चित्रसेनकलीले यसरी दिइन् निकुञ्जमा खुशीयाली

चित्रसेनकलीले यसरी दिइन् निकुञ्जमा खुशीयाली


– प्रणय साह

पर्सा राष्ट्रिय निकुञ्जमा रहेकी चित्रसेनकली नामक हात्तीले पोथी छावालाई जन्म दिएकी छ । चित्रसेनकलीले हिजो शनिबार छावा जन्माएपछि निकुञ्जस्थित हात्तीसारका कर्मचारीमा खुशीयाली छाएको छ भने उनीहरू माउ–बच्चाको स्याहारमा व्यस्त भएका छन् ।

करिव १२ वर्षपछि हात्तीसारमा स्वस्थ छावाको जन्म भएको हो । यत्तिका वर्ष अन्तरालमा हात्तीले छावा जन्माएकोले पनि पछुवा, माउतेलगायत अन्य कर्मचारी खुशी साटासाट गर्दै स्याहारसुसारमा जुटेका हुन् । करिब २२ महिनाको प्रतीक्षापछि गर्भवती चित्रसेनकलीले अमलेखगञ्जस्थित हात्तीसारमा बिहान ३ बजे पोथी छावालाई जन्म दिएकी हो ।

१२ वर्षको उमेरमै चित्रसेनकलीले स्वस्थ पोथी छावालाई जन्म दिएपछि निकुञ्जमा खुशी थपिएको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । चित्रसेनकली गर्भवती भएको २२ महिना पूरा भई २३ महिना लागेपछि छावाको जन्म भएको आचार्यले जानकारी दिए ।

हात्ती गर्भवती भएको २४ महिना वा त्यसपछि जन्मिने छावालाई खतरा हुन सक्ने चिकित्सकको भनाई छ । बच्चा जन्माउने क्रममा माउ हात्तीले खुट्टाले थिचेर मार्न सक्ने समेत खतरा हुँदा आरक्षका पछुवा र माउते लामो समयदेखि टेन्ट गाडेर रातिको समयमा समेत कुर्ने गरेका थिए ।

यसअघि २०५६ सालमा भवानीकली नाम गरेको हात्तीले मृत भाले छावा जन्माएको थियो । त्यसयता हात्तीसारमा कुनै छावाको जन्म भएको छैन । पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत दरोगा जलेन्द्रप्रसाद चौधरीका अनुसार निकुञ्जको प्रतापपुर पोस्टमा गस्तीका लागि काजमा खटिएको बेला चित्रसेनकली हात्ती २ र ३ दिन हराएर फर्किएपछि एउटा जङ्गली मत्ता हात्तीसँग गर्भधारण गरेको र त्यही आधारमा चित्रसेनकली २०७२ चैत १५ गतेतिर गर्भिणी भएको अनुमान गरिएको थियो ।

हात्तीसारमा रहेका १० हात्तीमध्ये चित्रसेनकलीसमेत अन्य चार ढोई हात्ती मात्र वयस्क तथा प्रजनन क्षमता भएका छन् । गर्भिणी भएको एकीन भएपछि उसलाई अन्य हात्तीका तुलनामा आहार, आराम र सेवामा विशेष हेरविचार गरिएको थियो ।