मासिक डेढ लाख आम्दानी गर्ने गाउँपालिका अध्यक्ष

मासिक डेढ लाख आम्दानी गर्ने गाउँपालिका अध्यक्ष


कृषि पेसालाई आत्मसात् गरेर मिहिनेत गरियो भने राजनीतिमा लागेकाले पनि परिवारको दैनिक जोहो टार्न भ्रष्टाचार गर्नुपर्दैन भन्ने उदाहरण अर्घाखाँचीको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले दर्शाएका छन् । अच्युतदम्पती गाउँपालिककै एक उदाहरणीय जोडी बन्न पुगेका छन् । आफू राजनीतिको माध्यमबाट समाजसेवामा संलग्न रहँदै गर्दा आत्मनिर्भरताको बाटो नसमाते सामाजिक कार्यमा लाग्न सकिन्न भन्ने स्पष्ट सोचका साथ अच्युत अघि बढे । उनको यस अभियानलाई शिक्षिकासमेत रहेकी श्रीमती निर्मला खनालले समय निकालेर कृषि व्यवसायमा हात बढाउन साथ दिइन् । फलतः अब स्वच्छ छविका साथ समाजसेवा वा राजनीति गर्न सकिन्छ भन्ने अठोटमा पुगेको छ गौतमदम्पती ।

करिब ५ वर्षअघिदेखि कृषिमा हौसिएका अच्युत पाणिनी गाउँपालिकाको अध्यक्ष भएपछि उनको व्यवसाय सम्हाल्न श्रीमती निर्मलाले दह्रिलो हात र साथ दिएकी छिन् । तथापि, फुर्सद निकालेर अच्युत स्वयम् पनि कृषि–कर्ममा हात बाँड्न पछि परेका छैनन् । आफू शुरुमा कृषिमा लागेकैले समाजसेवामा भिड्ने अवसर मिलेको बताउने उनी राजनीतिमा जतिसुकै सफलता मिले पनि कृषिकर्म नछोड्ने प्रतिबद्धता जनाउँछन् । उनको यो अठोट तमाम राजनीतिकर्मीका लागि गतिलो शिक्षा हुन सक्छ ।

०३१ सालमा जन्मिएका गौतमले ०४२ मा गाउँकै हरिहर संस्कृत तथा साधारण प्राविधिक विद्यालयमा अध्ययन गर्दैको अवस्थामा नेविसङ्घको सदस्यता लिएका रहेछन् । ०४६ सालमा उनी सङ्घको जिल्ला सचिव बनेका थिए । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा क्याम्पस इकाइ सदस्य बन्ने अवसर उनलाई ०५० सालमा जुट्यो भने ०५४ मा तरुण दल पोखराथोकको अध्यक्ष र ०५८ मा नेपाली काङ्ग्रेस पोखराथोकको पार्टी सभापतिको जिम्मेवारी पाए । काङ्ग्रेसको १३औँ महाधिवेशनबाट जिल्लाको क्षेत्रीय सभापतिमा विजयी भई हाल सोही जिम्मेवारीमा रहेका उनी माओवादीपीडित परिवारका सदस्यसमेत हुन् ।

माओवादीसिर्जित द्वन्द्वकालमा आफ्नो घर–पसल लुटिएको र शिक्षण पेसामा रहेका पिता विस्थापित हुनुपरेको स्मरण गर्दै अच्युत यतिबेला पाणिनी गाउँपालिकालाई आफ्नो पाँचवर्षे कार्यकालमा भ्रष्टाचारमुक्त गाउँपालिका बनाउने अठोटका साथ क्रियाशील छन् । गौतमको व्यक्तित्व नजिकबाट नियाल्दा आलोकाँचो युवक हुन् कि भन्ने लागे पनि सीप, दक्षता, व्यवहारकुशलता र जिम्मेदारीप्रतिको लगावका आधारमा भन्नुपर्दा उनी जिल्लाकै अब्बल व्यक्तिका रूपमा चिनिन सक्छन् ।

नेपाली काङग्रेसको सङ्गठन कमजोर हुनुमा पार्टीका साथीहरूकै कमजोरी रहेको बताउने अच्युत गौतम राजनीति गर्नेले सर्वप्रथम आफ्नो आम्दानीको स्रोत पहिले नै जोगाड गरेर मात्र राजनीतिमा प्रवेश गर्नुपर्ने मान्यता राख्छन् । करिब ३५ रोपनी जमिनमा तरकारी खेती र कुखुरापालन व्यवसाय गर्दै आएका गौतमदम्पतीको व्यवसायमा दैनिक १६ जनासम्म स्थानीय बासिन्दाले रोजगारी पाएका र मासिक डेढ लाखसम्म आम्दानी हुने गरेको बुझिन्छ । गाउँमै यति आम्दानी भएपछि उनलाई राजनीति वा समाजसेवामा ढुक्कले लाग्न मार्गप्रशस्त हुने नै भयो ।

बेग्लै विशेषता बोकेका यी युवा गाउँपालिकाबाट विनियोजित बजेट कार्यान्वयनबारे आमनागरिकले जान्न पाउनुपर्छ भन्ने मान्यताका कडा पक्षपाती छन् । तसर्थ, सूचनाको हकका लागि क्रियाशील अर्घाखाँचीको चर्चित संस्था सूचना तथा सुशासन अभियान (सीआईजी)मार्फत आफनो गाउँपालिकाका प्रत्येक वडामा अच्युतले जनचेतना अभियान सञ्चालन गरिसकेका छन् । जसको माध्यमबाट गाउँपालिकाका एक हजार चार सय छब्बीस नागरिकले जान्न पाउने अधिकारको बारेमा प्रशिक्षण प्राप्त गरेका छन् ।

– मुक्तिनाथ भुसाल