—रमेश ग्रहण
वर्तमान संसारभर राजनीतिक दलहरूको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । संसारका हरेक राष्ट्रमा विभिन्न राजनीतिक दलहरू रहेका छन् । ठूलठूला राष्ट्रहरूले पनि दलबिनाको प्रजातान्त्रिक वा लोकतान्त्रिक प्रणालीको अपेक्षा गर्न सक्दैनन् । जनमत र राष्ट्रनिर्माणमा दलहरूको उपस्थितिबिना अग्रगतिको कल्पना पनि गर्न सकिँदैन । राजनीतिक दल भनेको के हो, कस्तो हुनुपर्छ र यसका दायित्वहरू के–कस्ता रहन्छन् भन्ने सवालमा यहाँ वर्णन गर्न खोजिएको छ ।
सामान्य विश्वास एवम् नीतिहरूलाई कार्यान्वयन गर्ने उद्देश्यले सङ्गठित बनाइएको समूह वा समुदायलाई सामान्य भाषामा राजनीतिक दल भनेर परिभाषित गरिन्छ । प्रसिद्ध विद्वान् मेकाइभरको परिभाषा यस्तो छ– राजनीतिक दल त्यो समुदाय हो जसको सङ्गठन कुनै नीति वा सिद्धान्तको समर्थनका लागि सङ्गठित गरिएको हुन्छ । र, जसले संवैधानिक उपायहरूद्वारा ती सिद्धान्त वा नीतिहरूलाई शासनको आधार बनाउने प्रयत्नमा सदा संलग्न रहनुपर्छ । त्यसैगरी अर्का विद्वान् गेटेलको परिभाषामा राजनीतिक दल यस्ता नागरिकहरूको सङ्गठित समुदाय हो जसले एउटा राजनीतिक इकाइसरह काम गर्दछ र आफ्नो मतदानको शक्ति प्रयोग गर्दै शासनलाई आफ्नो नियन्त्रणमा राख्ने र आफ्नो सामान्य नीतिहरूलाई कार्यान्वित गर्ने प्रयत्न गर्दछ । गिल क्राइस्टले भने राजनीतिक दल नागरिकहरूको त्यस सङ्गठित समुदायलाई मानेको छ जसका सदस्य सामान्य राजनीतिक विचार राख्दछन् र एउटा राजनीतिक इकाइका रूपमा कार्य गर्दै शासनलाई आफ्नो पक्षमा लिने कोसिस गर्छन् । एडमण्ड वर्कको दृष्टिकोणमा चाहिँ राजनीतिक दल केही व्यक्तिहरूको एउटा त्यस्तो समूह हो जसले कुनै सिद्धान्तउपर एकमत भई आफ्नो सामूहिक प्रलयद्वारा जनताको हितका लागि कार्य गर्न चाहन्छ ।
परिभाषाहरू आ–आफ्ना ठाउँमा सही भए पनि सर्वस्वीकार्य रूपमा तिनलाई मान्नैपर्छ भन्ने छैन । प्रजातान्त्रिक राष्ट्रहरूमा थरीथरीका राजनीतिक दलहरू पाइन्छन् । व्यक्तिका आफ्ना धारणा र तिनलाई सङ्गठित रूपले अभिव्यक्त गर्नका लागि एवम् धारणाअनुरूपको शासन व्यवस्थालाई समर्थन गर्ने उद्देश्यले मानिस समान विचारधारा भएका मानिससँग नै मिल्न चाहन्छ । राजनीतिक दलहरूको सफलता वा असफलता यिनै आधारमा निर्भर रहेको हुन्छ । सङ्गठन, मूलभूत सिद्धान्तमा एकता, वैज्ञानिक उपायको प्रयोग र राष्ट्रिय हितको वृद्धिजस्ता तत्वहरूको अभावमा कुनै समूहलाई राजनीतिक दल मान्न सकिँदैन ।
