इन्स्पेक्टर मधुसूदनका मातापिता भेट्दा…

इन्स्पेक्टर मधुसूदनका मातापिता भेट्दा…


देशव्यापी दुव्र्यसनविरुद्धको अभियान लिएर केही दिनअघि मात्र दाङ र चितवन पुग्ने क्रममा मसँग प्रहरी प्रधान कार्यालयबाट यस अभियानमा खटिनुभएका इन्स्पेक्टर मधुसूदन न्यौपाने पनि साथमा हुनुहुन्थ्यो । आमजनतालाई सहभागी गराई प्रहरी कार्यमा सहयोग लिने र अपराधीहरूको पनि विचार परिवर्तन गरी नैतिक बनाउन सक्ने अद्वितीय खुबी उनीभित्र असईको जिम्मेवारीमा रहँदादेखि नै भएको कुरा मलाई बर्दिया र सुर्खेत बस्दा नै थाहा थियो । दुब्ला–पातला मधुसूदनको क्षमता म एसपी भए पनि कदर गर्दथेँ ।
एसपीको रूपमा बर्दियामा केही महिना बसेपछि मेरो सरुवा सुर्खेतमा भयो । त्यतिबेला सुर्खेत पनि बर्दियाझंै माओवादी प्रभावित क्षेत्र थियो । मैले मधुलाई साथै सुर्खेत लगेँ । उनले अरू असईहरूसमेत मिलाई एक स्क्वाड बनाए । त्यो स्क्वाडले सुर्खेतलाई शान्त बनाउन ऐतिहासिक योगदान दियो । अहिले पनि त्यो समूहले देखाएको बहादुरी र विवेकपूर्ण काम सम्झँदा मलाई उनीहरूप्रति गौरव लाग्छ । कहिले–कहिले अझै मलाई लाग्छ कि मैले उनीहरूलाई आवश्यकताभन्दा त्यस समय बढी नै जोखिममा खटाएको थिएँ तर जस्तोसुकै जोखिमपूर्ण कामहरू पनि उनीहरू फत्ते गरेरै फर्कन्थे । सिनेमाका कथाझै लाग्ने उनीहरूले गरेका अपरेसनहरू वास्तवमै प्रहरी कार्यको इतिहासमा अविष्मरणीय हुन सक्छन् । म योजना गर्दथँे, उनीहरू त्यसलाई लागू गर्दथे । उनीहरू त्यो अपरेसन जतिसुकै खतर्नाक भए पनि त्यसमा प्रश्न उठाउँदैनथे । हाँसी–हँँसी त्यो काममा जाने गर्थे । प्रत्येक अपरेसनहरूमा ती फर्कन्छन् वा फर्कंदैनन् ? ठेगान हुन्थेन । मधुसूदन, सुरेन्द्र, निम, युवराज, अर्जुन, महेश, भेषजस्ता तत्कालीन असईहरू सम्मिलित स्क्वाडप्रति म ठूलो भरोसा गर्दथेँ । किनकि उनीहरूलाई ज्यानको कुनै पर्वाह थिएन । पर्वाह थियो भने केवल देशको । माथि सरकारमा बस्नेहरूले तत्कालीन समयमा माओवादी युद्धलाई कमाइ गर्ने राम्रो अवसर बनाई हतियार किन्ने, हेलिकोप्टर उडाउने र दरबन्दी बढाउने नाममा थुप्रै कमिशन खाइरहेको अवस्था भए पनि ती असईहरूको समूहलाई न त्यो कुरा थाहा नै थियो न कुनै स्वार्थ नै । उनीहरू त पूर्णरूपमा झण्डा र गीता छोएर जे कसम खाई प्रहरीमा प्रवेश गरेका थिए त्यसैमा शतप्रतिशत दृढ देखिन्थे । ज्यानको बाजी लगाएर सुर्खेतका अनकन्टार पहाडहरूमा बास बस्दै जनतालाई शान्तिसुरक्षा दिन उनीहरू दिनरात सक्रिय हुन्थे । धेरैपल्ट अपरेसनहरूमा उनीहरूले मेरो ज्यान पनि जोगाएका थिए । प्रहरीमा जबसम्म म रहेँ यी अधिकृतहरू मेरो सधैँ सम्मानका पात्र बने । यसमध्ये थुपै्र सशस्त्रपट्टि गए । मधु पनि फ्री कम्पिटिसनबाट इन्स्पेक्टर बनेछन् ।
