भनिन्छ, काम गर्नेहरू कुरा गर्दैनन् । जब कुराको खेती सुरु हुन्छ तब काम हुन छोड्छ वा काम कम हुन्छ । दक्षिण कोरियाको अर्थतन्त्र धेरै बलियो छ, त्यहाँका मानिस कर्मशील मानिन्छन् । कुरा कम गर्छन्, काम धेरै । उत्तर कोरियालीहरू कुरा गर्नमा खप्पीस छन् तर काममा शून्य बराबर । त्यसैले उत्तर कोरियाको अर्थतन्त्र अत्यन्त नाजुक छ । कुरा गरेर खाने बानी भएपछि काममा मानिसको मन जाँदैन । हामी नेपाली पनि काममा भन्दा कुरामै बढी विश्वास गर्दछौँ । कुरा खानु, कुरा चपाउनु, कुराबाटै दिनचर्या सुरु गर्नु र कुरामै अन्त्य गर्नु नेपालीको पहिचानजस्तै बन्न पुगेको छ । नेपालमा वर्षौंदेखि विद्युत् अभावका कारण अन्धकार छ, एकथरी सत्तामा आए– दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने गफ दिए । अर्काथरी आए– आखिर कुरै न गर्नु थियो, तिनले २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने अकाशे कुरा सुनाए । तर, वास्तविकतामा वर्षमा जम्मा दश मेगावाट पनि विद्युत् उत्पादन गर्ने स्थिति बनेको छैन । अरू त अरू हामीकहाँ सञ्चारमाध्यमहरूले समेत कुरालाई नै समाचार बनाएर प्रकाशन–प्रसारण गर्ने गरेका छन् । रामेले आकाश खसाल्ने कुरा गर्छ, श्यामे आउँछ र तारा खसाउने कुरा गर्छ । अनि सञ्चारमाध्यमहरूले त्यसैलाई सनसनीपूर्ण बनाउँछन् र धुमधामका साथ प्रचार गर्छन् । हाम्रो नियति नै भन्नुपर्छ, बितेका केही वर्षयता नेपालमा कुराको खेती निकै फस्टाएको छ । यस्तो खेती नफस्टाएको हुँदो हो त ऋषि धमलाजीको रिपोर्टर्स क्लब पहिल्यै बन्द भइसकेको हुन्थ्यो ।
देश बन्न नेतृत्वसँग स्पष्ट दृष्टिकोण, इमानदारी र प्रतिबद्धताको आवश्यकता पर्छ । तर, यो मुलुकका राजनीतिकर्मीमा उल्लिखित तीनै कुराको सख्त अभाव देखिन्छ । काम गरी देखाउने दृष्टिकोण र क्षमताको अभाव भएकैले हुनसक्छ उनीहरू कुरा बढी रुचाउँछन्, कुरामै सपनाको महल बनाउँछन् र कुराले नै त्यसलाई ढाल्छन् पनि । देश र समाजको उन्नतिका लागि निश्चित एजेण्डामा बहस, छलफल या संवाद गर्नु उचित र आवश्यक मानिन्छ । तर, यहाँ देशलाई केन्द्रमा राखेर बहस र संवाद भएको देख्न÷सुन्न पाइएको छैन । नेताहरू आफू, आफ्नो समूह र कुर्सीलाई केन्द्रबिन्दुमा राखेर पाखुरा सुर्कंदै विवादमा उत्रने गरेका छन् र उनीहरूको विवादले मुलुकको वातावरण नै तनावमय बनिरहेको छ । धेरै भयो यस्तो भएको । दिनभरिका समाचार ‘अपडेट’ हेर्यो÷सुन्यो÷पढ्यो भने ‘….ले बताउनुभएको छ । उहाँले भन्नुभयो, बताउनुभयो, बताउँदै उल्लेख गर्नुभयो… ’ बाट सुरु भएर त्यस्तै कुराबाट अन्त्य हुन्छ । मल, खाद्यान्न वा ग्यास÷पेट्रोलियमको अभाव, दुर्घटनामा मानिसको मृत्युलगायतका केही समाचारलाई छोडेर हेर्ने हो भने ‘भन्नुभयो र बताउनुभयो’ नै धेरै भेटिन्छ । यसरी बताउने या भन्नेमा प्राय: नेताहरू नै हुने गर्छन् । अचम्म त के भने उनीहरू हिजो भनेको कुरा आज बताउँदैनन्, हिजो आफंैले भनेको कुरालाई खण्डन गर्ने गरी आज अर्कै कुरा बताउँछन् तर पनि हामी त्यसलाई समाचारकै रूपमा दिइरहेका छौँ ।
