देवीप्रसादको झापडको सन्देश-श्रीधर शर्मा

देवीप्रसादको झापडको सन्देश-श्रीधर शर्मा


एमालेका अध्यक्ष झलनाथ खनालले ०६७ माघ ६ गतेका दिन सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा विभिन्न दल त्यागी एमालेमा प्रवेश गर्ने नवप्रवेशीहरूलाई रातो टीकाले स्वागत गरिरहेको बेला एमालेकै एकजना पुराना कार्यकर्ताले उनको गालामा झापड हाने । नवप्रवेशीहरूकै पङ्क्तिमा रहेका सुनसरी जिल्ला, भरौल गाविस वडा नं. १ निवासी देवीप्रसाद रेग्मीले उनलाई त्यसरी झापड हानेका हुन् । झलनाथ त यसै पनि सधैं नै चर्चामा रहेका व्यक्ति भए, त्यसयता देवीप्रसाद पनि चर्चामा आए ।
कमरेड झलनाथमाथि झापड प्रहार भएपछि त्यस कार्यक्रमको वातावरण एकदमै असहज हुन पुग्ो पनि कार्यक्रमले निरन्तरता पायो । खनाल स्वयम्ले यस्ता घटनालाई ‘झिनामसिना’ भनेर आफ्नो ‘महानता’ देखाउन खोजे । तर, उनीमातहतका कार्यकर्ताले घटनालाई ‘भयङ्कर’ बनाउन चाहे र सोहीअनुरूप अघि बढे । देवीप्रसाद त धरौटीमा रिहा भए तर घटना सञ्चारमाध्यमहरूमा छायो, छाइरहेको छ । यस घटनालाई आ-आफ्नै तरिकाले व्याख्या गरियो, गरिँदै छ ।
देवीप्रसाद रेग्मी संसारभर जहाँजहाँ नेपाली छन्, चर्चाका विषय बनेका छन् । उनको झापडले ताली र गाली दुवै पाइरहेको छ । तर, गालीभन्दा तालीले बढी ठाउँ ओगटेको छ । उनलाई सहयोगका लागि विभिन्न प्रयास भएका खबरहरू आइरहेका छन् । उनले आफूले झलनाथलाई झापड हानेको कुरा स्वीकार गरिसकेको अवस्थामा सार्वजनिक अपराधअर्न्तर्गत उनलाई अनुसन्धानका लागि भनेर १५ दिन थुनामा राख्ने आदेश दिइयो जुन केवल नेता रिझाउनका लागि मात्र चालिएको कदम थियो स्थानीय प्रशासनको । किनकि साविती बयान दिएका उनलाई यथाशीघ्र कानुनी कारबाही नगरी लामो समय थुनामा राख्ने आदेश हुनु आफैंमा अस्वाभाविक हो । यसो हुँदा एकातर्फ उनको परिवार चिन्तित भयो भने आर्कोतर्फ उनका पक्षमा सहानुभूति बढ्दै गयो । यहाँसम्म कि उनको आर्थिक अवस्था राम्रो नरहेको र थुनामुक्त हुनका लागि बुझाउनुपर्ने धरौटी पनि बुझाउन नसक्ने खबर फैलिएपछि उनको रिहाइका लागि स्वस्फर्ूत रूपमा आर्थिक सङ्कलनसमेत हुन थाल्यो ।
रेग्मीले किन थप्प्ाड हाने त – उनकै शब्दमा ‘देशलाई बर्बादीतर्फ लगेकाले नेताहरूलाई सचेत गराउन मैले थप्पड हानेको हुँ ।’ त्यसो त उनलाई कसैले उक्साएर त्यस्तो गर्न लगाएको पनि भनियो तर उनी आक्रोशित भएर आफैंले थप्पड हानेको बताएका छन् । उनको यो साबिती बयानलाई बलजफ्ती माओवादीले उक्साएको, ओली पक्षले त्यसो गर्न हौस्याएको वा अरू कसैको इशारामा घटना घटाइएको बताइरहनुको कुनै तुक छैन । बरु घटना अत्यन्त नराम्रो हुँदाहुँदै पनि यसलाई आमनेपाली जनताको साझा आक्रोशको रूपमा लिइनु उचित हुन्छ । किनकि रेग्मी सामान्य किसान हुन् भन्ने प्रस्ट भएको छ । उनलेे कुनै महत्त्वाकाङ्क्षाका कारण यसो गरेका वा कुनै कुराको प्रतिशोध लिन वा चर्चामा आउन झलनाथलाई झापड हान्न पुगे होलान् भन्ने पनि लाग्दैन ।