नेपालगञ्जमा सामुदायिक प्रहरीको स्थापना गर्न खोजिएको कुरा सुनेपछि काठमाडौंबाट मधुजस्ता अधिकृतहरू त्यस कामका लागि सही व्यक्ति सावित हुनसक्ने मैले तत्कालीन अधिकृतलाई बताएको थिएँ । नभन्दै मधुले त्यहाँ सामुदायिक प्रहरी बनाउन अभुतपूर्व काम गरेछन् र ती अधिकृतले आपूm काठमाडौंमा सरुवा हुँदा उनलाई काठमाडौंको सामुदायिकमा पनि ल्याएछन् । यहाँ पनि नक्साललगायत स्थानहरूमा उनले अभूतपूर्व काम गरेछन् । मानिसलाई मार्न, पिट्न तर्साउनमा भन्दा उसको विचारलाई परिवर्तन गर्न विश्वास राख्ने यी अधिकृत प्रहरीमा सानो दर्जामै भए पनि उनीप्रति मेरो सधैं उच्च सम्मान हुन्थ्यो ।
प्रहरीबाट बाहिरिए पनि म इन्स्पेक्टर मधुसूदन न्यौपानेले भारतमा ट्राफिक तालिम गर्न जाँदा होस् वा सैनिकले चलाएको जंगलबार फेर तालिम गर्दा होस् सधैं उत्कृष्ट भएको खबर सुन्थे । काठमाडौंमा बेलायती संस्था डिफिटले उनलाई वर्षको सर्वोत्कृष्ट सामुदायिक प्रहरी भनेर बीस हजार पुरस्कार दिँदा पनि मलाई अचम्म लाग्थेन, उनी रुकुमको चौरझारीमा बस्दा असल शासन संस्थाले उनलाई उत्कृष्ट कर्मचारीको पुरस्कार दिएको समाचार सुन्दा पनि मलाई नौलो लाग्थेन, पूर्वमहान्यायाधिवक्ता युवराज सङ्ग्रौलाले आफैंसँग उनलाई पढाउन लैजाँदा पनि मलाई आश्चर्यचकित लाग्थेन किनकि मलाई थाहा थियो उनी त्यो पुरस्कारका हकदार र त्यस कामका लागि काबिल छन् ।
म प्रहरीमा नभएको कारणले मधुसूदन न्यौपानेले गरेका सबै राम्रा काम मैले सुन्न पाइनँ, तर हालै जब नार्कोनन् नेपाल र प्रहरी प्रधान कार्यालयबीच सम्झौता भई देशव्यापी गाउँगाउँसम्म ड्रग्सविरुद्ध अभियान सञ्चाल गर्ने समझदारी भयो त्यतिबेला यो काम पूरा गर्न प्रहरी मुख्यालयमा एक कार्यालय खडा गर्ने निर्णय पनि गरियो । मैले नार्कोनन्को तर्पmबाट अनिल पण्डितलाई खटाएँ । प्रहरीबाट कसलाई त्यहाँ राख्ने भनेर एआईजी भीष्म प्रसाईंले खोज्न थाल्नुभयो । यस कामका लागि सही व्यक्तिको खोजी हुनेबित्तिकै मेरो मानसपटलमा झल्झल्ती एउटै अनुहार याद आयो, त्यो अनुहार थियो इन्स्पेक्टर मधुसूदन न्यौपानेको । मैले मधुसूदनको कुरा राखेँ, तर उहाँ कहाँ हुनुहुन्छ मलाई राम्ररी थाहा थिएन । एआईजी भीष्म प्रसाईंले उहाँलाई ठिमी प्रहरी कार्यालयबाट काज झिकाउनुभएछ । जागिरबाट अलग भइसकेपछि पनि फेरि इन्स्पेक्टर मधु न्यौपानेसँग लागूऔषधविरुद्ध देशभर काम गर्ने मैले सौभाग्य पाएँ ।
