सामुदायिक रेडियोहरूको राष्ट्रिय भेला सकियो

सामुदायिक रेडियोहरूको राष्ट्रिय भेला सकियो


सकारात्मक सामाजिक रुपान्तरण अभियान सञ्चालन गर्नेमा सहमति जनाउँदै सामुदायिक रेडियोहरूको १३औँ राष्ट्रिय सम्मेलन पोखरामा सकिएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को आयोजनामा हिजो शुक्रबारदेखि शुरु भई आज सम्पन्न सम्मेलनले सात बुँदे घोषणापत्रमा ‘घरघरमा रेडियो, जनजनमा खबर, सुसूचित र जिम्मेवार नागरिक समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ सकारात्मक सामाजिक रुपान्तरण अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ ।

सम्मेलनले महिला तथा पछाडि पारिएका समुदायको सहभागिता र नेतृत्व सुनिश्चित गर्न सबै रेडियोले नीतिगत रुपमा नै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको अकोराबका अध्यक्ष सुवास खतिवडाले बताए ।

बालविवाह, दाइजोप्रथा, छाउपडी, छुवाछूत, बोक्सी, सामाजिक विभेद र कुरीतिको अन्त्यका लागि सामुदायिक रेडियो प्रसारक संघमार्फत सञ्चालन भइरहेको अभियानलाई निरन्तरता दिनेमा सहमति जनाउँदै थप कार्यक्रम सञ्चालन गरिने घोष्णापत्रमा उल्लेख छ । राससका अनुसार सम्मेलनमा समुदायको विपद्सँग जुध्नसक्ने क्षमता अभिवृद्धिका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त भएको अकोराबका महासचिव गोविन्द देवकोटाले जानकारी दिए ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधिमार्फत एफएम रेडियोको प्रसारण इजाजत, नवीकरण, समन्वय, अनुगमनलगायत विषयलाई व्यवस्थित गर्न स्थानीय तहलाई जिम्मा दिएकोप्रति असहमति जनाउँदै सम्मेलनले मन्त्रालयको उक्त कार्यविधि यथाशीघ्र खारेज गर्न माग गरेको छ ।

सामुदायिक रेडियो प्रसारकहरूको सहभागितामा कार्य्विधि निर्माण गर्न माग गर्दै पोखरा सम्मेलनले स्थानीय तह र सामुदायिक रेडियोबीचको सहकार्यका लागि स्पष्ट नीति बनाई सबै तहमा परिपत्र गर्न, समानुपातिक विज्ञापन नीति कार्यान्वयनका लागि सर्वोच्च अदालतले निर्देशन दिँदासमेत कार्यान्वयन नभएकाले तत्काल विज्ञापन नीति कार्यान्वयन गर्न पनि माग गरेको छ ।

त्यस्तै, सञ्चार मन्त्रालयले संगीत रोयल्टी विवादका नाममा एफएम रेडियोहरूको इजाजतपत्र नवीकरण एकपक्षीय ढंगले रोकेको निर्णयप्रति देशभरका रेडियोले गम्भीर असहमति प्रकट गरेका अकोराबका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले बताए ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेको उक्त सम्मेलनमा मुलुकभरमा सञ्चालन भएका २८० सामुदायिक रेडियोको सहभागिता थियो ।