विभिन्न विषयमा आएका मतभिन्नताहरूलाई मेटाउनका लागि संवादको आवश्यकता पर्छ । तर, हामीकहाँ वर्षौंदेखि भेटघाट, छलफल, बहस र संवादका नाममा एक–अर्काबीच आरोप–प्रत्यारोप अर्थात् विवाद मात्रै हुँदै आएको छ । समस्यालाई निकास दिनेगरी मुलुक सञ्चालकहरूकाबीच संवाद हुन सकेको छैन । संविधानसभाको चुनावअघि र पछि गरेर यो मुलुकमा सबैभन्दा बढी बोलिएको र प्रचार गरिएको शब्द शायद ‘सहमति’नै हो । …दलहरूबीच सहमतिको विकल्प छैन, सहमति हुनैपर्छ…भनेर यहाँ सबैले गरी एक करोडपल्ट जति भनियो होला । यसमध्ये यो कुरा सबैभन्दा बढी दोहोर्याउनेमा भने तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ नै हुनुहोलाजस्तो लाग्छ । राजनीतिक बहसका कार्यक्रम हुन् या सामाजिक विषयका छलफल या साङ्गीतिक कार्यक्रम जहाँ पुगे पनि उहाँले यही कुरा गर्नु भो तर अन्त्यमा संविधान या मुलुकको परिस्थितिलाई लिएर अहिलेसम्म राजनीतिक सहमति भने हुन सकेन÷सकेको छैन ।
अहिलेको मात्र कुरा होइन, संवादका नाममा हामी दुई दशकदेखि निरन्तर नेताहरूका बहस, भेटघाट, फलबिनाका छल मात्रै हुने छलफल र विवाद हेरिरहेका छौँ । तर, यसबाट सिक्ने कुरा भने खासै पाउन सकिएको छैन । कहाँ, कतिबेला के बोल्ने भन्ने कुराको तयारीसम्म हामीकहाँ गरेको देखिँदैन । पहिल्यै तय भएका बैठकहरूमा देशको बारेमा होइन आफ्नो समूहको हितका लागि बार्गेनिङ गरिन्छ । एउटाले एउटा कुरा भन्छ, अर्कोले अर्कै, कुरा मिल्दैन, खास भनुँ भने मिलाउने कोसिस पनि गरिँदैन । ठूला–ठूला बहसको के कुरा गर्नु स–सानै कार्यक्रममा वक्ताको रूपमा बोल्नेहरूले पनि माइकमा गएपछि यसो ब्यानर हेर्दै कार्यक्रमको शीर्षक हेरेर बोल्न सुरु गर्छन् । आफू के कार्यक्रममा वक्ताको रूपमा बोल्न गइरहेको छुु भन्नेसम्म थाहा नपाएर ब्यानर हेर्नुपर्नेले के तयारी गरेको हुन्छ अन्दाज गर्न सकिन्छ । मैले बोलेको कुराले के असर गर्न सक्छ र म किन बोलिरहेको छु भन्ने कुरा ख्याल नगरी बोल्नु र बोल्न पाउनुलाई नै महान् काम गरेको ठान्नेहरूको सङ्ख्या हामीकहाँ धेरै छ । राजनीतिमा मात्र नभएर अन्य क्षेत्रमा पनि आफ्नो बोलीको असरको खासै ख्याल गरिँदैन ।
मुलुकको सवालमा कुरा गर्दा नेताहरूले बोलेको कुराको ‘न्युज भ्याल्यु’ कत्तिको छ भनेर मिडियाले खासै वास्ता गरेको देखिँदैन । नेताहरूले जे बोले पनि समाचार बन्ने प्रवृत्ति हामीकहाँ छ । कसैले बोलेको कुरा तात्कालिक या दूरगामी असर पार्ने खालको छ भने त्यो समाचार बन्न सक्छ । तर, हामीकहाँ त नेताहरूले आफ्नो स्वार्थका लागि एक–अर्कालाई हिलो छ्यापाछ्याप गरेका कुराहरूले नै बढी महत्व पाउने गरेका छन् । सहमतिका नाममा बसेका बैठकहरूमा संवाद हुनु आवश्यक छ न कि वादविवाद या प्रतिवाद । सहमतिका लागि अर्को बैठक बस्ने सहमति भएको समाचार सुन्दासुन्दा/पढ्दापढ्दा/हेर्दाहेर्दा मानिसहरू वाक्कै भइसके । कतिले त समाचारमा नेताहरूको अनुहार देख्नासाथ च्यानल परिवर्तन गर्न थालिसके । यसो हुनुमा राजनीतिकर्मी मात्र होइन हाम्रा मिडिया पनि त्यत्तिकै दोषी छन् । उनीहरूले जे बोले पनि दिने, जतिबेला पनि अनुहार देखाउने गरेपछि हेर्नेहरूलाई वाक्क त लाग्ने नै भयो । जे कुरा ‘भन्नुभयो’ भनेर दिइएको छ त्यो कुरा कुनै बेला ‘गर्नुभयो’ भनेर पनि सुन्न÷देख्न÷पढ्न पाइयोस् भन्ने चाहना हुनु स्वाभाविक नै हो । तर, त्यस्तो भने हुन सकेको छैन । वास्तवमा भन्ने हो भने राजनीतिकर्मीहरूको गलत प्रवृत्तिलाई निरुत्साहित गर्न नसक्नु नेपाली मिडियाको सबैभन्दा ठूलो कमजोरी हो ।
प्रतिक्रिया