यही साउन २३ गते सौभाग्यवश म उहाँसँग एसएसपी धनानन्द भट्टको अनुरोधमा दाङमा कार्यक्रम गर्न जाँदै थिएँ । लामो दूरीको यात्रामा हामीले विगतका दिनमा गरेका कामहरू एकएक गरी सम्झियौँ । हामीलाई ती पुराना रोमाञ्चकारी यादहरूले खुसी दिइरहेको थियो । बाटामा कुरा गर्दागर्दै मधुले आफ्नो घर घोराहीमा म बस्ने भनिएको ठाउँको नजिक मसिना भन्ने गाउँमा रहेको बताए । मलाई किन–किन त्यो घरमा जाने रहर भयो । मधुजस्ता होनहार छोरा जन्माउने मातापितालाई हेर्ने मेरो तीव्र रहर जाग्यो । त्यस रात खाना खान मलाई एसएसपी भट्टले बोलाउनुभएको थियो तर मैले आफू त्यहाँ नगई मधुसूदनको घर मसिना जाने मनमनै निर्णय गरेँ र एसएसपी भट्टसँग क्षमा मागी त्यसतर्फ गएँ ।
मैले एक्कासि तपार्इंको घर जान्छु भनेपछि मधुसूदन खुसी हुनुभयो । बेलुका रातको समयमा हामी उहाँको घरमा पुग्यौँ । साधारण लुगामा टोपी लगाएका मधुको बुबाले मलाई हाँस्दै अँध्यारोमा स्वागत गर्नुभयो । मैले सम्मानपूर्वक नमस्कार गरेँ । उहाँले आफ्नो भैंसी देखाउनुभयो । मैले रुचिपूर्वक हेरँे । पुरानो शैलीको सानो पहाडे घरमा सानासाना कोठा थिए । उक्लिने भर्‍याङ पनि साना र ठाडा थिए तर पनि त्यो घरमा उक्लँदा म प्रफुल्लित थिएँ । कोठामा मेचहरू थिएनन् । मलाई खाटमा राखियो । बुबाले भन्नुभयो, ‘मैले ३५ वर्ष हिन्दूस्थानको हरियाणामा सानो पदमा काम गरँे । मलाई अवकाशपछि पनि जबर्जस्ती त्यहीँ राखियो । मेरो इमानदारी देखेर हाकिमहरूले मलाई छोड्थेनन्, तर ३५ वर्षमा म केवल वर्षको एक महिनै मात्र घरमा आउन पाउँथेँ । प्यूठानमा बुबाआमालाई मैले पढ्न सकिनँ, छोराछोरी पढाउन दाङ झर्न पाऊँ भन्दा आमाबाट स्वीकृति मिलेन । आमाबाबुको वचन धेरै वर्ष मानेँ । अन्तमा अनुमति लिई दाङ झरेँ र यी छोराहरूलाई पढाएँ । सानो घर बनाएँ । त्यसैले मधुसूदनलाई भन्छु एउटा घर बनाऊ नत्र हाकिमहरू आउँदा राख्ने ठाउँ पनि छैन ।’ झन्डै दुई घन्टा म त्यहाँ बसेँ । कति इमानदार र सरल थियो त्यो परिवार । मनमनै सोचेँ टंकप्रसाद न्यौपाने र तारादेवी न्यौपानेले जन्म दिएका मधुसूदन न्यौपाने जति सानो घरमा जन्मिए पनि यो मुलुकका लागि धेरै ठूला–ठूला घरमा जन्मिएकाले भन्दा कति ठूलो योगदान दिँदै थिए । इमानदारिता त्यो घरको रगत–रगतमा रहेछ । त्यस दिन मैले त्यस घरमा प्रेमपूर्वक दिएको खिर खुव खाएँ । मधुसूदनकी आमा जति बेला पनि मेरो थालमा केही खानेकुरा थपिदिन तत्पर देखिनुहुन्थ्यो ।
