पूर्वीय सभ्यता, परम्परा र संस्कृतिमा गर्व गर्ने नेपाली समाजमा केही समययता सम्बन्धहरू सङ्कटमा पर्दै गएका छन । सबै त नभनौँ तर धेरै पति—पत्नीका सम्बन्धहरू बडो जोखिमपूर्ण तवरले अघि बढिरहेका छन् या अघि बढ्न नसक्ने अवस्था आएपछि अन्तिम विकल्पको रूपमा सम्बन्धविच्छेद हुन थालेको छ । काठमाडौं जिल्ला अदालतको पछिल्लो तथ्याङ्कले नेपाली समाज बिस्तारै–बिस्तारै फरक अवस्थातिर ढल्किरहेको सङ्केत गरेको छ । जुन अवस्था परिवार, समाज र मुलुकका लागि निश्चय नै राम्रो होइन तर यो सब कुराको जानकारी हुँदाहुँदै पनि सम्बन्धको यो सङ्क्रमणकालबाट मुक्ति पाउन त्यति सहज भने देखिँदैन । काठमाडौं जिल्ला अदालतको तथ्याङ्कअनुसार, १७ सयभन्दा बढी सम्बन्धविच्छेदका मुद्दाहरू यो एक वर्षका बीचमा परेका छन् । लोग्ने–स्वास्नीको नाता पूर्वजन्ममै तय भएर आएको हुन्छ भन्ने मान्यता राख्दै आएको नेपाली समाजमा एउटा जिल्लामा मात्र एक वर्षमा १७ सयभन्दा बढी जोडी एक–अर्काबाट छुट्टिनका लागि अदालतको ढोका ढकढक्याउन पुग्नु निकै सोचनीय कुरा हो । सम्बन्धविच्छेदका लागि अदालत पुग्नु अन्तिम विकल्प हो । साँझ हुने झगडामा ‘म तिमीसँग अब कुनै हालतमा बस्न सक्दिनँ, भोलि नै अब अदालत जान्छु’ भन्दै भोलिपल्ट सामान्य दिनचर्यामा रहने, फेरि केही दिनपछि यही संवाद दोहोर्याउने गर्दै कति जोडी ‘सँगै’ बाँचिरहेका होलान्– अनुमान गर्न सकिन्छ । कतिले चाहिँ त्यहाँसम्म नपुगी अनेक आरोप–प्रत्यारोपबीच सम्बन्धलाई अगाडि बढाइरहेको देखिन्छ । विशेषगरी छोरा–छोरी हुने र त्यसमा पनि छोरी हुने जोडीले भोलि तिनको भविष्यका लागि भनेर सम्बन्ध पुन: जोडिनै नसक्ने गरी ध्वस्त भइसक्दा पनि जबर्जस्ती धान्न खोजिरहेकाहरूको सङ्ख्या पनि धेरै छ । काठमाडौं मात्र नभएर उपत्यकाका भक्तपुर, ललितपुरलगायत बाहिरका प्राय: सबै जिल्लामा सम्बन्धविच्छेदका घटनाहरू बढिरहेका छन् । केही वर्षअघिसम्म ‘पश्चिमा हावा’को रूपमा लिइने सम्बन्धविच्छेद अहिले सामान्य घटना या घर–घरकी कहानी जस्तै बन्न पुगेको छ । आखिर सम्बन्धहरूमा यति धेरै सङ्कट किन आइरहेको छ त ? चाहेर–नचाहेर नेपाली समाजमा अब यसलाई बहसको विषय बनाउन आवश्यक भइसकेको छ ।
कतिपय मानिस भन्ने गर्छन्– वैदेशिक रोजगारीले पारिवारिक संरचना ध्वस्त बनायो । लोग्ने या स्वास्नी विदेशमा काम गर्न गएका कारण विवाहेत्तर सम्बन्ध मात्र होइन सम्बन्धविच्छेद पनि बढ्यो । तर, सम्बन्धहरू त सँगै बसेकाहरूबीचको पनि बिग्रिरहेकै छन् । सँगै जिउन नसकेर अदालतसम्म पुगेका ती मुद्दाहरूमध्ये कमै मात्र वैदेशिक रोजगारीसँग जोडिएका छन् । कतिपयले भनेको सुनिन्छ–महिलाहरू सशक्त भए, यो सब सशक्तीकरणको प्रतिफल हो । तर, घर संसारबाहेकको कुरा थाहै नपाएकाहरूले पनि सम्बन्धविच्छेदका लागि मुद्दा हालिरहेका छन् । साधारण खेती–किसानी गरेर जीवन धानिरहेकाहरूमा पनि समस्या बढ्दै गएको देखिन्छ । धेरैले भन्छन्– शिक्षाले महिलामा चेतना भर्यो त्यसैले सम्बन्धविच्छेद सामान्यझैं बन्न लाग्यो, तर मुलुकभरिका जिल्ला अदालतमा परेका मुद्दाहरूलाई हेर्ने हो भने यसलाई पनि सम्पूर्ण सत्य मान्न