यो मुलुकमा झापड हान्नुपर्ने नेताहरू धेरै छन् । तर, संजोगले झलनाथले जनताको पहिलो झापड खाए । यसबाट नेताहरू सजग होऊन् । यो नेपाली नेताहरूको प्रवृत्तिमाथिको झापड हो भन्ने कुरा बुझून्, आफूहरूले निरन्तर जनताको झापड खाइरहेको अनुभूति गरून् । झलनाथले झापड खाएकोमा दुःखी हुने वा खुसी मान्ने होइन अब अरू कसैले जनताको झापड खानु नपरोस् भन्दै सोहीअनुरूप आ-आफ्ना जिम्मेवारी पूरा गर्न दत्तचित्त होऊन् । यतिन्जेल नेताहरूले देश र जनताका नाममा आफू मोजमस्ती गरिरहे, देशलाई भड्खालोतर्फ धकेले, गरिब, दीनदुःखी जनताको बेवास्ता गरे त्यसैको प्रतिक्रिया यो झापड हो भन्ने कुरालाई आत्मसात् गरून् र यसलाई त्यसैअनुरूप लिऊन् । यसै झापडबाट शिक्षा लिएर नेताहरू सहमतिको नाममा मुलुकलाई थप अलमलमा नपारी मुलुकलाई निकास दिऊन् र यो देशमा नेतामात्र होइन जनता पनि छन्, यो देशका जनता अब सचेत र होसियार भइसकेका छन्, नेताहरूले त्यही कुरा बुझून् र यदि देश र जनताको पक्षमा काम गरिएन भने जनताका सामु उभिन कठिन हुने रहेछ भन्ने शिक्षा देवीप्रसाद रेग्मीको झापडबाट लिऊन् । बिचरा देवीप्रसाद जसले नेपाली जनताको साझा प्रतिनिधिको रूपमा नेपाली जनताको असन्तुष्टि, छटपटाहट र अन्तरमनको भावनाको प्रतिनिधित्व गर्दै असभ्य व्यवहार प्रदर्शन गरे तर तिनको त्यो व्यवहारले अर्थात् भनौँ एउटै झापडले यस देशका नेताहरूको आँखा खुल्यो भने त्यो अत्यन्त सकारात्मक हुनेछ ।
देवीप्रसादको झापडपछि जनतामात्र पिटिने, लुटिने गरेको यो देशमा जनतामाथि रजाइँ गर्ने नेताहरू पनि पिटिन थालेका छन् । र, नयाँ सुरुआत भएको छ देवीप्रसादबाट जसले स्वस्फर्ूत रूपमा सम्पूर्ण नेपाली जनताको तर्फबाट नेतालाई प्रतिक्रिया दिएका छन् । आफूअनुकूलका कुरा गरेर हिँड्ने, नीति र सिद्धान्त एकातिर कामकुरो अर्कोतिर गरेर जनता अलमल्याउनेहरूलाई सचेत गराउने काम गरेका छन् । यसैले यो झापड झलनाथलाई होइन सबै नेतालाई हो । हिरासतमुक्त हुन धरौटी राख्नसमेत नसक्ने अवस्थाका देवीप्रसाद सर्वसाधारण नेपाली जनताका, निम्नवर्गीय जनताका प्रतिनिधि हुन् र उनको यो झापड निम्नवर्गीय नेपाली जनताकै प्रतिनिधिको झापड हो भन्ने नेताहरूले बुझ्न सके र झलनाथको गालामा हानिएको झापड सबै नेताले अनुभव गरिदिए भने बेस हुनेछ । कसैको उक्साहट वा इशारामा यसो गरियो भन्ने अनुमान र्व्यर्थ छ, यो विशुद्ध नेपाली जनताको झापड हो यसैले बरु देवीप्रसादकै सिको अरूले गर्लान् भनेर नेताहरू सचेत भइदिए अथवा नेताहरू जनतासँग डराएर जनतासँग इमान्दार भइदिए भने यस्ता घटना दोहोरिने छैनन् । त्यसो भएमा देवीप्रसादको झापड सर्वाधिक शक्तिशाली झापड मात्र ठहरिने छैन त्यो झापड यो मुलुकको कायापलट गर्नमै सहयोगी बन्नेछ ।
विगतमा पनि बेलाबखत यस्ता झापड नहानिएका होइनन् तर ती झापड हान्नेहरूउपर कुनै कारबाही भएन । गोल्चे सार्की, करिमा बेगम हुन् वा अस्ति भर्खर संसद्मा अर्थमन्त्रीमाथि मुक्का वर्षाउने माओवादी सभासद्हरू, कसैमाथि कुनै कारबाही भएन । यसक्रममा बुझ्नुपर्ने के हो भने कतै झापड हान्नु कुनै अपराध हुँदोरहेनछ भनेर देवीप्रसादले उनीहरूकै सिको गरेर कारबाही पनि भोग्नुनपर्ने, सचेत पनि गराउन सकिने यो उपाय अपनाएका पो हुन् कि – यदि झलनाथमाथिको झापडमात्र अपराध हो भने कुरा बेग्लै हो, होइन र यसप्रकारका आक्रमण सबै अपराध नै ठहरिने हुन् भने त्यसरी उनलाई झापड हान्न प्रेरित गर्नेहरूलाई पनि कानुनबमोजिम कारबाही गरिनुपर्ने हो कि –
नेताहरू सजग र सचेत होऊन्- देवीप्रसादको झापडको सन्देश यही हो । यतिन्जेल ठूलाबडाले आफूअनुकूल नगर्ने राष्ट्रसेवक आदिलाई झापड लगाए, यसपटक देवीप्रसादले सरकारको नेतृत्व गरिरहेको दलका अध्यक्षलाई एउटै झापड हानेर सबै नेतालाई साङकेतिक झापड हानेका छन्, होसियार रहन इशारा गरिदिएका छन्, यसैले यो झापडको सन्देशलाई यसै रूपमा, सकारात्मक ढङ्गमा बुझी हाम्रा नेताहरूले आनीबानी र आचरण सुधारून्, जसले हामी सबैको भलो गर्नेछ ।