भोलिपल्ट दाङमा ठूलो कार्यक्रम थियो । झन्डै तीन सयको हुलमा कार्यक्रमस्थलमा मधुसूदनको बुबा पनि हुनुहुँदोरहेछ । मैले ड्रग्सबारे बोल्दाबोल्दै प्रहरी प्रधान कार्यालयबाट खटिएका मधुसूधनलाई पनि समारोहमा चिनाए । उनलाई चिनाउँदा बुबा गौरवले छाती फुलाइरहनुभएको मैले देखिरहेको थिएँ । त्यसपछि मैले भने, ‘आज नेपालमा दुव्र्यसनमुक्त गरी भावी सन्ततीलाई ड्रग्सबाट जोगाउन होमिने यही जिल्लाको इन्स्पेक्टर मधुसूदनका बुबा पनि यहीँ हुनुहुन्छ ।’ सबैले हलमा यताउता हेरी मधुसूदनको बुबालाई खोज्न थाले । मैले मधुसूदनको बुबालाई मेचबाट उठिदिन अनुरोध गरेँ । उहाँ उठ्नुभयो । तालीले हल गुञ्जयमान भयो । मैले भने, ‘सर, हजुरको छोरा देशका लागि ठूलो काम गर्दै हुनुहुन्छ’ निरन्तरको तालीबीच उहाँको आँखाबाट आँसु बग्यो । म पनि भावविह्वल भएँ । फर्कने बेलामा मैले मधुसूदनको बुबालाई भने, ‘हजुरको छोराले हाकिमहरूलाई राख्न ठूलो घर बनाउनुपर्दैन, उसले जुन ठूलो काम गरेको छ त्यसैले हाकिमहरू खुसी हुन्छन् ।’ मेरो कुरा सुनेपछि बुबाले छोरालाई टाउकोमा हात राख्दै भन्नुभयो, ‘कमाउनुपर्दैन छोरा यस्तै राम्रो काम गर ।’ त्यतिबेला मैले नजिकबाट देखेँ बाबु–छोरा दुवैको आँखामा खुसीको आँसु थियो ।
त्यसै साँझ हामीलाई चितवन पुग्नु थियो, त्यसैले हामीहरू दाङबाट चितवनतर्फ लाग्याँै । बुबासँग छुट्टिएपछि इन्स्पेक्टर मधु केहीबेर शान्त बस्नुभयो । गाडी मैले चलाउँदै थिएँ । लमहीनेर आइपुग्दा सन्नाटा चिर्दै मधुसूदनले मलाई भन्नुभयो, ‘बुबा एउटा घर बना भन्नुहुन्छ, तर मैले बनाउन सकिनँ ।’ उनले हाँस्दै भने, ‘एक दिन मिसनमा गएँ भने म घर बनाउने छु र बुबाआमालाई नयाँ घरमा सार्नेछु ।’ मैले उनको कुरा सुनिरहँे । उनको घर हेरेपछि मलाई मधुको इमानदारिताप्रति थप श्रद्धा जाग्यो, म खुसी थिएँ मधुका मातापिताको दर्शनबाट ।
मैले प्रहरीमा २४ वर्ष काम गर्दा धेरै आफूभन्दा ठूला र आफूभन्दा साना प्रहरी कर्मचारीबीच बसेर काम गरेँ । त्यसमध्ये केही थोरै यस्ता कर्मचारी छन् जसको कामले यो मुलुकले ठूलै फाइदा पाएको छ । प्रहरी सङ्गठनको इज्जत बढेको छ र मैले सम्मान गर्ने ती थोरै व्यक्तिहरूमध्ये एक हुन्– इन्स्पेक्टर मधुसूदन न्यौपाने । यस्ता छोरालाई जन्म दिने महान् आमाबुबालाई काठमाडौंबाट झन्डै पाँच सय किलोमिटर टाढा पुगी दाङको मसिना गाउँमा भेटेर फर्कंदा म धेरै खुसी मात्र होइन गौरवान्वित पनि महसुस गरिरहेको छु । मधुसूदनका कारणले मेरो नजरमा दाङ जिल्ला र मसिना गाउँ पनि निकै सम्मानित बनेको छ ।