सक्ने अवस्था छैन । वर्तमानमा देखिएको सत्यचाहिँ के हो भने लोग्ने—स्वास्नीका अधिकांश सम्बन्धहरू बिग्रँदै/भत्कँदै गएर निकै ठूलो खाडलमा परिणत हुँदै गएका छन् । आखिर पति–पत्नीबीचको सम्बन्धमा यति धेरै सङ्कट किन आइरहेको छ ? के नेपालमा भित्रिएको यो नयाँ ‘ट्रेन्ड’ हो ? या सम्बन्धहरू पहिला पनि यसैगरी चलिरहेका थिए तर अहिले सार्वजनिक हुने, एक–अर्कालाई भन्ने वा अदालतसम्म पुग्ने ‘ट्रेन्ड’मा चाहिँ विकास भएको हो ? पहिला–पहिला जे–जे भए पनि घरपरिवारको इज्जत, छोरा–छोरीको भविष्य भनेर मानिस चुपचाप जिन्दगीलाई धकेल्थे तर अहिले आएर यो मौनता तोडिएको पो हो कि ? समाज विकासमा काम गर्नेहरूका लागि यो छलफल र बहसको विषय हो । तर, हामीकहाँ जुन रूपमा यो विषयमा चर्चा हुनुपर्ने हो त्यो हुन भने सकेको छैन ।
सम्बन्धविच्छेदको कुरा हाम्रो समाजमा पहिला महिलाको मात्र प्रतिष्ठाको विषय बनाइन्थ्यो । तर, केही समययता पुरुषहरू पनि यसबाट नराम्ररी पिरोलिएको देखिन्छ । महिलाले आफूमाथि भएका अन्यायलाई व्यक्त गर्न सक्ने ठाउँहरू छन्, निकायहरू छन् । यो समाजले पहिला जसरी ठूला निर्णायक स्थानमा महिलाको सहभागिता र तिनको ‘मास्क्युलिन’ भूमिकाको कल्पना गरेन त्यसैगरी पुरुषहरूमाथि हुन सक्ने अन्यायको पनि परिकल्पना गरिएको रहेनछ भन्ने कुरा यस्ता कुराहरूले प्रमाणित गर्छन् । महिलाहरूले आफूमाथि भएका घटनाहरू भन्न सक्ने, आफूमाथिको पीडामा रुन सक्ने वातावरण यो समाजमा छ । आफूलाई सधैं ‘बहादुर’ देखाउनुपर्ने पुरुषहरूले भने यो मामिलामा सङ्कुचनको परिधिलाई नाघ्न सकेका छैनन् । यसको असर बाहिर मात्र नभएर मनोवैज्ञानिक रूपमै परेको देखिन्छ । परिणामत: सम्बन्धविच्छेदका घटनामा पनि जे कारणले सम्बन्ध टुटेको हो त्यसको वास्तविक कारण बाहिर आउन सकेको छैन । सम्बन्धविच्छेद के कारणले हुन्छ ? आखिर सम्बन्धहरू किन यसरी टुटिरहेका छन् ? यसको खोजी हामीकहाँ गरिएको छैन । बढ्दो सम्बन्धविच्छेदको कारण बुझ्नका लागि अदालतमा दिइने परम्परागत निवेदन पनि बाधक छ । आफ्नै कमाइमा बाँचिरहेका भए पनि लोग्नेले खान दिएन, लाउन दिएन, कुटपिट गर्यो जस्ता कुराहरू लेखेर महिलाले निवेदन हालेपछि सम्बन्धविच्छेदको प्रक्रिया अघि बढ्छ । यता लोग्ने नै अन्यायमा परेको रहेछ भने पनि सम्बन्ध टुटाउनका लागि सम्झौताको आधारमा निवेदनचाहिँ आफूमाथि अन्याय भएको भनी स्वास्नीले नै हालेका उदाहरणहरू पनि छन् । मानिस हो गल्ती महिला या पुरुष दुवैबाट हुन सक्छ, महिला यस्तै हुन्छन् र पुरुष यस्तै हुन्छन् भनेर भन्न मिल्दैन, यो त मानिसको प्रवृत्तिमा भर पर्ने कुरा हो । तर, सम्बन्धविच्छेदको सवालमा अदालतले गल्ती पुरुषले मात्रै गर्छन् भन्ने परिकल्पना गरेको देखिन्छ । हालै एउटा संस्थामा आएर एक अधबैंसे पुरुषले भनेका थिए, ‘मलाई थाहा छ, उनको केटासाथी छ तर मेरी श्रीमतीको अरूसँग सम्बन्ध छ भनेर म कसरी भन्दै हिँडँु ? यसो भन्ने दिन आउनुभन्दा त बरु मर्नु जाती ।’ श्रीमतीको कसैसँग सम्बन्ध छ भन्ने कुराको आत्मसात् गर्नु लोग्नेमान्छेका लगि निकै कठिन काम रहेछ भन्ने उनको कुराबाट बुझ्न सकिन्छ । तर, महिलाहरूले त सदियौँदेखि लोग्नेका केटीसाथी मात्र होइन सौताको रूपमा श्रीमती नै व्यहोर्दै आएका हुन् । शायद यसप्रकारको ‘रियलाइजेसन’ महिला–पुरुष दुवैमा हुँदो हो त सम्बन्धहरूमा यति धेरै तिक्तता आउने थिएन होला ।
