उज्यालो नेपालका लागि रोबोट भिडाइँदै

उज्यालो नेपालका लागि रोबोट भिडाइँदै


उर्जा देश विकासको सम्प्रेषक हो। विकाससँग पर्याय भएको उर्जा प्रयोग तथा उत्पादनका विविध प्रविधिहरु छन्। यावत् प्रविधिहरुमध्ये सौर्य उर्जा निकै प्रयोगमा आएको प्रविधि हो। बाटोमा लगाइने सोलार बत्ती ती प्रयोगहरुमध्येको एक वृहत प्रयोग हो।

बत्ती सौर्य उर्जाको क्षमता वा कार्यसम्पादनमा विविध कारणले असर गरिरहेको हुन्छ। वातावरणीय प्रदुषण र धुलोले सौर्य प्यानलमा जमेर हुने कार्यक्षमताको ह्रास एक उल्लेख्य समस्याको रुपमा देखिएको छ। यही समस्याको समाधानको लागि रोबोटको प्रयोग र उज्यालो नेपालको लागि हाम्रो योगदान भन्दै त्रिभुवन विशवविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका विभिन्न कलेजका इन्जिनियरिङ विद्यार्थीका टीमले प्रतिष्पर्धा गर्दैछन्।

देशमा विज्ञानको क्षेत्रमा अग्रणी भूमिका खेल्दै, यसको विकासलाई आत्मसात गरेर अगाडि बढ्नु त्रिभुवन विश्वविद्यालय तथा यसअन्तर्गतका संस्थाहरुको जिम्मेवारी हो। प्राविधिक क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ्ग अध्ययन संस्था (ई.अ.सं) यसको विकास र प्रवर्धनमा समर्पित रहँदै आएको छ। यही संस्कारलाई निरन्तरता दिँदै इ.अ.सं. त्रिविको प्राविधिक अनुसन्धान तथा विकास केन्द्र (CARD)ले ‘उज्यालो नेपाल’ विषयक राष्ट्रिय रोबोट प्रतियोगिता सैनिक प्रशिक्षण तथा तालिम केन्द्र, राजदल गढ, लगनखेलमा, आगामी फागुन ३, ४ र ५ गते आयोजना गर्दै छ।

लीग कम नकआउट प्रकृयाका पाँच मिनेट हुने हरेक खेलमा रोबोटले पोलमा राखेको सोलर प्यानल सफा गरेर बत्ती बाल्छ र सबै भन्दा पहिले बत्ति बाल्ने रोबोटले झलल उपाधि हासिल गर्दछ।

यसबारे जानकारी दिन आयोजित कार्यक्रममा शुभकामनाका मन्तव्य राख्दै प्रमुख अतिथि पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख प्राडा गोकर्णबहादुर मोत्राले यस्ता कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुभयो।

त्यसैगरि आयोजक तथा ‘CARD’का उपनिर्देशक सह प्राडा अरुण तिमिल्सिनाले प्रयोगात्मक विज्ञानका महत्व र यसमा प्रकाशनको महत्वबारे प्रकाश पार्नुभयो। साथै विजेताले रू २ लाखसम्मको उपाधि जित्न सक्ने पनि खुलासा गर्नुभयो। कार्यक्रमका प्रस्तोताले रोबोट निर्माणसम्बन्धी मेकानिकल, इलेक्ट्रोनिक्स आदि प्राविधिक पक्ष र नेपालमा रोबोटिक्सको अवस्थाबारे प्रस्तुति गर्नुभएको थियो।