सङ्गठनलाई नै कुनै पनि राजनीतिक दलहरूको मुख्य शक्ति मानिन्छ । त्यसका लागि उनीहरूको उद्देश्य र सिद्धान्तमा समानताको आवश्यकता अपरिहार्य हुन्छ । राष्ट्रिय हितको वृद्धि राजनीतिक दलको मुख्य लक्ष्य हुनुपर्ने भएकाले कुनै गुट, उपगुट वा गुटबन्दी दलहरूको उद्देश्य हुनु हुँदैन । राष्ट्रिय हितको पक्षमा अग्रसर नभएको सङ्गठनलाई राजनीतिक दल मान्न सकिँदैन । दलहरूको सबैभन्दा महत्वपूर्ण दायित्व भनेको जनताको वास्तविक भावनाको कदर गर्न सक्नु नै हो । जनताका भावना र आकाङ्क्षाहरूलाई कुन उपायद्वारा सफलीभूत तुल्याउन सकिन्छ भनेर खोजी गर्नकै लागि राजनीतिक दलको आवश्यकता पर्छ । विद्वान् वेगहाट भन्छन्– दलगत शासन उत्तरदायी शासनको महत्वपूर्ण सिद्धान्त हो ।
दलहरूको अभावमा लोकतन्त्रको कल्पनासम्म गर्न नसकिने अर्को पाटो पनि छ । साथै, तिनको अभावमा स्वतन्त्रता सधैं धरापमा परिरहेको हुन्छ । लोकतन्त्रको प्राण मानिने हुनाले राजनीतिक दलहरूले प्रतिनिधिमूलक लोकतन्त्रको सुदृढीकरणमा अत्यन्त सचेत भएर कार्यसम्पादन गर्नुपर्छ । विद्वान् फाइनर भन्छन्– दलहरूको अभावमा मतदाता या त नपुंसक हुन्छन् वा विनासकारी र मतदाताहरू यस्तो असम्भव नीतिहरूको पछि लाग्छन् कि यसबाट राजनीतिक यन्त्र नै ध्वस्त हुन जान्छ । त्यस्तै संसदीय शासन व्यवस्थामा दलहरूको परिहार्यताको जानकारी गराउँदै लिलाक भन्छन्– राजनीतिक दलको अभावमा संसदीय शासन प्रणाली चल्न असम्भव छ ।
मानिसहरूको प्रकार–प्रकारका विचार र धारणालाई एकै ठाउँमा समायोजन गर्ने र व्यवस्थित पार्ने काम पनि राजनीतिक दलहरूकै हो । परस्परविरोधी भावनाहरूलाई आकार दिने कार्य पनि उनीहरूले गर्नुपर्छ । यसै सन्दर्भमा मेकाइभर भन्छन्– यदि राजनीतिक दलहरू नहुने हो भने सिद्धान्तको एकीकृत अभिव्यक्ति हुन सक्दैन, नीतिको नियमित विकास असम्भव हुन जान्छ । नियमित रूपले संसदीय रूपमा निर्वाचनबाट वैधानिक उपाय प्रयोग गर्ने तरिका समाप्त हुन जान्छ जसको माध्यमबाट दलहरूले शक्ति ग्रहण गर्दथे । त्यस्तै लर्ड ब्राइस भन्छन्, ‘दल अनिवार्य छ । कुनै पनि ठूला राष्ट्रहरू दलबिना रहन सक्ने छैनन् । कुनै पनि व्यक्तिले यो कुरा व्यक्त गर्न सकेको छैन कि प्रतिनिधिमूलक व्यवस्था दलबिना कसरी चल्दछ । यदि दलबाट कुनै अवगुण उत्पन्न हुन्छ भने अर्कोतर्फ यसले केही अवगुणहरूलाई सामाप्त पनि पार्दछ ।’