अहिले सम्बन्धहरूमा समस्या आउनुको एउटा कारण एक–अर्काप्रतिको बुझाइमा फरकपन हो । एक–अर्कालाई हेर्ने दृष्टिकोण र सम्मानित व्यवहारले पनि यसमा फरक पारिरहेको हुन्छ । श्रीमतीको व्यवहार त्यति राम्रो नभएको पुरुषको अन्य महिलासँग आत्मीयता बढ्यो भने उनका साथीहरूले त्यसलाई सामान्य रूपमा लिँदै ‘घरमा त्यस्ती स्वास्नी छ, के भयो ठीकै त छ नि, बिचराले बाँच्नुपरेन ?’ भन्ने गरेको सुनिन्छ, तर त्यही ठाउँमा कसैको साह्रै किचकिचे लोग्ने रहेछ भने… उसले चाहिँ बाँच्नुपर्दैन । यदि उस्तै घटना महिलामा दोहोरियो भने ऊ रातारात चरित्रहीन हुन पुग्छे । महिला होस् या पुरुष सम्बन्धमा एक–अर्काप्रति इमानदार हुन आवश्यक छ तर हाम्रो समाजमा एउटै विषयमा महिला र पुरुषलाई हेर्ने मापदण्ड फरक छ । यो फरक मापदण्डले पनि केही समस्या निम्त्याएको देखिन्छ । सांस्कृतिक कारण पनि अहिले सम्बन्धविच्छेद बढ्नुको प्रमुख कारकतत्वमध्ये एक बन्न पुगेको छ । राजधानीलगायत अधिकांश जिल्लामा अहिले माओवादी कार्यकर्ताको सम्बन्धविच्छेद बढिरहेको छ । आन्दोलनताका विवाह गर्दा जातपात केही हेरिएन त्यसको सीधा असर सांस्कृतिक मूल्य–मान्यताहरूमा पर्न गयो र अन्तत: सम्बन्धविच्छेद गर्नुपर्ने अवस्थाको सिर्जना भयो । यस्ता उदाहरण धेरै छन् । प्राय: दलित र क्षेत्री–बाहुनबीच या जनजाति र क्षेत्री–बाहुनबीचको विवाहमा दरार आएको देखिएको छ । केही समयअघि डडेल्धुरामा एक माओवादी जोडीको एउटा मुद्दा परेको थियो, केटी ब्राह्मण, केटा दलित । माओवादी आन्दोलनभरि सँगै बसे, हिँडे, खाए मतलबै भएन, पछि घर–व्यवहार गर्नुपरेपछि धेरै कुरा मिलेन । सासूले सुँगुरको मासु खान भनिन्, बुहारीले म बाहुनकी छोरी सुँगुर खान्न भन्दा सासूको जबाफ आयो– त्यसो भए मेरो छोरासँग किन विवाह गरेको त ? ऊ दलित भन्ने थाहा थिएन ? मतभिन्नता बढ्दै गयो र अन्तत: सम्बन्धविच्छेद भयो । सबैको यस्तै हुन्छ भन्ने होइन, तर परम्परा र संस्कृतिले वैवाहिक सम्बन्धमा निकै माने राख्ने गरेको पाइएको छ । यस्तै सञ्चारको बढ्दो प्रयोगले पनि मानिसको जिन्दगीलाई हेर्ने दृष्टिकोण र जीवन बाँच्ने सवालमा परिवर्तन ल्याइरहेको छ । पहिलापहिला मानिसहरू जे परे पनि सहेर बस्थे, रातदिनको झैझगडाबीच तनावमा जीवन गुजार्थे तर अहिलेको पुस्तामा न त त्यो सहनशीलता छ न त सोच नै । सँगै बसेर दु:खी हुनुभन्दा टाढा भएर खुसी हुनु नै बेस भन्ने सोचाइ राख्नेहरूको सङ्ख्या बढ्दो छ । कारण अनेक छन् तर यसलाई वैदेशिक रोजगारीले हो… भनेर हल्काफुल्का रूपमा लिने र उडाउने गरिएको छ । कुनै पनि समाजका लागि पारिवारिक विखण्डन निकै गम्भीर र चुनौतीपूर्ण विषय हो । यही रूपमा यो समस्या बढ्दै जाने हो भने भविष्यमा टोलटोलमा वृद्धाश्रमको आवश्यकता पर्ने कुरालाई नकार्न सकिँदैन । त्यसैले यसलाई अहिले नै गम्भीरतापूर्वक लिन जरुरी छ ।
प्रतिक्रिया