काठमाडौं/ शहीद दिवसको अवसरमा हिजो राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी, राप्रपाका सहअध्यक्ष राजेश्वर देवकोटा, उपाध्यक्ष जोगमेहर श्रेष्ठ, पूर्वजनजागरणका संयोजक जगन्नाथ आचार्यलगायतका नेताहरूले एकै मञ्चबाट शहीदहरूको स्मरण गर्नुभयो ।
मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष अधिकारीले ‘शहीद’ नामक ग्रन्थको विमोचन र २२ जना शहीदका परिवारलाई अभिनन्दन गर्नुभएको थियो ।
निस्वार्थ भावले जीवन उत्सर्ग गर्ने शहीदप्रति हेर्ने दृष्टिकोण उदार हुनुपर्ने भएकोले राजनीतिक पूर्वाग्रह राख्न नहुने विचार व्यक्त गर्दै पूर्वप्रधानमन्त्री अधिकारीले आफ्ना शासनकालमा एकजना शहीद नबनाइएको दाबी गर्नुभयो ।
उहाँले नेपालको एकीकरण अभियानदेखि नै आत्मत्याग र बलिदान गर्ने शहीदमध्ये प्रथम शहीद लखन थापाको नाम लिनुभयो र शहीदहरू मदन भण्डारी, जीवराज आश्रित, गङ्गालाल, टंकप्रसादको नाममा प्रतिष्ठान खोलिएको चर्चा गर्दै ‘जिउँदो मानिसको नाममा हुने भए त म गणेशमानजीको नाममा पनि प्रतिष्ठान खोलिदिन्थेँ, उहाँको बारे कुनै मतभेद छैन’ भन्ने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा दुर्गानन्द झा, रामनाथ दाहाल, नेत्र घिमिरे, चिनियाँ काजी, रत्नकुमार बान्तवा, वासुदेव भुसाल, गोपालआनन्द राई, राजमान माली, राजकुमार सुनाल, झपेन्द्र कार्की, ऋषि परियार, लक्ष्मी पाण्डे, ठूले कामी, अनिल शाक्य, प्रभाकर पौडेल, मित्रमणि आचार्य, सम्झना दाहाल, ज्ञानबहादुर शाही, ऋषि देवकोटा, सागर सिंह, मनोज जोशी, भुवनेश्वरी यादव, प्रेमबहादुर लिम्बूका परिवार र आफन्तहरू सम्मानित हुनुभएको थियो ।
एमाले नेता र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रममा अन्य राजनीतिक पार्टीका प्रतिनिधिहरूलाई उपस्थित भए मञ्चमा आउन आग्रह गरिए पनि राप्रपाका राजेश्वर देवकोटालाई नामै तोकेर विशेष आमन्त्रितको रूपमा बोलाइएको थियो । तर, सो समयमा देवकोटा आइनपुग्नु भएकोले वैकल्पिक रूपमा जोगमेहर श्रेष्ठलाई बोलाइयो । तर, पछि देवकोटा आइपुग्नुभएपछि स–सम्मान उहाँलाई पनि मञ्चमा राखियो । केही पत्रकारहरू ‘यो अर्को संयुक्त सरकारको रिहर्सल हो’ भनी टिप्पणी गर्दै थिए ।
सोही सभामा शहीदको गाथा गाउने क्रममा वक्ताहरू पिस्कर काण्ड र छिन्ताङ काण्डको स्मरण गर्दै त्यही चरित्रका व्यक्तिहरू आज सरकारमा रहेका छन् र दिनहुँ सम्मानित हुँदै छन् भन्दा राजेश्वर र जोगमेहर मुखामुख गर्दै गरेको दृश्य हेर्न लायक थियो ।
तोकिएको समयभन्दा एक घण्टा ढिलो शुरु गरिएको कार्यक्रममा उद्घोषकले तपाईंहरूलाई ११ः३० बजे बोलाइएको, तर १२ बजे शुरु गर्ने भनिए तापनि अझै ढिलो भयो भन्दा दर्शकदीर्घाबाट ‘के हामी फाल्तु मानिस हौँ’ भन्ने जवाफ सुनिएको थियो । विमोचनपछि सो ‘शहीद’ नामक पुस्तक पत्रकारहरूलाई वितरण नगरिएकोमा आक्रोश व्यक्त भइरहेको थियो । मदन–आश्रित प्रतिष्ठानले शहीदहरूको सम्मानप्रति देखाएको चासोको सबैले सराहना गरेका थिए, तर त्यसमा धेरैलाई एउटा प्रश्न खड्किरहेको थियो– के नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने शहीद यति मात्र थिए ?
(घटना र विचार साप्ताहिक, २०५२ माघ १७ बुधबार)
प्रतिक्रिया