लोकतन्त्रको मेरुदण्ड नै राजनीतिक दलहरू भएकाले जनतामा छाउन र उद्देश्यपूर्ति गर्न उनीहरूले यावत् क्रियाकलापहरू गर्नुपर्ने हुन्छ । सर्वप्रथमत: जनतामा राजनीतिक चेतना जगाउनु आवश्यक पर्छ । त्यसैगरी सार्वजनिक नीतिहरूको निर्माणमा जनतालाई नेतृत्व गराउनु, पदाधिकारीहरूको निर्वाचन गराउनु, शासन सञ्चालन र आलोचना गर्नु, सरकार र जनताबीच मध्यस्थता गराउनु, दलका सदस्यहरू बढाउनु, मतदाता सूची बनाउनु, विभिन्न सभा–कार्यक्रमहरू गर्नु–गराउनु, प्रचारप्रसार गर्नु, सामाजिक एवम् सांस्कृतिक उत्थानमा लागिपर्नु, सरकारका सबै अङ्गमा सामञ्जस्यता स्थापित गर्नु आदि जस्ता कार्यहरू राजनीतिक दलका जिम्मेवारी या आवश्यकता हुन् ।
त्यस्तै राजनीतिक दलका पद्धतिहरूको परिपे्रक्ष्यमा दलीय स्वरूप जम्मा तीनप्रकारका पाइन्छन् । आजभोलि विश्वभरि एकदलीय, दुईदलीय र बहुदलीय पद्धति चलिराखेका छन् । बेलायतमा लेवर र कन्जर्भेटिभ गरी जम्मा दुई प्रमुख दलहरू रहेका छन् । यसैगरी रिपब्लिकन र डेमोक्रेटिक गरी दुई प्रमुख दलले अमेरिकामा पालैपालो शासन चलाउँदै आएका छन् । एकाधिकार वा सर्वाधिकारवादी भनिने राष्ट्रहरूमा एकदलीय पद्धतिमा शासन चलेको हुन्छ । त्यसप्रकारको राष्ट्रमा एउटै दलले शासन चलाएको हुन्छ जसरी चीनमा एकमात्र कम्युनिस्ट पार्टीले शासन चलाइराखेको छ ।
द्वितीय विश्वयुद्धअघि इटाली र जर्मनीमा पनि एकदलीय शासन व्यवस्था रहेको थियो । एकदलीय शासन पद्धतिमा एउटाबाहेक अरू दललाई सङ्गठन गर्ने अधिकार वा अनुमति दिइएको हुँदैन । आधुनिक नेपाली राजनीतिको परिवेशमा ०४६ सालअघिको पञ्चायती व्यवस्था एकदलीय शासन व्यवस्था थियो । जनआन्दोलनमार्फत सो व्यवस्थाको अन्त्यको घोषणासँगै बहुदलीय व्यवस्थाको आगमन भएको हो ।
हाल विश्वमै सबैभन्दा बढी चलेको व्यवस्था भनेको बहुदलीय लोकतान्त्रिक व्यवस्था नै हो । दुईभन्दा बढी प्रभावशाली दलहरू भएको राष्ट्रलाई बहुदलीय प्रणालीयुक्त राष्ट्र भनिन्छ । बहुदलीय प्रणाली भएका राष्ट्रहरूमा धेरै दल विद्यमान रहने भएकाले प्राय: यस्ता राष्ट्रहरूमा संयुक्त सरकार वा ‘कालिजन’ सरकार रहेको देखिन्छ । ती राष्ट्रहरूमा एउटा दलले अन्य दलहरूसँग मिलेर मन्त्रिमण्डल गठन गरी सरकारको निर्माण गर्छन् ।
बहुदलीय व्यवस्थाका पनि गुण र अवगुण दुवै हुन्छन् । कुनै एक दलको निरङ्कुश शासन नटिक्नु, धेरै राजनीतिक दल समावेश हुने भएकाले मतदाताहरूले आफ्नो चाहनाअनुसारको दललाई भोट दिन सक्ने पूर्ण स्वतन्त्रता हुनु, सरकारमा धेरै दलहरूको प्रतिनिधित्व हुने हुनाले सबै वर्ग, सम्प्रदाय क्षेत्र र लिङ्गको प्रतिनिधित्व समावेशी ढङ्गले हुन सक्ने वातावरण हुनु, बहुदलीय प्रणालीका विशेषताहरू हुन् भन्ने दलहरूले सरकारमा आ–आफ्नै नीति लाद्न खोज्नु र प्राय: सरकार अस्थिर भइरहनु यो पद्धतिको अवगुणहरू हुन् ।
प्रतिक्रिया