० लाख, हुई जाति ९० लाख र उइगुर जातिका मानिस झन्डै ७० लाख छन् । यसरी एउटै ‘हान’ जातिका मानिसको त्यति ठूलो जनसङ्ख्या भइकन पनि थोरै सङ्ख्यामा रहेका ‘उइगुर’ जातिका मानिसले केही वर्षअघि विभिन्न माग राखेर चीनमा आन्दोलन गरेका थिए । ‘उइगुर’ जातिका मानिसलाई चित्त बुझाउन चिनियाँ सरकारलाई हम्मेहम्मे परेको थियो । चीन हरेक कोणबाट विकसित र शक्तिशाली भएको छ । यो मुलुकलाई सानो जनसङ्ख्या भएको ‘उइगुर’हरूलाई चित्त बुझाउन मुस्किल हुन्छ भने कुल जनसङ्ख्या दुई करोड ७० लाख भएको, करिब सय जातिका मानिस र प्राय: हरेक कोणबाट कमजोर सावित मुलुक नेपालमा जातकै नाममा असन्तुष्टि र विवाद बढ्दै गयो भने नेपालको हालत के हुन्छ ? कुनै पनि हालतमा त्यस्तो अवस्थामा मुलुकको अस्तित्व खतरामा पर्छ । यो मुलुक कुनै एक जातिको थिएन, होइन र भविष्यमा पनि हुने छैन । हामी सबै नेपालीका पुर्खाहरूको रगत र पसिनाले यो मुलुकको निर्माण भएको हो । मुलुक जोगाउने र अगाडि बढाउने जिम्मेवारी हामी सबै नेपालीको हो । व्यक्ति म र मेरो होइन सबै जातका नेपाली जनता हामी र हाम्रो देश भन्नुपर्छ । त्यसकारण धेरै सिकेका, जानेका विद्वान्द्वय अशोक राई र राजकुमार लेखीहरूले एकपटकमात्रै भए पनि ती गैरराजनीतिक व्यक्तित्व लालबहादुर थापाको चिन्तनलाई अनुशरण गर्नैपर्छ । यसैमा हित छ, कल्याण छ अशोक राईको, राजकुमार लेखीको र अन्य सबै जातका दुई करोड ७० लाख नेपाली जनताको ।